इरानको सेनाले होर्मुज जलमार्गलाई पुनः बन्द गरिदिएको छ। अमेरिकाले आफ्ना दायित्वहरू पूरा गर्न नसकेको आरोप लगाउँदै इरानले यो कदम चालेको हो। यसअघि उक्त जलमार्ग खुलेको घोषणा हुँदा विश्व बजारमा सकारात्मक असर परेको थियो। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नहुँदासम्म अमेरिकाले खाडीबाट बाहिर जाने पानीजहाजहरूमाथिको नाकाबन्दी कायम राख्ने बताएका थिए।
मरिन ट्रयाकिङ डेटाहरूले होर्मुज जलमार्ग खुलेको समयमा चारवटा एलपीजी ग्यास बोकेका पानीजहाजहरू र कैयौँ तेल पेट्रोकेमिकल ट्याङ्करहरू उक्त स्ट्रेटबाट पार गरेर ओमानको खाडीमा अघि बढेको देखाएका थिए। यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले आफूले सोमवार नाकाबन्दी घोषणा गरेयता २१ वटा पानीजहाजहरूलाई फिर्ता गरिदिएको जानकारी दिएको छ।
तस्बिर स्रोत, Reuters
इरानी सरकारी सञ्चारमाध्यमले के भन्यो?
इस्लामिक रिभोल्युश्नरी गार्ड कोर (आईआरजीसी) सँग आबद्ध फार्स समाचार संस्थाले आईआरजीसीको विज्ञप्तिलाई उद्धृत गर्दै इरानको सेनाले होर्मुज जलमार्गमाथि पुनः नियन्त्रण कायम गरेको उल्लेख गरेको छ। सेनाको विज्ञप्तिमा अमेरिकाले गरेको ‘तथाकथित नाकाबन्दी’लाई ‘सामुद्रिक डकैती’ भन्दै असन्तुष्टि जनाइएको छ। अमेरिकाले जलमार्गमाथिको नाकाबन्दी हटाउने वाचा पूरा नगरेकाले आफूले होर्मुज जलमार्ग फेरि बन्द गर्नुपरेको इरानी सेनाको भनाइ छ।
यसअघि इरानले अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथि नाकाबन्दी लगाए उक्त जलमार्गलाई बन्द गरिदिने चेतावनी दिएको थियो। स्ट्रेट अफ होर्मुजको सञ्चालन अमेरिका र इरानबीच एउटा लामो समयदेखिको विवादको मुद्दा रहँदै आएको छ।
तस्बिर स्रोत, NurPhoto via Getty images
गत शुक्रवार इरानका विदेशमन्त्रीले व्यापारिक जहाजहरूका निम्ति होर्मुज जलमार्ग पुनः खुला गरिएको बताएका थिए। तर, जहाजहरूले इस्लामिक गणतन्त्र इरानको ‘पोर्ट्स एन्ड म्यारीटाइम अर्गनाइजेशन’ले समन्वयन गर्ने तोकिएका सुरक्षित मार्गहरू प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। त्यसपछि इरानको सरकारी टेलिभिजनले एक वरिष्ठ सैनिक अधिकारीलाई उद्धृत गर्दै तोकिएका मार्ग भएर जहाजहरू जान पाउने तर सैनिक जहाजहरूको आवागमन अझै “प्रतिबन्धित” रहेको जनाएको थियो।
तस्बिर स्रोत, Getty Images
के राष्ट्रपति ट्रम्पले भने जस्तै सहमति हुन लागेको हो?
राष्ट्रपति ट्रम्पले शुक्रवार दुई देशहरू सहमतिको नजिक रहेको बताएका थिए। तर, इरानको संसद्का सभामुखले ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन्।
तस्बिर स्रोत, AFP via Getty Images
इरानबाट बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेटका अनुसार, राष्ट्रपति ट्रम्प छोटो, स्पष्ट र सफल सम्झौताहरू चाहन्छन्। उनी ४७ वर्षदेखि इरानसँगको शत्रुता हुँदाहुँदै पनि केही दिनभित्रै आफू तेहरानसँग सहमतिमा पुग्नसक्ने ठान्छन्। तर, इरानका लागि अमेरिकालाई त्यत्रो ठूलो छुटहरू दिन समय, राजनीतिक इच्छाशक्ति र त्यसका लागि लेनदेन आवश्यक पर्छ। डुसेटका अनुसार, थप वार्ताहरूको बाटो खोल्ने हिसाबमा दुवै पक्षबीच समझदारिपत्र तयार पार्ने कुरामा केही प्रगति भएको देखिन्छ। यो भव्य खालको लेनदेन त होइन तर वर्तमान अवस्थामा एउटा उल्लेखनीय कदम भने हुनेछ।
