डोल्पाको ठूली भेरी नगरपालिकाद्वारा ५० करोडको बजेट सार्वजनिक: ‘समृद्ध नगर, सुखी नगरबासी’ लक्ष्य
डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूली भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जिल्लामै सबैभन्दा पहिले सोमबार सम्पन्न १७औं नगरसभाबाट नीति तथा कार्यक्रमसहित पारित यो बजेटले ‘समृद्ध नगर, सुखी नगरबासी’ भन्ने दीर्घकालीन सोचलाई आत्मसात गरेको छ । कुल बजेटमध्ये चालु खर्चतर्फ करिब ६७ प्रतिशत (३३ करोड ६८ लाख ३० हजार) र पुँजीगत खर्चतर्फ करिब ३३ प्रतिशत (१६ करोड ४५ लाख रुपैयाँ) विनियोजन गरिएको छ ।
नगरपालिकाकी उपप्रमुख छिरिङ टोल्मा महतका अनुसार बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यटन, उद्यमशीलता, सूचना प्रविधि, वातावरण संरक्षण तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त उपाध्यायले डोल्पाको भौगोलिक अवस्था र नागरिकको आवश्यकतालाई मध्यनजर गरी बजेट निर्माण भएको बताए । जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम बजेटका रूपमा जनताको आवश्यकतालाई केन्द्रमा राखिएको उनको भनाइ छ ।
नगरपालिकाले आगामी साउन १ गतेदेखि जिल्लामै पहिलोपटक सम्पत्ति कर लागू गर्ने घोषणा गरेको छ, जसबाट करिब १० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान छ । यसबाहेक, मालपोत, घरजग्गा बहाल, व्यवसाय कर, घरनक्सा पास शुल्क, सेवा दस्तुर लगायत आन्तरिक स्रोत तथा ढुंगा, गिट्टी, बालुवा व्यवस्थापन, एक्साभेटर सञ्चालन र नगर बस सेवामार्फत राजस्व संकलन गरिने लक्ष्य छ । आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट मात्रै एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।
नगरप्रमुख श्वर्णकुमार बुढाले दुनै बजारलाई स्मार्ट सिटी तथा रुपगाड तातोपानी र रुपपाटन क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे । कृषितर्फ, रैथाने बाली संरक्षण, अर्गानिक कृषि प्रवर्द्धन, किसान परिचयपत्र वितरण र स्याउ उत्पादन प्रोत्साहन जस्ता कार्यक्रम छन् । पशुपालन र दुग्ध उत्पादनलाई प्राथमिकता दिँदै पशु बीमा कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्य सेवा सुदृढीकरणका लागि जुफाल स्वास्थ्य चौकीमा भिडियो एक्स-रे, सुलभ औषधि उपलब्धता तथा सुनौलो हजार दिनका आमाहरूलाई आयआर्जनमा जोड्ने कार्यक्रम समेटिएका छन् । सडक निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरी जथाभावी खनिएकोमा कडाइ गरिनेछ; गम्भीर रोगका बिरामीको उपचार खर्चको २५ प्रतिशत नगरपालिकाले व्यहोर्नेछ । शिक्षा सुधार, शिक्षक सम्मान, विज्ञान, गणित र अंग्रेजी शिक्षक अभाव भएका विद्यालयमा अनुदान तथा आगामी आ.व.भित्र फोरजी इन्टरनेट सेवा विस्तारको लक्ष्य छ । आगामी आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट तथा व्यवस्थापनको वर्षका रूपमा मनाइने घोषणा गरिएको छ ।
पूँजीगत बजेटअन्तर्गत समपूरक कोष, प्रशासनिक भवन, रोलागाड पुल लगायतका विकास आयोजनाहरू सञ्चालन गरिनेछन् । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन वित्तीय अनुशासन, पारदर्शिता, सार्वजनिक खरिद प्रणालीको पालना, नियमित अनुगमन र परिणाममुखी कार्यसम्पादनमा जोड दिइएको छ । कार्तिक मसान्तभित्र आयोजनाको सम्झौता सम्पन्न गरी वैशाख मसान्तभित्र कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सफल कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी र नगरवासीको सक्रिय सहयोग अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ ।
