काठमाडौँ, साउन ३१ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह जस्ता राष्ट्रिय नेताहरूको योगदानलाई कुनै एक समूह वा व्यक्ति विशेषको निजी सम्पत्तिका रूपमा सीमित राख्न नहुने बताउनुभएको छ । उहाँले यस्ता ऐतिहासिक व्यक्तित्वहरूलाई घरभित्र कैद गरेर वा निजीकरण गरेर इतिहासबाट अलग्याउन खोज्नु गलत हुनेमा जोड दिनुभयो।
नेपाली कांग्रेसका नेता धर्म गौतमद्वारा लिखित ‘बिपी र विद्रोहका ती दिन’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले वर्तमान राजनीतिक परिवेशमा बिपी कोइरालाको मेलमिलापको नीतिको सान्दर्भिकता व्यापक रूपमा मनन भइरहेको औंल्याउनुभयो । उहाँले बिपीका विचार र सिद्धान्तलाई आधिकारिक र दस्तावेजीकरण गरिएका स्रोतहरूबाट अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।
“दुई, तीन जना व्यक्तिहरू बसेर बिपीले यसो भन्नुभएको थियो भन्दै गरिने अनौपचारिक एवं अप्रमाणित टिप्पणीहरूको आधिकारिकतामाथि प्रश्न उठाउँदै त्यस्ता भनाइहरूलाई दस्तावेजीकरण गरिनुपर्नेमा जोड दिनुभयो,” सभापति थापाले भन्नुभयो, “त्यस्ता टिप्पणीहरूको कुनै आधिकारिक पुस्तक वा दस्तावेज हुँदैन । यसैले, धर्म गौतमजस्ता ऐतिहासिक पृष्ठभूमि भएका व्यक्तिहरूले आफ्ना अनुभव र अनुसन्धानमा आधारित पुस्तकहरू प्रकाशन गर्नु अत्यावश्यक छ ।” उहाँले यस प्रकारका कृतिहरूले भावी पुस्तालाई सत्यतथ्य इतिहास बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसलाई राष्ट्रिय शक्तिको रूपमा चित्रण गर्दै सभापति थापाले निर्वाचनमा अपेक्षाकृत ठूलो दलका रूपमा स्थापित हुन नसके पनि नेपाली कांग्रेसको राष्ट्रिय शक्तिको पहिचान र गरिमा कसैले खोस्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेस सधैँ राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा रहँदै आएको र भविष्यमा पनि रहने दाबी गर्नुभयो।
पुस्तकका लेखक एवं कांग्रेस नेता धर्म गौतमले आफूले यो पुस्तक पुराना नेताहरूलाई केवल कटु आलोचनाको पात्रका रूपमा मात्र नभई उनीहरूका दूरदृष्टि, योगदान र सराहनायोग्य पक्षहरूको पनि वस्तुगत चित्रण गर्न लेखेको स्पष्ट पार्नुभयो । उहाँले बिपी कोइरालासँगको व्यक्तिगत अनुभव, भेटघाट र समकालीन राजनीतिक घटनाक्रमलाई समावेश गरेर प्रथम जननिर्वाचित प्रधानमन्त्रीको समग्र व्यक्तित्वलाई प्रस्तुत गर्ने प्रयास गरेको जानकारी दिनुभयो । पुस्तकमा बिपीको सूत्र ‘साम्यवादमा प्रजातन्त्र थपे समाजवाद, समाजवादबाट प्रजातन्त्र झिके साम्यवाद’ भन्ने सिद्धान्तको विस्तृत व्याख्या गरिएको छ । साथै, बिपीको समाजवादी दर्शन र नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको बहुदलीय जनवादबीचका भिन्नता र साम्यताबारे समेत गहन चर्चा गरिएको उहाँले बताउनुभयो । बिपीका विचार र दर्शनको पुञ्जलगायतका विविध आयाममाथि पुस्तकले प्रकाश पारेको गौतमको भनाइ थियो ।
कार्यक्रममा पुस्तकका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै वरिष्ठ पत्रकार हरिहर विरहीले धर्म गौतमजस्ता राजनीतिज्ञहरूले आफ्ना समयका राजनीतिक इतिहासलाई निष्पक्ष रूपमा लेखनबद्ध गर्दा मात्र भावी पुस्ताले वास्तविक इतिहासबाट लाभान्वित हुन सक्ने बताउनुभयो । उहाँले यस्ता कृतिहरूले विगतका राजनीतिक तथ्यहरूलाई उजागर गर्नुका साथै इतिहासको अध्ययनका लागि महत्त्वपूर्ण आधार तयार पार्नेमा जोड दिनुभयो ।
