बिर्तामोड, साउन ८ गते । झापा जिल्लाका विभिन्न पालिकाहरूमा भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन दलितहरूलाई जग्गाधनी पुर्जा वितरणको कार्यले पुनः तीव्रता पाएको छ । यसअघिका विभिन्न भूमि आयोगहरूले गरेका सिफारिस तथा प्रमाणीकरणका आधारमा र हालका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित जिल्ला भूमि व्यवस्थापन कार्यालयको सक्रियतामा यो अभियान अगाडि बढेको हो, जसले लामो समयदेखि भूमिको स्वामित्वविहीन रहेका नागरिकहरूलाई कानूनी अधिकार प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस क्रममा, झापाको कनकाई नगरपालिका वडा नम्बर ३ मा शुक्रवार ५ जना भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । संघीय सांसद शम्भुप्रसाद ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल र कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले संयुक्त रूपमा ४ जना अव्यवस्थित बसोबासी र १ जना भूमिहीन दलितलाई पुर्जा हस्तान्तरण गर्नुभएको थियो । यो वितरण कार्यक्रम स्थानीय जनताका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।
साथै, झापाको अर्जुनधारा नगरपालिकामा समेत भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । बिहीवार अर्जुनधारा नगरपालिकाको वडा नम्बर ११ का २१ घरपरिवारलाई वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको धनीपुर्जा प्रदान गरियो । झापा क्षेत्र नम्बर २ की संघीय सांसद तथा पूर्व उपसभामुख इन्दिरा राना मगर, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन र झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललगायतका पदाधिकारीहरूको उपस्थितिमा स्थानीयहरूलाई पुर्जा वितरण गरिएको हो । अर्जुनधाराका अन्य वडामा पनि यस प्रकारका धनीपुर्जा वितरण कार्यलाई तीव्रता दिइने झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि व्यवस्थापन कार्यालयका संयोजक शिवलाल गेलालले जानकारी दिनुभयो ।
यसैगरी, बुद्धशान्ति गाउँपालिकामा समेत ५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष अनिल वाग्लेले उक्त जानकारी दिनुभयो । सरकारले तोकेको समयसीमाभित्रै सबै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई पुर्जा वितरण गरिसक्ने योजनाका साथ जिल्लाभरका पालिकाहरूमा कार्य भइरहेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार, सरकारले तोकेको ६०० दिनको समयसीमाभित्र झापाका सम्पूर्ण भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पुर्जा वितरण गरिसक्ने महत्वाकांक्षी योजनाका साथ आयोग अगाडि बढिरहेको छ । पुर्जा वितरणमा देखिएका कुनै पनि समस्याहरूलाई क्रमशः वडा, नगर, जिल्ला हुँदै केन्द्रसम्म पुर्याएर समाधान गरिने र झापावासीलाई भूमिको अधिकार दिलाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कनकाई नगरपालिकाको भूमि प्रशासन कार्यालय प्रमुख रमिता कट्टेलले दिएको जानकारी अनुसार, कनकाई नगरपालिकामा ७ हजार २०७ जनाले भूमिहीन, अव्यवस्थित तथा भूमिहीन दलितको रूपमा आवेदन फारम भरेका थिए । तीमध्ये हालसम्म २४५ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् र अन्य आवेदकहरूलाई पनि क्रमिक रूपमा पुर्जा वितरण गर्ने तयारी भइरहेको छ । यो कार्यले झापा जिल्लामा भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि महत्वपूर्ण कदम चालेको स्थानीय प्रशासनले जनाएको छ ।
