काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनले जलवायु परिवर्तन र यसबाट उत्पन्न संकटलाई आफ्नो केन्द्रीय बहसमा ल्याएको छ। महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नै मञ्चमा देखिएको वातावरणीय सन्देशले यस मुद्दाको गम्भीरतालाई उजागर गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै नेपालको समग्र विकासका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै अघि बढ्ने संकल्प गर्न आह्वान गरेपछि कार्यक्रमले नयाँ आयाम लिएको थियो। पौडेलको आह्वानलगत्तै अतिथिका रूपमा उपस्थित शीर्ष नेताहरूले पालैपालो बिरुवामा पानी हालेर जलवायुमैत्री अभियानप्रति ऐक्यबद्धता जनाए। उद्घाटनको यस सांकेतिक तर वातावरणकेन्द्रित सुरुआतले महाधिवेशनको मूल बहसलाई जलवायु संकट र राष्ट्रिय अस्तित्वको मुद्दामा केन्द्रित गराएको छ।
महाधिवेशनमा शुभकामना दिन पुगेका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले एउटै लयमा आवाज उठाए—‘जलवायु परिवर्तनले निम्त्याएको विनाश हाम्रा लागि साझा संकट हो, र जलवायु न्याय नेपालको साझा प्रश्न।’ यस साझा धारणाले जलवायु परिवर्तनको मुद्दालाई दलीय सीमाभन्दा माथि राखेर हेर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ।
मञ्चमा सम्बोधनका लागि उभिएका नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु संकटलाई सत्ता र प्रतिपक्षको घेराभन्दा धेरै माथि राखेर हेर्नुपर्ने बताए। कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य रहे पनि त्यसको ठूलो मूल्य हाम्रा हिमाल र हिमतालहरूले चुकाउनुपरेको भन्दै उनले विश्व मञ्चमा एकीकृत आवाज उठाउन अपिल गरे। शर्माले भने, ‘हामीले शून्यप्रायः उत्सर्जन गरेर पनि हिमताल र हिमाल पग्लिने ठूलो मूल्य चुकाइरहेका छौँ। यसको क्षति न्यूनीकरण, हिमताल र हिमालको नियमित वैज्ञानिक अनुसन्धान र विश्व मञ्चबाट राहत तथा क्षतिपूर्ति प्राप्त गर्न सिङ्गै देशको साझा सहकार्य आवश्यक छ। यसका लागि कांग्रेस सरकारको साथमा दृढताका साथ उभिन्छ।’
जलवायु संकटको दर्दनाक तस्बिर प्रस्तुत गर्ने क्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केही बेर स्तब्ध बनाए। भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीको सम्झना गर्दै उनले जलवायु परिवर्तनको मूल्य नेपालीले कति दर्दनाक रूपमा चुकाइरहेको यथार्थ उजागर गरे। बाढीमा परेर ज्यान गुमाएका आफ्ना प्रियजनको शवसमेत पाउन नसकेर परिवारले कुशको प्रतीक बनाएर दाहसंस्कार गर्नुपरेको नियति सुनाउँदै पोखरेलले भने, ‘हामीले भोटेकोशी र त्रिशूलीको बाढीको पीडा अझै भोगिरहेका छौँ। मान्छेको शव भेटिन्न, कुशको प्रतीक बनाएर दाहसंस्कार गर्नुपर्ने कति पीडादायी अवस्था छ, हाम्रा हिमालहरू तातिरहेका छन्, यो पीडा सजिलै रोकिनेवाला छैन, त्यसैले जलवायु न्यायको प्रश्न कुनै एउटा दलको होइन, सिङ्गै नेपालको साझा प्रश्न हो।’
उक्त विषयमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहमति जनाउँदै भोटेकोशी बाढीले पुर्याएको अपूरणीय क्षति र त्यसले देशको अर्थतन्त्र तथा जनजीवनमा पारेको दीर्घकालीन प्रभावबारे ध्यानाकर्षण गराए। त्यस्तै, राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले वैश्विक असमानताको मुद्दा उठाए। विश्वका धनी र औद्योगिक राष्ट्रहरूले गरेको तीव्र प्रदूषणको सजाय नेपालजस्ता साना र निर्दोष देशहरूले भोग्न बाध्य भएको उनको तर्क थियो। न्यौपानेले भने, ‘हाम्रो कुनै योगदान नभएको संकट आज ठूला देशहरूको गैरजिम्मेवारीपनका कारण हामीले भोगिरहेका छौँ। यो अन्यायविरुद्ध र उचित क्षतिपूर्तिको दाबीका लागि नेपालका सम्पूर्ण राजनीतिक दलहरू अन्तर्राष्ट्रिय मञ्चमा एउटै कित्तामा उभिनै पर्छ।’
महाधिवेशनमा सभापति गगन थापाले पेश गरेको प्रतिवेदनमा पनि जलवायु परिवर्तनको मुद्दालाई उच्च प्राथमिकता दिइएको छ। प्रतिवेदनमा जलवायु परिवर्तनलाई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिएर पूर्वाधार, बस्ती र विकास योजनामा विपद् जोखिमलाई अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिइएको छ। यसरी नेपाली कांग्रेसको महाधिवेशनले जलवायु परिवर्तनलाई राष्ट्रिय एजेन्डाको केन्द्रीय बिन्दुमा राखेर नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।
