४ असार, काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध आयाममा गहन छलफल भएको थियो ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र युएईबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै युएई नेपाली श्रमिकका लागि एक प्रमुख गन्तव्य, साथै व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार राष्ट्र रहेकोमा जोड दिए। उनले दुई देशबीच विद्यमान आर्थिक तथा विकास साझेदारीलाई थप सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । विशेषगरी, सभामुख अर्यालले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकका लागि प्रहरी प्रतिवेदन अनिवार्यरूपमा मागिने व्यवस्थालाई पुनरावलोकन गरी यसलाई थप सहज र सरलीकृत बनाउन अनुरोध गरे ।
सभामुख अर्यालले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, डिजिटाइज्ड तथा नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण कार्य अघि बढाइएको जानकारी गराए । साथै, उनले नेपाल लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै युएई भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न युएई सरकारलाई आग्रह गरे। नेपालको जलविद्युत क्षेत्रमा युएईको लगानीको सम्भावनातर्फ पनि उनले ध्यानाकर्षण गराए ।
हवाई सेवाको सम्बन्धमा, सभामुख अर्यालले आगामी सेप्टेम्बर २३ तारिखदेखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्न स्वीकृति प्राप्त भएकामा खुसी व्यक्त गरे । उनले यसले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । यसका साथै, सभामुखले दुबई–भैरहवा–दुबई उडान पुनःसञ्चालनको सम्भावनाबारे पनि विचार गर्न राजदूत अल शम्सीलाई आग्रह गरे ।
संसदीय सहकार्यलाई थप बलियो बनाउने उद्देश्यले प्रतिनिधिसभाको हालैको निर्णयअनुसार संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै सभामुख अर्यालले यस समूहले दुवै मुलुकका संसद्बीच भ्रमण, अनुभव आदान–प्रदान तथा संसदीय अभ्यासको साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
भेटका क्रममा राजदूत अल शम्सीले नेपाल–युएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन युएई सरकार सदैव सकारात्मक रहेको बताए । उनले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरको खोजी गरिने विश्वास व्यक्त गर्दै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने प्रतिबद्धता जनाए ।
