गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले द्रुत गति लिएको बताएका छन्। गोरखाको शहीद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरवेल पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले निर्धारित समयमै विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो र महत्वपूर्ण जग भएको धारणा व्यक्त गरेका छन्।
मुख्यमन्त्री पाण्डेले विकास निर्माणका आयोजनाहरू वर्षौं अलपत्र पर्ने र ढिलासुस्ती हुने गरेको विगतको परिपाटीलाई चिर्दै लुदीखोला पुलको निर्माण निर्धारित समयभन्दा अगाडि नै सम्पन्न हुनुले सकारात्मक सन्देश दिएकोमा जोड दिए। उनले यो सफलता निर्माण व्यवसायी, पूर्वाधार विकास कार्यालय, प्राविधिक टोली तथा परियोजनामा संलग्न सबै सरोकारवाला पक्षको प्रतिबद्धता, समन्वय र उत्कृष्ट कार्यक्षमताको अनुपम उदाहरण भएको बताए। वर्तमान प्रदेश सरकारको सुशासन र विकासप्रतिको दृढ प्रतिबद्धता यहीँबाट झल्किएको मुख्यमन्त्रीको भनाइ छ।
गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार–भट्ट फाँट–मनकामना सडकखण्डमा नवनिर्मित यस मोटरेवल पुलको निर्माण कार्य सम्झौता भएको आठ महिनाभित्रै सुरु भई निर्धारित अवधिभन्दा १२ महिना अगावै सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय, गोरखाले विसं २०८२ असारमा पुल निर्माणका लागि गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्स प्रालिसँग रु सात करोड ५१ लाख ३० हजार ८५९ मा ठेक्का सम्झौता गरेको थियो। यसरी द्रुत गतिमा र गुणस्तरीय काम सम्पन्न हुनुले राज्यको स्रोतको उचित सदुपयोग र जनतामा विकासको अनुभूति दिलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कुल ६० मिटर लम्बाइको यस पुल निर्माण सम्पन्न भएसँगै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाका हजारौं बासिन्दालाई आवतजावतमा अभूतपूर्व सहजता प्राप्त भएको छ। यसअघि पुल नहुँदा हिउँदका केही महिना मात्र मुस्किलले सवारी साधन सञ्चालन हुने उक्त सडकखण्डमा अब बाह्रै महिना निर्वाधरुपमा यातायातका साधन चल्ने अवस्था बनेको स्थानीयबासीले बताएका छन्। यसबाट यस क्षेत्रको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन, स्वास्थ्य सेवामा पहुँच बढाउन, शैक्षिक संस्थाहरूमा विद्यार्थीको पहुँच सहज बनाउन र समग्रमा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्नेछ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले विकास र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताउँदै यस प्रकारका सफल परियोजनाहरूले जनतामा सरकारप्रति विश्वास जगाउने र अन्य आयोजनाका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे। उनले समयमै र गुणस्तरीय रुपमा पूर्वाधार विकासका कार्य सम्पन्न गर्नु प्रदेशको समग्र विकासका लागि अपरिहार्य रहेको औंल्याए। लुदीखोला पुलको समयमै सम्पन्नताले प्रदेशभरि विकास निर्माणका कार्यलाई अझ तीव्र गतिमा अगाडि बढाउन र पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न थप बल मिल्ने अपेक्षा गरिएको छ।
