भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि खोलिने भएको छ। यसले महाकाली नदीमा पानीको सतह अकस्मात् बढाउने सम्भावना रहेकाले दार्चुला जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार जारी गरेको सार्वजनिक सूचनाअनुसार, भारतीय पक्षले असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म ४८ घण्टाका लागि बाँधका ढोका खोल्नेछ। यस अवधिमा महाकाली नदीको जलस्तर उल्लेख्य बढ्ने सम्भावना रहेकाले प्रशासनले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार, एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, भारतबाट प्राप्त जानकारीका आधारमा यो सूचना जारी भएको हो। भारतीय पक्षले नियमित मर्मत तथा सिल्ट सफाइका लागि बाँध खोल्न लागेको जानकारी नेपाली प्रशासनलाई गराएको धामीले बताउनुभयो।
२८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध छिरकिल्लामा अवस्थित छ। वर्षातमा नदीले बगाएर ल्याउने माटो, बालुवा (सिल्ट) बाँधमा जम्मा भई कार्यक्षमतामा ह्रास आउन नदिन भारतीय पक्षले नियमित सिल्ट सफाइ गर्दै आएको छ। मनसुनपछि यस्तो सफाइ कार्य हुने गर्दछ र यसका लागि बाँधका ढोका खोल्नु अनिवार्य हुन्छ।
जलस्तर बढ्ने सम्भावना रहेकाले दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। महाकाली नदी किनारका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका बासिन्दालाई आगामी ४८ घण्टासम्म नदीमा प्रवेश नगर्न, नुहाउन, कपडा धुन, वस्तुभाउ चराउन वा अन्य जोखिमपूर्ण गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ।
नदीमा पानीको बहाव बढ्दा किनारमा कटानको जोखिम बढ्ने तथा पुल संरचनामा असर पर्न सक्छ। अकस्मात् जलस्तर बढ्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने हुँदा स्थानीयलाई सुरक्षित स्थानमा रहन र नदी किनारबाट टाढा रहन चेतावनी दिइएको छ। बालबालिकालाई नदी नजिक जान नदिन र माछा मार्न वा काठ दाउरा सङ्कलन नगर्न प्रशासनले आग्रह गरेको छ।
नेपाल र भारतबीचको सीमा नदी महाकालीमा रहेका जलविद्युत् परियोजनाहरूले बाँध खोल्दा नेपाली पक्षलाई पूर्वजानकारी दिने परम्परा छ। यो समन्वयले नेपालतर्फ सम्भावित जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो। भारतीय पक्षबाट प्राप्त जानकारी समयमै सार्वजनिक गरी मानवीय क्षति रोक्न प्रशासन सदैव तत्पर रहेको उहाँले बताउनुभयो।
आगामी ४८ घण्टासम्म महाकाली नदीमा पानीको बहाव अत्यधिक बढ्ने सम्भावना रहेकाले सबै सरोकारवाला निकाय र आम नागरिकलाई सचेत रहन, प्रशासनद्वारा जारी सूचना तथा निर्देशनको पूर्ण पालना गर्न, कुनै असामान्य अवस्थामा नजिकको प्रहरी वा स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको छ। सुरक्षा र सावधानी नै जोखिम न्यूनीकरणको प्रमुख आधार रहेको प्रशासनले जनाएको छ।
