सुर्खेत, २७ भदौ। सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित काँक्रेविहार केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई कर्णाली प्रदेशको प्राचीन इतिहास, कला, संस्कृति र पर्यटनको एक महत्त्वपूर्ण पहिचान हो। घना वन क्षेत्रको शान्त परिवेशमा रहेको यस मन्दिरले यहाँ पुग्ने जोकोहीलाई कर्णालीको ऐतिहासिक सभ्यता र समृद्ध धार्मिक संस्कृतिसँग जोड्ने गर्दछ। विशेषतः बौद्ध र हिन्दु धर्मसँग सम्बन्धित कलात्मक संरचनाका कारण काँक्रेविहारलाई धार्मिक सहअस्तित्वको प्रतीकका रूपमा पनि हेरिन्छ।
मन्दिर परिसरमा देखिने ढुङ्गाका कलात्मक मूर्ति, स्तम्भ, तोरण तथा विभिन्न आकृतिले तत्कालीन शिल्पकला र वास्तु कौशलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछन्। यही कारण काँक्रेविहार धार्मिक पर्यटकसँगै इतिहास, पुरातत्त्व र वास्तुकलामा रुचि राख्ने अध्येता र पर्यटकका लागि पनि प्रमुख आकर्षणको केन्द्र बनेको छ। काँक्रेविहारसँग जोडिएका ऐतिहासिक तथा पुरातात्त्विक अवशेषहरूले प्राचीन कालदेखि नै कर्णाली क्षेत्रमा विकसित सभ्यता र सांस्कृतिक गतिविधिलाई सङ्केत गर्छन्। मन्दिरमा प्रयोग भएका ढुङ्गाका संरचना र मूर्तिकलाले तत्कालीन समाजको धार्मिक विश्वास, कलात्मक चेतना र निर्माण प्रविधिबारे अध्ययनका लागि महत्त्वपूर्ण आधार प्रदान गर्दछन्।
काँक्रेविहारको महत्त्व यसको ऐतिहासिक संरचनामा मात्र सीमित छैन। यसको आसपासको प्राकृतिक वातावरण, वन क्षेत्र र शान्त परिवेशले धार्मिक तथा प्राकृतिक पर्यटनलाई एकै ठाउँमा जोड्ने अथाह सम्भावना बोकेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरबाट सहजै पुग्न सकिने भएकाले यो छोटो दूरीको पर्यटकीय गन्तव्यका रूपमा पनि यसको महत्त्व बढ्दो छ। कर्णालीका रारा, फोक्सुण्डो, बाला त्रिपुरा सुन्दरी, शे–गुम्बा, सिँजा जस्ता महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरूमध्ये काँक्रेविहार राजधानीसँग नजिक भएकाले पर्यटकका लागि सहज पहुँचको केन्द्र हो। काँक्रेविहारलाई वीरेन्द्रनगरका अन्य पर्यटकीय तथा सांस्कृतिक क्षेत्रसँग जोडेर पर्यटन मार्ग निर्माण गर्न सके पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने सम्भावना देखिन्छ।
मन्दिर अवलोकनका अतिरिक्त वन क्षेत्रमा पदयात्रा, ऐतिहासिक जानकारी, स्थानीय कला–संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने थलोका रूपमा यसको विकास गर्न सकिन्छ। पर्यटन पूर्वाधारको विकाससँगै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना हुन सक्छन्। होटेल, होमस्टे, स्थानीय परिकार, हस्तकला तथा स्मरणीय सामग्रीको व्यापारमार्फत स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने प्रबल सम्भावना छ। यसको पर्यटकीय सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न संरक्षण र प्रचारलाई सँगसँगै अघि बढाउनु अपरिहार्य देखिन्छ। ऐतिहासिक संरचनाको मौलिकता कायम राख्दै परिसरको सरसफाइ, सूचना केन्द्र, सूचना बोर्ड, पैदल मार्ग, विश्राम स्थल र आवश्यक अन्य पूर्वाधार निर्माण गर्न सके पर्यटकको अनुभव थप सहज बन्नेछ।
काँक्रेविहारको इतिहास, धार्मिक महत्त्व, वास्तुकला र पुरातात्त्विक पक्षबारे प्रमाणमा आधारित सामग्री तयार गरी डिजिटल माध्यमबाट व्यापक प्रचार गर्न आवश्यक छ। सामाजिक सञ्जाल, वेबसाइट तथा डिजिटल पर्यटन सामग्रीमार्फत काँक्रेविहारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सकिने ठूलो सम्भावना छ। कर्णालीको पर्यटन विकास केवल नयाँ गन्तव्य खोज्नुमा सीमित नभई विद्यमान ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पनि निर्भर गर्दछ। यसै सन्दर्भमा काँक्रेविहारलाई धार्मिक आस्थाको स्थलका रूपमा मात्र नभई इतिहास, कला, संस्कृति र प्रकृतिको सङ्गम भएको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके वीरेन्द्रनगरको पर्यटन अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुग्न सक्छ।
पछिल्लो समय काँक्रेविहार जाने सडक जीर्ण भएपछि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ। कर्णाली प्रदेश सरकारले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि उल्लेख्य रकम छुट्याएको छ। प्रदेश सरकारका विगतका पर्यटन योजनाहरूमा समेत काँक्रेविहारलाई कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राखिँदै आएको छ। काँक्रेविहारको संरक्षणलाई केवल मन्दिर तथा पुरातात्त्विक संरचनाको संरक्षणमा मात्र सीमित नगरी त्यस आसपासको वन क्षेत्र, पैदल मार्ग, सूचना केन्द्र, सरसफाइ, पार्किङ तथा अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर एकीकृत विकास गर्नुपर्ने आवश्यकता छ। काँक्रेविहारको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि हालै १० वर्षे विशेष कार्य योजना अघि बढाइएको विवरण सार्वजनिक भएको छ, जसले यस क्षेत्रलाई दीर्घकालीन रूपमा संरक्षण र पर्यटनसँग जोड्ने प्रयास भइरहेको देखाउँछ।
