सिमरा, बारा: जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंश उपचार सेवाको अभावले मानवीय क्षति बढाएको छ। पछिल्लो पटक औराहकी ४२ वर्षीया मञ्जु बन्जाराले यही अभावमा ज्यान गुमाएकी छिन्। यसअघि पनि दुई नाबालिकाको मृत्युले यस क्षेत्रमा उपचारको गम्भीर खाँचो देखाएको छ।
बिहीबार बिहान करिब ५ बजे आफ्नै घरमा काम गर्दा मञ्जुलाई गोमन सर्पले डसेको थियो। सुरुमा अन्धकारले यकिन नभए पनि पछि सर्पले टोकेको पुष्टि भयो। श्रीमान् रेशमले उनलाई वीरगन्जस्थित नारायणी अस्पतालको सर्पदंश उपचार केन्द्रमा पुर्याए। करिब २५ किलोमिटर टाढाको अस्पताल पुग्दा मञ्जु अचेत भइसकेकी थिइन्। चिकित्सकले उपचार सम्भव नभएको बताएपछि रक्सौलको डंकन अस्पताल लगियो, तर त्यहाँबाट पनि फर्काइयो। शरीरमा विष पूर्ण रूपमा फैलिसकेका कारण उनको मृत्यु भयो।
सर्प उद्धारकर्ता दीपक नेपालका अनुसार गोमन सर्पको विष ४० मिनेटभित्र निष्क्रिय पार्न उपचार आवश्यक हुन्छ। तर, नजिकै उपचार केन्द्र नहुँदा वीरगन्जसम्म पुर्याउँदा ढिलो भई मञ्जुको ज्यान गएको छिमेकी कोपिला सिम्खडाले बताइन्। उनले ‘अस्पताल भए पनि उपचार नभएको’ भन्दै सेवा तत्काल सुरु गर्न माग गरिन्।
यो जीतपुरसिमरामा सर्पदंशका कारण भएको पहिलो घटना होइन। गत असारमा मात्रै दुई नाबालिकाले उपचार अभावमा ज्यान गुमाएका थिए। असार ८ गते चार वर्षीया सुप्रिना दोङ र त्यसको तीन दिनपछि असार ११ गते पाँच वर्षीया दियान्सी रानामगरको सर्पदंशबाट मृत्यु भएको थियो। यी तीनवटै घटनामा समयमै उपचार नपाउनु नै मृत्युको प्रमुख कारण रहेको चिकित्सकहरूको भनाइ छ।
पछिल्ला घटनाहरूले स्थानीयलाई आक्रोशित बनाएको छ। उनीहरूले सर्पदंश उपचार सेवा सुरु गर्न स्थानीय सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्। सिमरामा सुविधासम्पन्न नगर अस्पताल, दक्ष चिकित्सक र जनशक्ति भए पनि सर्पदंशको उपचार सेवा सुरु हुन सकेको छैन। उपमहानगरपालिकाले नयाँ भवन निर्माण गरेर अन्य सेवा सञ्चालनको तयारी गरिरहेको भए पनि सर्पदंश उपचारबारे भने अन्योल कायमै छ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रवी भाष्करका अनुसार संघीय सरकारको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट सेवा सञ्चालनको अनुमति नपाउँदा समस्या आएको हो। ‘हामीले सेवा सुरु नगरेको होइन, अनुमति नपाएर सेवा सुरु हुन नसकेको हो,’ भाष्करले भने। उनले पटक–पटक अनुमति माग गर्दै पत्र लेखे पनि हालसम्म जवाफ नआएको जानकारी दिए।
स्थानीयले जीतपुरसिमरा अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनको अनुमति प्रदान गर्न संघीय सरकारसँग जोडदार माग गरेका छन्। मानवीय क्षति रोक्न तीनै तहका सरकारले ढिला गर्न नहुने उनीहरूको तर्क छ। उपप्रमुखको सचिवालयमा कार्यरत राजकुमार न्यौपानेले सामाजिक सञ्जालमार्फत संघीय सरकारलाई तत्काल अनुमति दिन र यस क्षेत्रका संघीय सांसदहरू रहबर अन्सारी र अरविन्द दासलाई पहल गर्न आह्वान गरेका छन्।
