काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक चुनौती र मुलुकमा व्याप्त राजनीतिक अस्थिरतालाई सम्बोधन गर्न नेता डा. शशांक कोइरालाले राजधानीमा तीनदिने राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन् । पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति प्रदान गर्ने मूल उद्देश्यका साथ यो भेला साउन २९ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीभित्रको निराशा चिर्न, नीतिगत स्पष्टता कायम गर्न र गत निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्नुका कारणमाथि समीक्षा गर्न भेला अपरिहार्य रहेकोमा जोड दिए । उनले विगत एक वर्षदेखि नेपाली राजनीति अनिश्चितताको भूमरीमा रुमल्लिएको र यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको बताए ।
५ सय ५१ सदस्यीय आयोजक समितिले संयोजन गर्ने यस भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको छ । भेलाले सामूहिक छलफल र निर्णयमार्फत पार्टीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
डा. कोइरालाले पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढेको स्वीकार गरे । यस किसिमको मतभेदले गर्दा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको उनको ठम्याइ थियो । उनले राष्ट्रिय एकताका लागि धार्मिक सहिष्णुता र सामाजिक सद्भाव आधारभूत शर्त भएकोमा जोड दिँदै यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आह्वान गरे ।
विगतमा पार्टीभित्र देखिएका कतिपय हिंसात्मक घटनाहरू र त्रासदीपूर्ण अवस्थाका सन्दर्भमा एकताको आवश्यकता महसुस गरिए पनि त्यसो हुन नसकेको उनले स्मरण गरे । यी घटनाहरूले पार्टीको साख र संगठनलाई कमजोर बनाएको भन्दै उनले भविष्यमा एकताका साथ अघि बढ्नुपर्ने अपरिहार्यता औंल्याए ।
पार्टीका अर्का नेता डा. शेखर कोइरालाको यस अभियानप्रतिको धारणाबारे सोधिएको प्रश्नमा डा. शशांक कोइरालाले उनको पूर्ण समर्थन रहेको जानकारी दिए । डा. शेखर व्यस्तताका कारण उपस्थित हुन नसके पनि यस भेलाको अवधारणा र उद्देश्यमा ऐक्यबद्धता जनाएको उनले स्पष्ट पारे ।
यो राष्ट्रिय भेला नेपाली कांग्रेसभित्र नयाँ ऊर्जा सञ्चार गर्न, भावी चुनौतीहरूको सामना गर्न पार्टीलाई सक्षम बनाउन र जनतामा पार्टीप्रतिको विश्वास पुनः स्थापित गर्न महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ । यस भेलाले पार्टीको आगामी रणनीति, नीतिगत दिशा र सांगठनिक सुदृढीकरणका लागि एक स्पष्ट मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरिएको छ ।
