लन्डन, बेलायत। नेपालको सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा गम्भीर रूपमा प्रभावित नेपालीहरूको सम्झनामा बेलायतमा दीप प्रज्वलनसहित एक भावपूर्ण श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। नेपाली ब्रिटिश कम्युनिटी (एनबीसी-यूके) ले लन्डनको ऐतिहासिक ट्राफल्गर स्क्वायरमा आइतबार उक्त कार्यक्रमको आयोजना गरेको हो। यस दुःखद् घडीमा बेलायतस्थित नेपाली समुदायले मृतकहरूप्रति गहिरो श्रद्धा व्यक्त गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएको छ।
हालैको भोटेकोशी बाढीले सिन्धुपाल्चोक क्षेत्रमा अतुलनीय क्षति पुर्याएको थियो। यस प्राकृतिक विपत्तिले धेरैको ज्यान लिएको छ भने सयौं परिवार विस्थापित भएका छन्। भौतिक संरचनाहरूमा समेत व्यापक क्षति पुगेकाले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। यो त्रासदीपूर्ण घटनाले नेपाल र विदेशमा रहेका नेपाली समुदायलाई गहिरो चोट पुर्याएको छ, जसको परिणामस्वरूप बेलायतमा यो श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य बाढीका कारण ज्यान गुमाएका निर्दोष आत्माहरूको शान्तिको कामना गर्नु र प्रभावित परिवारलाई मानसिक तथा नैतिक समर्थन प्रदान गर्नु रहेको थियो।
एनबीसी-यूकेका अध्यक्ष समिर व्याकरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमस्थल ट्राफल्गर स्क्वायरमा सहभागीहरूले मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै बाढीबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। यस अवसरमा, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो।
कार्यक्रममा नेपाली दूतावास लन्डनका प्रतिनिधि संजोग राई, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, काउन्सिलर लक्ष्य गुरुङ, व्यवसायी उत्तम नेपाल, धादिङ-नुवाकोट समाज यूकेका अध्यक्ष बुद्धि तामाङ, युवा प्रतिनिधि सुशान्त चुडाल, एनआरएनए आइसिसी सचिव प्रसुना कँडेल, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र गुरुङ, नर्स सुनिता गौतम तथा मिस नेपाल यूकेकी अध्यक्ष मनीषा डंगोललगायतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। उहाँहरूले प्राकृतिक विपद्को चपेटामा परेका नेपालीहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै बेलायतबाट सक्दो सहयोगको प्रतिबद्धता जनाएका थिए।
सहभागी वक्ताहरूले प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई आवश्यक सहयोग, सहकार्य र मानवीय साथ उपलब्ध गराउन बेलायतस्थित नेपाली समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनीहरूले यस्ता संकटका घडीमा विदेशमा रहेका नेपालीहरूले आफ्नो मातृभूमिप्रति देखाएको प्रेम, सद्भाव र सहयोगको भावना अत्यन्त प्रशंसनीय रहेको बताए। कार्यक्रममा बाढी पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि दीर्घकालीन योजना बनाउनुपर्ने र यसमा सबै सरोकारवाला निकायहरूको समन्वय अपरिहार्य रहेको कुरामा समेत जोड दिइएको थियो। लन्डनको व्यस्त सहरको बीचमा आयोजित यस कार्यक्रमले बेलायतस्थित नेपाली डायस्पोराको एकता र मानवीय संवेदनशीलतालाई उजागर गरेको छ, जसले भोटेकोशीका पीडितहरूलाई ठूलो नैतिक बल प्रदान गरेको छ।
