काठमाडौँ । यस वर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँले गति लिएको छ । विगतका वर्षहरूमा रोपाइँको मुख्य सिजनमा किसानले रासायनिक मलको चर्को अभाव झेल्नुपरेको तीतो अनुभव यसपटक भने दोहोरिएको छैन । सरकारको समयमै गरेको तयारी र प्रभावकारी व्यवस्थापनका कारण यस वर्ष किसानले आवश्यकताअनुसार मल सहजै प्राप्त गर्न सकेका छन्, जसले कृषि क्षेत्रमा उत्साह थपेको छ ।
असार महिनाको पहिलो १९ दिनमै ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरणले सरकारी आपूर्ति प्रणालीको पूर्वतयारी र चुस्ततालाई पुष्टि गरेको छ । यो आँकडाले रासायनिक मल वितरणमा सरकारको योजनाबद्ध हस्तक्षेप र किसानमुखी नीतिको प्रभावकारिता झल्काउँछ ।
सरकारी तथ्याङ्कअनुसार, असार १ देखि १९ गतेसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कुल ४० हजार ५६९.२५ मेट्रिक टन रासायनिक मल देशभरका किसानको खेतबारीसम्म पुगेको छ । यो वितरण विगतका वर्षहरूको तुलनामा उल्लेखनीय सुधार हो ।
प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, “विगतका वर्षहरूमा धान रोपाइँको मुख्ययाममै किसानले रासायनिक मल नपाएर सास्ती खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो । तर यसपटक सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन् ।” उहाँले यसलाई राष्ट्रिय आपूर्तिमा सरकारी निकायहरूबीचको समन्वयको प्रभावकारी नतिजाका रूपमा व्याख्या गर्नुभयो ।
कुल वितरित मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ । यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६ मेट्रिकटन मल उपभोक्ता समक्ष पु¥याएर बजारको मागलाई सन्तुलित बनाएको छ । सरकारी संयन्त्रले धान रोपाइँको समयमा मलको आवश्यकतालाई गहिरो रूपमा बुझेका कारण मागअनुसार कै मल बजारमा पठाउन सम्भव भएको हो । यस अवधिमा सबैभन्दा बढी २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डिएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल किसानले सहजै प्राप्त गर्न सफल भएका छन् ।
विगतका अनुभवहरूलाई हेर्दा, असार १५ गते (राष्ट्रिय धान दिवस) को आसपासमा मलको माग अत्यधिक भई आपूर्ति प्रणाली नै प्रभावित हुने गर्दथ्यो । तर यस वर्ष त्यो अवस्था आएन । असारको सुरुमा दैनिक औसत ८७६.४५ मेट्रिकटन मल बिक्री भएकोमा असार १५ गते एकैदिन चार हजार ८७७.१५ मेट्रिकटन पुगेको थियो । विगतका कैयौँ वर्षको तुलनामा यो एकैदिनमा भएको सबैभन्दा ठूलो मात्राको वितरण हो ।
माग सँगसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा चुस्त राखिएकाले एकैदिन झण्डै पाँच हजार टन मल वितरण हुँदासमेत कतै पनि आपूर्ति शृङ्खला खल्बलिएन । कृषिका अधिकारीहरूका अनुसार यो सरकारी समन्वय र तयारीको स्पष्ट परिणाम हो । प्रेस तथा अनुसन्धान विज्ञ दाहाल भन्नुहुन्छ, “असार १५ गते एकैदिन करिब पाँच हजार मेट्रिकटन मल कुनै अवरोध विना किसानको हातमा पुग्नु आफैँमा सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जवाफदेहिताको बलियो प्रमाण हो ।” उहाँले आगामी दिनमा पनि मलको अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेको बताउनुभयो ।
यस वर्ष रासायनिक मलको सहज उपलब्धताका मुख्य कारणहरूमा समयमै बजेट सुनिश्चितता, वैदेशिक खरिद प्रक्रियाको पूर्वतयारी र जिल्ला–जिल्लामा रहेका डिपोहरूको निरन्तर निगरानी प्रमुख छन् । सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले कृषि क्षेत्रमा आवश्यक सहयोग, समन्वय तथा उत्साहलाई बाँकी यामहरूमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ ।
