सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको महत्वपूर्ण पर्यटकीय तथा दुर्गम क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। यस क्षेत्रमा दूरसञ्चार सेवाको अभावले पर्यटक र स्थानीय बासिन्दाले भोगिरहेको समस्यालाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सेवा विस्तारमा गम्भीर चासो व्यक्त गरेका हुन्।
मन्त्रीको निर्देशनपछि शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्रै बडीमालिकामा टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। सडक सञ्जालको पहुँच नभएकाले टावर निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने देखिएको छ। टेलिकमले सामग्री धनगढी, कैलालीसम्म पुर्याइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध भए काम द्रुत गतिमा अगाडि बढ्ने जनाएको छ।
यसै सन्दर्भमा मन्त्री डा. तिमिल्सिनाले प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि दूरसञ्चार सेवा विस्तारबारे छलफल गरेका थिए। साथै, उनले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग भेट गरी कुन–कुन स्थानमा कस्तो पूर्वाधार आवश्यक छ र त्यहाँको सडक सञ्जालको अवस्था कस्तो छ भन्नेबारे विस्तृत जानकारी लिएका छन्। यी छलफलहरूले दुर्गम क्षेत्रमा सेवा पुर्याउने सरकारी प्रतिबद्धतालाई थप बल पुर्याएको छ।
नेपाल सरकारको दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने नीतिअनुरूप नेपाल टेलिकमले देशभर काम गरिरहेको छ। हालै डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६, ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा आएको छ। त्यसैगरी, ताप्लेजुङको ओलाङचुङ गोला क्षेत्रमा पनि ३४०० मिटर उचाइमा फोरजी सेवा सुरु भइसकेको छ। बाजुराको बडीमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा तत्काल फोरजी सेवा पुर्याउने लक्ष्यका साथै सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको टेलिकमले जानकारी दिएको छ।
सरकारले देशका दुर्गम स्थानहरूमा टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ। डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने मन्त्रालयको मुख्य लक्ष्य रहेको छ। यसका लागि देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षका लागि मात्रै रु ६ अर्बभन्दा बढी लगानी गर्ने योजना बनाएको छ, जसले दुर्गम भेगका नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
