काठमाडौँ, साउन २ गते। नेपाल बाल सङ्गठनमा आश्रित बालबालिकाहरूको दयनीय अवस्था र उनीहरूको स्वास्थ्य तथा सुरक्षामा देखिएको गम्भीर जोखिमलाई दृष्टिगत गर्दै तत्काल हस्तक्षेप गरी २० जना बालबालिकाको उद्धार गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा गरिएको यो कार्य बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताको एक हिस्सा हो।
प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा गठित सम्बन्धित मन्त्रालय र बाल हेल्पलाइन (१०४) को संयुक्त टोलीले बालगृहमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहभित्रको सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेको पाइएको थियो। शौचालय तथा स्नानगृहहरू अस्वच्छ, दुर्गन्धित र चिप्लो अवस्थामा थिए। भवनका विभिन्न भागमा पानी जमेको र विभिन्न उमेर समूहका बालबालिकालाई एउटै साँघुरो स्थानमा कोचिएर राखिएको भेटिएको थियो। यस्तो अवस्था बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष अनुगमन टोलीले निकालेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसअघि पनि नेपाल बाल सङ्गठनलाई बालगृहको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबासलाई व्यवस्थित बनाउन विभिन्न समयमा पटक–पटक निर्देशन दिँदै आएको थियो। समस्या समाधानका लागि सम्बन्धित सरोकारवालाहरूलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो। तर, बारम्बारको आग्रह र निर्देशनका बाबजुद पनि बालगृहको अवस्थामा अपेक्षित सुधार नआएको र बालबालिकाको जीवनमाथि थप जोखिम बढेकोले मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाउन बाध्य भएको हो।
बालगृहको दुरावस्थाबारे पछिल्लो समय स्थानीय सरोकारवाला, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न व्यक्तिहरू र स्वयं बालगृहका केही कर्मचारीहरूबाट समेत भिडियो सामग्रीहरू मन्त्रालयमा प्राप्त भएका थिए। ती भिडियोहरूमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्तै दयनीय रहेको र सरुवा रोगको महामारी फैलिन सक्ने उच्च जोखिम देखिएको प्रष्ट झल्केको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक र चिन्ताजनक अवस्था सार्वजनिक गरेका थिए, जसले सार्वजनिक चासो र दबाब बढाएको थियो।
यसै सन्दर्भमा बाल हेल्पलाइन (१०४) को सक्रिय समन्वयमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार गरिएका बालबालिकाहरूमध्ये १२ जना बालक र आठ जना बालिका रहेका छन्। उनीहरूको तत्काल संरक्षण, विस्तृत स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूसँग आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यस घटना सम्बन्धमा आवश्यक कागजी प्रक्रिया तथा कानुनी कारबाही अघि बढाइसकेको छ। बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रबिन्दुमा राखी बाँकी बालबालिकाहरूको अवस्थाको समेत सूक्ष्म मूल्याङ्कन गरी थप निर्णय लिने र अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। यस घटनाले बालगृहहरूको नियमन र अनुगमनमा थप कडाइ गर्नुपर्ने तथा बालबालिकाको आधारभूत अधिकार र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई पुनः जोड दिएको छ।
