रुसमा अभूतपूर्व इन्धन संकट: युक्रेनी आक्रमण र आपूर्ति अवरोध
रुस, विश्वका धेरै देशहरूलाई तेल बिक्री गर्ने प्रमुख राष्ट्र भएर पनि हाल गम्भीर इन्धन संकटसँग जुझिरहेको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) हरूमा लगातार ड्रोन तथा मिसाइल आक्रमण गरेपछि इन्धन आपूर्तिमा ठूलो असर परेको छ। यसले गर्दा देशभित्र पेट्रोल पम्पहरूमा लामो लाइन दिन प्रतिदिन बढ्दै गएको छ भने सर्वसाधारणमा निराशा र अन्योल बढेको छ।
रुसका धेरै क्षेत्रहरूमा इन्धनको सीमित वितरण (रासनिङ) सुरु गरिएको छ। सडक किनारमा इन्धन भर्नका लागि घण्टौंसम्म सवारीसाधनको लाम देखिन थालेको छ। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा चालकहरूले यति लामो लाइन देखेर आश्चर्य व्यक्त गरिरहेका छन् भने कतिपयले खाली पेट्रोल पम्प र बढ्दो मूल्यप्रति आक्रोश समेत व्यक्त गरेका छन्। साइबेरियाको इर्कुत्स्क सहरका मेयरले लाइनमा बसेका मानिसहरूको सुविधाका लागि पोर्टेबल शौचालय समेत राख्नुपरेको अवस्थाले संकटको गहिराइ दर्शाउँछ। एक व्यंग्यात्मक भिडियोमा एक व्यक्तिले आफ्नो लनमावरमा पेट्रोल हाल्दै ‘कस्तो विलासिता ! अब यस्तो पेट्रोल किन्ने हैसियत कसको छ?’ भनी टिप्पणी गरेका छन्, जसले आम मानिसको हताशालाई उजागर गर्छ।
ऊर्जा उत्पादनमा विश्वकै अग्रणी राष्ट्रमध्ये एक मानिने रुसका लागि यस्तो इन्धन संकटलाई अभूतपूर्व मानिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि स्वीकार गर्दै भनेका छन्, ‘सवारी चालक र व्यवसायी दुवैका लागि समस्या अझै कायम छ। पेट्रोल पम्पहरूमा अहिले पनि लामो लाइन लागिरहेको छ।’ रूसी सरकारी समाचार एजेन्सी तासका अनुसार सरकारी तेल कम्पनीहरूले आफ्ना पेट्रोल पम्पमा मूल्यवृद्धि महँगीको सीमाभित्र राखेका छन्। तर निजी पेट्रोल पम्पहरूमा भने मूल्यमा केही अन्तर देखिएको छ। उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले यो अवस्था चाँडै नियन्त्रणमा आउने बताएका छन्।
नोभाकले रुसको केन्द्रीय बैंकद्वारा आयोजित वित्तीय सम्मेलनमा ठूला एकीकृत तेल कम्पनीहरूले इन्धनको मूल्य नियन्त्रणमा राखिरहेको बताए। तर, समाचार एजेन्सी रायटर्सका अनुसार, रुसका प्रमुख अन्न उत्पादन गर्ने क्षेत्रका किसानहरू पनि चिन्तित छन्। युक्रेनी ड्रोन आक्रमणले रिफाइनरी र इन्धन भण्डारण केन्द्रहरूमा क्षति पुर्याएपछि उनीहरूलाई बाली भित्र्याउन आवश्यक इन्धन नै अभाव हुन थालेको छ। युक्रेनले रुसको ऊर्जा पूर्वाधारमा लगातार आक्रमण गरेर मस्कोलाई शान्ति वार्ताका लागि दबाब दिन खोजिरहेको छ। यी आक्रमणका कारण तेलमा धनी रुसकै इन्धन आपूर्ति प्रणालीमाथि ठूलो दबाब परेको छ।
यस संकट समाधान गर्न रुसले भारतबाट समुद्री मार्ग हुँदै पेट्रोल आयात गर्न थालेको छ। उद्योगसँग सम्बन्धित दुई स्रोतलाई उद्धृत गर्दै रायटर्सले रुसले भारतबाट पेट्रोल मगाउन सुरु गरिसकेको जनाएको छ। क्रेमलिनले मंगलबार नै स्वीकार्य मूल्यमा इन्धन आयातका लागि विभिन्न देशहरूसँग वार्ता भइरहेको जनाएको थियो। रुसको ऊर्जा मन्त्रालय र भारतको पेट्रोलियम मन्त्रालयले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
रोयटर्सका एक स्रोतका अनुसार भारतबाट कम्तीमा ६० हजार मेट्रिक टन पेट्रोल रुस पठाइसकिएको छ। अर्को स्रोतले ३०–४० हजार टन क्षमता भएका दुई ट्यांकर रुसतर्फ प्रस्थान गरिसकेको जनाएको छ। तेस्रो स्रोतका अनुसार रुसले हरेक महिना विभिन्न देशबाट करिब ४ लाख टन पेट्रोल आयात गर्ने योजना बनाएको छ। यसमा छिमेकी बेलारुस पनि समावेश छ, जसले पहिलेदेखि नै रुसलाई इन्धन निर्यात गर्दै आएको छ। गर्मीको मौसममा रुसमा दैनिक कम्तीमा १ लाख १० हजार टन पेट्रोल खपत हुने भएकाले माग निकै उच्च रहने गर्छ। बेलारुसले मे महिनाको पहिलो आधाको तुलनामा जुन महिनाको पहिलो आधामा रेलमार्फत रुसलाई पेट्रोल आपूर्ति झन्डै तीन गुणाले बढाएर ७० हजार टनभन्दा बढी पुर्याएको छ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे) का अनुसार, युक्रेनले वर्षौंदेखि रुसको ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै आए पनि अहिले ड्रोन र मिसाइलको संख्या तथा प्रहार क्षमता दुवै उल्लेखनीय रूपमा बढेका छन्। यसका कारण युक्रेनले साइबेरियाको ट्युमेन जस्ता करिब १,९०० किलोमिटर (१,२०० माइल) टाढाका रिफाइनरीहरूसमेत निशाना बनाउन सक्षम भएको छ। डब्ल्यूएसजेका अनुसार यही क्षमताका कारण जुन १८ मा युक्रेनले बहुस्तरीय हवाई सुरक्षा प्रणाली पार गर्दै मस्कोको प्रमुख रिफाइनरीमा ठूलो क्षति पुर्याएको थियो, जसलाई अहिलेको इन्धन संकटको निर्णायक मोड मानिएको छ। जुन २० सम्म रुसको कुल तेल प्रशोधन क्षमताको करिब २८ प्रतिशत भाग बन्द रहेको अनुमान गरिएको छ, जसले यो संकटलाई थप गहिरो बनाएको छ।
