पोखरा, ३ भदौ । भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक (भूपू सैनिक) तथा उनीहरूका परिवारको कल्याण, स्वास्थ्य सेवा र सुविधाका लागि भारतीय सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरामा बुधबार आयोजित पेन्सन क्याम्पमा भूपू सैनिकलाई सम्बोधन गर्दै जनरल सेठले भारत–नेपाल सम्बन्धका जीवन्त प्रतिनिधिहरूका रूपमा उनीहरूको योगदानको प्रशंसा गरे ।
भारतीय सेनामा सेवा गरेका गोर्खा सैनिकहरूको वीरता, बहादुरी, बफादारी र बलिदानको उच्च सम्मान गर्दै उनले उनीहरूको हित र कल्याण भारतीय सेनाको परम जिम्मेवारी भएको बताए । जनरल सेठले भने, ‘तपाईंहरूको हित, कल्याण र सुविधाका लागि जे-जति सम्भव हुन्छ, हामी पूर्ण निष्ठा र समर्पणका साथ गर्नेछौँ । तपाईंहरूले आफूलाई कहिल्यै एक्लो नसम्झिनुहोस् । भारतीय सेना सधैँ तपाईंहरूको साथमा उभिएको छ ।’
स्वास्थ्य सेवा विस्तारको सन्दर्भमा, उनले पोखरास्थित ‘एक्स–सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम (ईसीएचएस)’ पोलिक्लिनिकका लागि आवश्यक थप आधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पश्चिम नेपालका भूपू सैनिकहरूलाई लक्षित गर्दै कोहलपुरमा नयाँ ईसीएचएस पोलिक्लिनिक सञ्चालनमा आएको जानकारी दिँदै उनले यसबाट पश्चिम क्षेत्रका भूपू सैनिक तथा उनीहरूका परिवारलाई ठूलो सुविधा पुग्ने विश्वास व्यक्त गरे । भारतको ईसीएचएस योजना सन् २०१४ देखि नेपालमा सञ्चालनमा रहेको र भारत तथा नेपालका विभिन्न अस्पतालमा उपचारको सुविधा उपलब्ध भइरहेको उनले जानकारी गराए । साथै, ईसीएचएसअन्तर्गत सूचीकृत अस्पतालको संख्या थप विस्तार गर्ने प्रयास जारी रहेको उनले उल्लेख गरे ।
यातायात सुविधाका लागि, भूपू सैनिकहरूले सुनौलीदेखि गोरखपुरसम्म माग गर्दै आएको बस सेवाका विषयमा पनि गम्भीरतापूर्वक विचार भइरहेको जनरल सेठले बताए । यो सुविधा उपलब्ध गराउने प्रयास भइरहेको र यसबाट भूपू सैनिकलाई ईसीएचएस लगायतका स्वास्थ्य सुविधा लिन सहज हुने उनको भनाइ थियो ।
भूतपूर्व सैनिकका परिवारलाई आत्मनिर्भर बनाउन विभिन्न जिल्ला सैनिक बोर्डमार्फत कम्प्युटर, ब्युटिसियन तथा फेसन डिजाइनिङलगायतका व्यावसायिक सीपमूलक तालिम सञ्चालन भइरहेको पनि उनले बताए । सिक्किमस्थित मेघाभी स्किल्स युनिभर्सिटीसँगको सम्झौतापछि ती तालिमका प्रमाणपत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्य हुने व्यवस्था गरिएको जानकारी दिए ।
भारत–नेपाल सम्बन्ध सदियौँ पुरानो रहेको उल्लेख गर्दै जनरल सेठले दुई देशबीचको सम्बन्ध केवल छिमेकी राष्ट्रको नभई संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहाससँग जोडिएको बताए । भारतीय र नेपाली सेनाबीचको विशेष सम्बन्ध पनि यही ऐतिहासिक सम्बन्धको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ थियो ।
भारतीय सेनामा कार्यरत सबैभन्दा कनिष्ठ सैनिकदेखि भूपू सैनिकसम्मलाई ‘योद्धा’ का रूपमा आफूले हेर्ने गरेको बताउँदै जनरल सेठले भूपू सैनिकप्रति भारतीय सेनालाई गर्व रहेको दोहो¥याए । उनले भूतपूर्व भारतीय सैनिकले भारतको सेवामा बिताएको समय र योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूको कल्याण र सुविधाका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा उनले भूपू सैनिक तथा उनीहरूका परिवारप्रति धन्यवाद व्यक्त गर्दै ‘जय हिन्द, जय नेपाल, जय भूपू’ भन्दै आफ्नो सम्बोधन टुंग्याएका थिए ।
