कास्कीको अन्नपूर्ण क्षेत्रमा आइतबारको भीषण वर्षा र त्यसपछिको बाढीका कारण पदयात्रा क्षेत्रमा व्यापक क्षति पुगेको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) मार्गमा पर्ने किम्रुङ खोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै वीरेठाँटी–घान्द्रुक सडक खण्डमा समेत असर गरेको छ। पदयात्राको सिजन नभए पनि हाल यस क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पदयात्रीहरूलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आइतबार दिउँसो एकाएक आएको बाढीले झोलुंगे पुल बगाएको थियो। किम्रुङ खोला मोदी नदीमा मिसिएपछि मोदीले वीरेठाँटी–घान्द्रुक पदमार्गमा रहेका केही रेस्टुरेन्ट तथा सडक खण्डमा थप क्षति पुर्यायो। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार, मोदी खोलाले वीरेठाँटी–घान्द्रुक सडक मार्गको करिब ३०० मिटर खण्ड क्षतविक्षत पारेपछि सवारी आवागमन ठप्प भएको थियो।
अध्यक्ष केसीले दिएको जानकारीअनुसार, बाढीले झिनु हुँदै मोदीखोलामा मिसिएपछि स्याउली बजार क्षेत्रका दुईवटा होटलसमेत बगाएको छ। उनले भने, ‘खोलाले बाटो कटान गरेको थियो। गाउँपालिकाको पहलमा डाइभर्सन खोली सडक शनिबार साँझ एकतर्फी र सोमबार साँझसम्म पूर्णरुपमा सुचारु गरिए पनि यात्रा अझै सहज छैन।’ वर्षायाममा बाटोमा कटान र पहिरोको जोखिम उच्च रहने उनले औंल्याए।
बाढीबाट प्रभावित क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्छ। एक्यापका प्रमुख डा. रबिन कडरियाले पदयात्रा रुटमा हाल कुनै ठूलो समस्या नदेखिए पनि मनसुनको समय भएकाले बाढीपहिराको जोखिम बढ्न सक्ने भन्दै पदयात्रीहरूलाई सचेत रहन आग्रह गरेका छन्। उनले आइतबार बाढीले बगाएको किम्रुङ खोलाको पुल खासै प्रयोगमा नआउने गरेको र पर्यटकहरूले झिनु हुँदै छोमरोङतर्फ जाने विकल्प प्रयोग गर्ने गरेको बताए। डा. कडरियाले आइतबार रोकिएका पर्यटकहरू सोमबार साँझदेखि फर्किन सक्ने अवस्था बनेको जनाउँदै पदयात्रा पूर्णतः असुरक्षित नभए पनि उच्च सचेतता अपरिहार्य रहेको औंल्याए।
एक्यापकै घान्द्रुकस्थित संरक्षण अधिकृत भीमप्रसाद उपाध्यायका अनुसार, आइतबार बिहानैदेखि त्यस क्षेत्रमा भीषण वर्षा भएको थियो। साँझपख आएको पहिरोले केही बेर किम्रुङ खोलाको बहाव छेकेको र पछि त्यही बहाव बग्दै जाँदा झोलुंगे पुल बगाएको जानकारी दिए। किम्रुङ खोलाले हरेक वर्षजसो समस्या दिने गरेको र यसको बहाव बढेपछि मोदीमा मिसिएर स्याउली बजार क्षेत्रको सडक कटान गर्ने गरेको उपाध्यायले बताए। उपयुक्त मौसम नहुँदा पनि केही आन्तरिक र बाह्य पर्यटकहरू पदमार्गमा रहेको उनले उल्लेख गरे।
माछापुच्छ्रे आधारशिविर (एमबिसी) का व्यवसायी दिलीप गुरुङले छोमरोङभन्दा माथिको खण्डमा हालका लागि अप्ठेरो नभए पनि वीरेठाँटीदेखि झिनुसम्मको खण्डमा पहिरो र बाढीको उच्च जोखिम रहेको बताए। उनले वर्षा भइरहेकाले यस क्षेत्रमा पदयात्रीलाई सचेतता अपनाउन आग्रह गरे।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पनि निरन्तरको वर्षाले एबिसी पदमार्गका विभिन्न स्थानमा क्षति पुगेको भन्दै पदयात्रीहरूलाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन्। उनले कुनै पनि बेला अप्ठेरो पर्न सक्ने जोखिम रहेकाले विशेष सावधानीका साथ यात्रा गर्न सुझाए। आचार्यका अनुसार, यो पदयात्रामा जोखिमको समय भए पनि पूर्ण असुरक्षा नभएको तर उच्च सचेतता भने अपरिहार्य छ।
मनसुन सक्रिय रहेकाले अन्नपूर्ण क्षेत्रमा बाढीपहिराको जोखिम उच्च छ। यसर्थ, पदयात्रामा निस्कनेहरूले मौसमको अद्यावधिक जानकारी लिई, आवश्यक सावधानी अपनाई र स्थानीय प्रशासन तथा एक्यापसँग समन्वय गरेर मात्र अगाडि बढ्न विज्ञहरूले सुझाव दिएका छन्।
