बडिगाड देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा, मुख्यमन्त्री पाण्डेद्वारा अस्पताल र डायलाइसिस सेवा उद्घाटन
बागलुङ (गलकोट), असार १५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी सरकारको प्राथमिकतामा स्वास्थ्य, खानेपानी र पूर्वाधार विकास रहेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको पहलमा पुल, सडक तथा अस्पताल निर्माण भएपछि ग्रामीण क्षेत्रको मुहार फेरिन थालेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले अस्पतालसम्म पुग्ने सडक सञ्जाललाई द्रुत गतिमा निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा डायलाइसिस सेवा प्राप्त गर्न पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो । प्रदेशभर हाल करिब एक सय बिरामी डायलाइसिसको पर्खाइमा रहेको उल्लेख गर्दै उहाँले १५ वटा उपकरण थप गर्ने कार्य अघि बढेको बताउनुभयो । बडिगाडमा डायलाइसिस सेवा सुरु भएसँगै यस क्षेत्रका नागरिकलाई ठूलो राहत मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
तीन वर्षअघि नै बागलुङको पश्चिम क्षेत्र विकासमा पछि परेको देखेर प्रदेश सरकारले पुल, सडक, खानेपानी र अस्पताल निर्माणमा लगानी गरेको र त्यसको परिणाम आज देखिन थालेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । यी पूर्वाधार आयोजनाले स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।
बडिगाड गाउँपालिकालाई नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले पोषणको क्षेत्रमा बडिगाड गाउँपालिकाले देशमै अब्बल कार्यसम्पादन गरेको भन्दै प्रशंसा गर्नुभयो । सोही अवसरमा मुख्यमन्त्री पाण्डेले १५ शैयाको बडिगाड गाउँपालिका स्तरीय आधारभूत अस्पताल तथा डायलाइसिस सेवाको समेत औपचारिक उद्घाटन गर्नुभएको थियो । यसबाट यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवामा सहज पहुँच पाउने भएका छन् ।
गाउँपालिकाले विगत तीन वर्ष यता पोषणका ३४ वटा सूचक पूरा गर्न उल्लेखनीय कार्य गरेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिकाले वडावडा तहमा समिति गठन, खोर सुधार कार्यक्रम सञ्चालन, पशुपालनमा सहयोग, पत्रु खाना (जंक फुड) निषेध लगायतका थुप्रै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यी प्रयासका कारण पोषणमा उल्लेख्य सुधार आएको अधिकारीले बताउनुभयो ।
गाउँपालिकाका दशवटै वडा पोषणमैत्री घोषणा भएपश्चात् सोमबार औपचारिक कार्यक्रमकाबीच बडिगाड गाउँपालिकालाई देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो । यस घोषणाले अन्य स्थानीय तहलाई पनि पोषण सुधारका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचन, उपसभामुख बिना थापा, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
