तस्बिरको क्याप्शन: एमिलीले कफीको सेवनले आफ्नो शरीर र निद्रामा खासै असर नगर्ने बताएकी छिन्।
२० वर्षीया एमिलीका अनुसार, दिनमा दुई कप कफी र एउटा इनर्जी पेय पिएपछि पनि उनलाई सहजै निदाउन कुनै समस्या हुँदैन। कतिपय मानिसहरू एमिलीझैँ क्याफिनको प्रभावबाट अप्रभावित देखिन्छन्, जसले डबल सट एस्प्रेसो पिएपछि पनि मस्त निद्राको अनुभव गर्न सक्छन्। तर, अधिकांशका लागि कफीको असर लामो समयसम्म रहन्छ, जसले निद्रामा बाधा पुर्याउँछ। आखिर किन क्याफिनले मानिसपिच्छे फरक प्रतिक्रिया देखाउँछ?
क्याफिन खासमा के हो?
क्याफिन विश्वमै सबैभन्दा व्यापक रूपमा प्रयोग गरिने ‘साइकोएक्टिभ’ पदार्थ हो। दैनिक दुई अर्बभन्दा बढी कप कफीको खपत हुन्छ। कोला, इनर्जी ड्रिङ्क, चकलेट र केही सप्लिमेन्टहरूमा समेत क्याफिन पाइन्छ। यसले मानिसलाई जागा रहन, एकाग्रता बढाउन र थकान कम महसुस गर्न मद्दत गर्छ। यद्यपि, अत्यधिक सेवनले टाउको दुख्ने, शरीर काम्ने वा छटपटी हुने, मुटुको धड्कन तीव्र हुने र निद्रामा समस्या निम्त्याउन सक्छ।
विज्ञहरूका अनुसार, क्याफिनले सीधा ऊर्जा दिँदैन, बरु थकानको अनुभूतिलाई मात्र कम गर्छ। यो ‘एडेनोसिन’ नामक रसायनको कार्यलाई रोकेर सिर्जना हुन्छ। एडेनोसिन मस्तिष्कमा दिनभरि जम्मा हुँदै जाने एउटा तत्त्व हो, जसले निद्रा र थकान महसुस गराउँछ।
मानिसहरूमा फरक-फरक असर किन?
क्याफिनले फरक असर देखाउनुको मुख्य कारण यसको शरीरमा रहने अवधि हो। कफी पिएपछि क्याफिन रगत हुँदै मस्तिष्कसम्म पुग्छ, जहाँ शरीरले यसलाई ‘मेटाबोलाइज’ गर्ने प्रक्रिया सुरु गर्छ। कलेजोमा रहेको ‘इन्जाइम’ले क्याफिनलाई टुक्र्याउँछ र शरीरले त्यसलाई पिसाबमार्फत् बाहिर निकाल्छ।
शिकागोस्थित नर्थवेस्टर्न युनिभर्सिटीकी पोषण सहप्राध्यापक डा. मेरिलिन कर्नेलिसका अनुसार, शरीरबाट क्याफिन पूर्ण रूपमा बाहिरिन ६ देखि २० घण्टासम्म लाग्न सक्छ, जुन व्यक्तिअनुसार फरक हुन्छ। उनले पहिलो कपको असर तत्काल नभए पनि, दोस्रो कप पिउँदा क्याफिनको मात्रा थपिएर प्रभाव बढ्न सक्ने र बेचैनी महसुस गराउन सक्ने बताइन्।
कलेजोले क्याफिनलाई कति छिटो प्रशोधन गर्छ भन्ने कुरा ‘सीवाईपीवनएटू’ नामक जीनबाट प्रभावित हुन्छ। यस प्रक्रियामा व्यक्तिको वंशीय पृष्ठभूमिसँग पनि सम्बन्ध हुन सक्छ। एक अध्ययनले युरोपेली र दक्षिण अमेरिकी मानिसहरूमा क्याफिन छिटो पचाउने प्रवृत्ति देखाएको छ।
अन्य के कारण हुन सक्छन्?

तस्बिरको क्याप्शन: इनर्जी ड्रिङ्कहरूमा पनि क्याफिनको मात्रा धेरै हुन्छ।
‘डीएनए’ बाहेक धूम्रपानले कलेजोलाई क्याफिन छिटो ‘मेटाबोलाइज’ गर्न मद्दत गर्छ, जसले प्रशोधन गति ६५ प्रतिशतसम्म बढाउन सक्छ। यसले धूम्रपान गर्ने मानिसहरूले बढी कफी पिउने कारण स्पष्ट गर्छ। धूम्रपान छोडेपछि भने सामान्य मात्राको कफीले पनि कडा असर गरेको महसुस हुन सक्छ। यसको विपरीत, केही एन्टिबायोटिक, गर्भनिरोधक चक्की तथा गर्भवती अवस्थामा हर्मोन परिवर्तनले क्याफिन शरीरमा लामो समयसम्म रहन दिन्छन्। नियमित कफी सेवन गर्ने मानिसको शरीर क्याफिनसँग अभ्यस्त हुँदै गए पनि, केही साता छाडेपछि फेरि पिउँदा त्यसले बढी बेचैनी गराउन सक्छ।
विज्ञहरू के सुझाउँछन्?
निद्रासम्बन्धी अनुसन्धानकर्ताहरू सुत्नुभन्दा कम्तीमा छ घण्टा अगाडिदेखि क्याफिन सेवन नगर्न सुझाव दिन्छन्। निद्राविज्ञ तथा मनोविद् डा. लिन्ड्से ब्राउनिङका अनुसार, क्याफिनले निदाउन मात्र नभई निद्राको गुणस्तरमा समेत असर पार्न सक्छ। उनले राति १० बजे सुत्ने भए दिउँसो २ बजेपछि क्याफिन सेवन नगर्न सल्लाह दिइन्, यद्यपि यो नियम व्यक्तिअनुसार फरक हुन सक्ने उनको भनाइ छ।
ब्रिटेनको ‘एनएचएस’ले गर्भवती महिलाहरूलाई दैनिक २०० मिलिग्रामभन्दा कम क्याफिन (करिब दुई कप फिल्टर कफी) सेवन गर्न सुझाव दिन्छ, किनकि अध्ययनहरूले क्याफिनले बच्चा जन्मिँदा तौल कम हुने वा अन्य जटिलता ल्याउन सक्ने देखाएका छन्।
अन्य वयस्कहरूका लागि मुख्य सन्देश क्याफिनको सेवन सन्तुलित राख्नु हो। युनिभर्सिटी अफ ब्रिस्टोलका पोषणसम्बन्धी प्राध्यापक पिटर रोजर्सका अनुसार, क्याफिन तुलनात्मक रूपमा सुरक्षित हुन्छ र अत्यधिक सेवनले बेचैनी बढाउँदा व्यक्ति आफैँले सेवन रोक्ने महसुस गर्छ। बिहान नियमित कफी पिउने बानीलाई राम्रो स्वास्थ्यसँग जोडिएको छ। शोधकर्ताहरूले कफी नै यसको एकमात्र कारण हो भनेर प्रमाणित गर्न नसके पनि, ठिक्क मात्रामा कफी पिउने मानिसहरूमा केही प्रमुख रोगहरूको जोखिम कम हुने र उनीहरू बढी समय बाँच्ने सम्भावना दशकौँदेखिका अध्ययनहरूले देखाएका छन्।
