डोल्पा, १८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ। यो आयोजनाले कर्णालीको विकासमा एउटा नयाँ आयाम थप्ने उहाँको भनाइ छ।
बिहीबार डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनास्थलको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजना डोल्पा जिल्लाको मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधारस्तम्भ बन्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो जलविद्युत् आयोजनाले स्थानीय उत्पादनलाई सहज बजार पहुँच प्रदान गर्नेछ, जसले गर्दा कृषक तथा व्यवसायीहरू लाभान्वित हुनेछन्। साथै, निर्माण तथा सञ्चालनका क्रममा हजारौंको सङ्ख्यामा रोजगारीका अवसरहरू सिर्जना भई स्थानीय युवाहरूलाई स्वरोजगार बन्न प्रोत्साहित गर्नेछ।” मन्त्री श्रेष्ठले आयोजनाले मुड्केचुला क्षेत्रका नागरिकको जीवनस्तर उकास्न तथा गरिबी निवारणमा समेत निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले कर्णाली प्रदेशलाई ऊर्जा क्षेत्रमा दिगो र आत्मनिर्भर बनाउन जगदुल्ला आयोजनाको भूमिका अपरिहार्य रहनेमा जोड दिनुभयो। यसबाट राष्ट्रिय प्रसारण लाइनमा थप विद्युत् उपलब्ध हुनुका साथै स्थानीय स्तरमा स्वच्छ ऊर्जाको उपलब्धताले औद्योगिक विकासलाई समेत टेवा पुर्याउने उहाँको भनाइ थियो।
मन्त्री श्रेष्ठले वर्तमान सरकारले कर्णाली प्रदेशका विकास आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको जानकारी दिनुभयो। उहाँले राष्ट्रिय विकासका लागि सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सुदृढ सहकार्य र समन्वय अपरिहार्य रहेकोमा जोड दिनुभयो। यस्तो सहकार्यले मात्र ठूला पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न भई त्यसको लाभ जनस्तरमा पुग्ने उहाँले बताउनुभयो।
मन्त्री श्रेष्ठले यस भ्रमणका क्रममा जलविद्युत् आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका विभिन्न भौतिक पूर्वाधारहरूको समेत उद्घाटन गर्नुभयो। उहाँले आयोजनाका लागि निर्माण गरिएका आधुनिक कार्यालय भवन, आवास गृह तथा पहुँचमार्गमा निर्मित बेलिब्रिजहरूको उद्घाटन गर्नुभएको हो। कैलाश हेलिकप्टरमार्फत डोल्पा पुग्नुभएका मन्त्री श्रेष्ठले आयोजनाको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो।


