श्रावण महिनाको आगमनसँगै नेपाली समाजमा विशेष सांस्कृतिक रौनक छाउँछ। हरिया सारी, चुरा, पोते र मेहेन्दीले बजार सजिन्छन् भने देशभरका शिवालयमा भक्तजन र बोलबम यात्रीको भीड लाग्छ। यी दृश्यहरू पछाडि हरियो चुरा, मेहेन्दीको लोकप्रियता र श्रावणलाई शिवजीको महिना मान्नुका गहिरा प्रश्नहरू छन्। यो आस्थामाथि शंका नभई परम्पराको पृष्ठभूमि र सांस्कृतिक महत्व बुझ्ने प्रयास हो।
श्रावणको प्रारम्भिक जग प्रकृति र कृषि सभ्यतासँग जोडिएको छ। वर्षायामको यो मुख्य महिनामा असारको रोपाइँपछि खेतबारी हराभरा भई नयाँ जीवन पलाउँछ। कृषिमा आधारित समाजका लागि वर्षा जीवन र समृद्धिको आधार थियो, जसबाट प्रकृतिप्रतिको कृतज्ञता स्वरूप धेरै अभ्यास विकसित भए। हरियो र पहेंलो रङ नयाँ जीवन, उर्वरता, पवित्रताका प्रतीक बने।
श्रावणलाई धार्मिक अर्थ हिन्दू पौराणिक परम्पराबाट प्राप्त भयो। समुद्र मन्थनमा हलाहल विष पिएका शिवको ताप शान्त पार्न जल अर्पण गरेको विश्वासबाट शिवलिङ्गमा जलाभिषेक परम्परा चलेको मानिन्छ। जल शीतलता र शुद्धताको प्रतीक हो भने शिव त्याग र लोककल्याणका प्रतीक हुन्। शिवको आराधना कर्मकाण्ड नभई व्यक्तिमा संयम र मानवीय मूल्य आत्मसात् गर्ने अवसर हो।
श्रावणमा हरियो र पहेंलो रङको बाहुल्यले सांस्कृतिक पहिचान दिन्छ। चुरा, पोते र मेहेन्दी केवल सौन्दर्यका वस्तु नभई समाजले तिनलाई विशेष अर्थ दिएको छ। धर्मशास्त्रमा शिवपूजा उल्लेख भए पनि यी पहिरन वा मेहेन्दी अनिवार्य नियम छैनन्, जुन लोकसंस्कृतिबाट विकसित देखिन्छ। ब्लुमरको प्रतीकात्मक अन्तरक्रियावादले वस्तुको सामाजिक महत्व मानिसहरूले दिएको साझा अर्थमा निर्भर हुने बताउँछ।
परम्परागत रूपमा महिलाहरू परम्पराका संवाहक भए पनि संस्कृति गतिशील छ। आज अविवाहित युवती र पुरुषहरूको समेत श्रावणका गतिविधिमा बढ्दो सहभागिताले परम्पराको पुनर्व्याख्या भइरहेको देखाउँछ। नयाँ पुस्ताले परम्परालाई आफ्नै समय र जीवनशैलीसँग जोडेर ग्रहण गरिरहेका छन्, जसले यसको निरन्तरता र परिवर्तनशील स्वरूपलाई उजागर गर्छ।
आधुनिक बजार, फेसन उद्योग र सामाजिक सञ्जालले श्रावणको स्वरूपमा गहिरो प्रभाव पारेका छन्। कार्ल माक्र्सको विश्लेषणअनुसार, पुँजीवादी व्यवस्थाले सांस्कृतिक अर्थभन्दा व्यापारिक मूल्यलाई प्राथमिकता दिँदा मेहेन्दी र चुरा जस्ता सामग्री व्यापारिक वस्तु बनेका छन्। यसले परम्पराको सारभन्दा उपभोग र प्रदर्शनलाई बढावा दिने जोखिम छ। समाजशास्त्रीय दृष्टिले दुर्खाइमले धर्मलाई सामाजिक एकताको माध्यमका रूपमा लिन्छन्।
श्रावणको वास्तविक सौन्दर्य बाहिरी श्रृङ्गार वा बजारमा मात्र सीमित छैन। यो प्रकृतिमा आउने नयाँ जीवन, लोकसंस्कृति र सामूहिक स्मृतिसँग जोडिएको छ। शिवालयको भीडमा देखिने सामूहिक विश्वास, आत्मसंयम र सामाजिक सद्भाव यसका वास्तविक आयाम हुन्। हरियो चुरा, मेहेन्दी, व्रत वा जलाभिषेकजस्ता अभ्यासहरू प्रकृतिप्रतिको कृतज्ञता, कृषि सभ्यता, धार्मिक विश्वास र लोकसंस्कृतिबाट विकसित भएका हुन्। परम्परालाई त्यसको पृष्ठभूमि, भूमिका र समकालीन अर्थ बुझेर सचेत रूपमा अभ्यास गर्नु आवश्यक छ।
