पोखरा, असोज १ गते। कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी–घान्द्रुक सडकखण्ड गत साउन २८ गते मोदी खोलामा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएपछि करिब एक महिनाको अथक प्रयासपछि पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बाढीले विभिन्न पाँच स्थानमा करिब ६०० मिटर सडक कटान गरी यातायात अवरुद्ध बनाएको थियो। अब यस सडकखण्डलाई असोज २ गतेभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
अविरल वर्षासँगै आएको बाढीले सडकमा गम्भीर क्षति पुर्याएलगत्तै गाउँपालिका र अन्य सरोकारवाला निकायले स्थलगत अवलोकन तथा निरीक्षण गरी तत्काल पुनर्निर्माणको निर्णय गरेका थिए। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार, पुनर्निर्माण योजनालाई दुई चरणमा अघि बढाइएको थियो। पहिलो चरणमा विरेठाँटी बजारतर्फ बगेको मोदी खोलालाई डाइभर्सन गरी सुरक्षित मार्ग बनाइयो। दोस्रो चरणमा ग्याबिन जालीको प्रयोग गरी सडकको आधार सुदृढ बनाउने कार्यलाई तीव्रता दिइयो।
सडक पुनर्निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ। यसका अतिरिक्त, गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बराबरको ग्याबिन जाली उपलब्ध भएको थियो भने विभिन्न संघसंस्थाबाट पनि आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष केसीले जानकारी दिनुभयो। पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन भुरुङ्गदी जलविद्युत् आयोजना, लान्द्रुक जलविद्युत् आयोजना र मोदी जलविद्युत् आयोजनाबाट उपलब्ध तीन वटा एक्स्काभेटर परिचालन गरिएको थियो।
मानवीय स्रोतका रूपमा नेपाली सेनाको सक्रिय सहभागिता उल्लेखनीय रहेको छ। श्री कालीभन्जन गणबाट खटिएका दक्ष जनशक्तिलाई परिचालन गरिएसँगै पुनर्निर्माणलाई तीव्रता दिन नेपाली सेनाका विभिन्न युनिटबाट थप २८ जना जनशक्ति परिचालन गरी कुल ४५ जना दक्ष जनशक्ति खटाइएको थियो। पश्चिम पृतना हेडक्वाटर विजयपुरका पृतनापति उपरथी भोलानाथ थापाले जानकारी दिनुभएअनुसार, करिब एक महिनाको अवधिमा दैनिक ४५ जना नेपाली सेनाको प्राविधिक तथा जनशक्ति परिचालनबाट पहिलो चरणमा मोदी खोलाको डाइभर्सन र त्यसपछि सडक पुनर्निर्माणको कामलाई मूर्तरूप दिइएको छ। यस क्रममा ८१३ घनमिटर ग्याबिङ जालीमा ढुङ्गा भर्ने काम सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय, कास्कीबाट ग्याबिङ जाली उपलब्ध भएको थियो भने ग्याबिङ वालका लागि आवश्यक ढुङ्गा, पुनःमाटो भर्ने सामग्रीलगायत अन्य आवश्यक सामग्री स्थानीय पालिकाबाट उपलब्ध गराइएको थियो।
पुनर्निर्माणपछि हाल ८६ मिटर लम्बाइ, आठ मिटर उचाइ र सात मिटर चौडाइको सडकखण्ड तयार भएको छ, जुन अब यातायात सञ्चालनका लागि पूर्णरूपमा तयार अवस्थामा रहेको छ। बाढीका कारण क्षतिग्रस्त पाँच स्थानमध्ये विरेठाँटी बजार क्षेत्रमा बजार र पुलको सुरक्षाका लागि तत्काल पुनर्निर्माण गर्नुपर्ने देखिएपछि सो क्षेत्रमा प्राथमिकताका साथ काम अघि बढाइएको थियो। अन्य क्षतिग्रस्त स्थानमा भने स्थानीयस्तरबाटै पुनर्निर्माण गर्न सकिने अवस्था रहेको जनाइएको छ।
सडक अवरुद्ध हुँदा घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प, पुनहिललगायतका प्रमुख पर्यटकीय क्षेत्रमा जाने पर्यटकहरूलाई ठूलो असर परेको थियो। यसका साथै, स्थानीय नागरिकको दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भई जनजीवन प्रभावित बनेको थियो। सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि पुनरुत्थान हुने र स्थानीयको जनजीवन सामान्यीकरण हुने अपेक्षा गरिएको छ। अध्यक्ष केसीले असोज २ गतेसम्ममा सडकका विभिन्न क्षतिग्रस्त स्थानको निर्माण सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
