अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र रसुवा बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार मन्त्रालयमा पीडित परिवारसँग सामूहिक भेट गर्दै उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन हरेक सुखदुःखमा सँगै रहने दृढता व्यक्त गरे।
मन्त्री वाग्लेले राजस्व संकलनको महत्वपूर्ण जिम्मेवारीमा खटिएका सक्षम कर्मचारीहरूलाई अकल्पनीय विपत्तिले गुमाउनुपर्दा दुःख व्यक्त गरे। पूर्वसूचना र सतर्कता समेत अपनाउन नसकिने गरी आकस्मिक रूपमा आइपरेको यस विपत्तिले जनधनको ठूलो क्षति पुर्याएकोमा उनले दुःख प्रकट गरे। “तपाईंहरूलाई जत्तिकै पीडा हामीलाई पनि छ,” उनले परिवारका सदस्यहरूसँग भने, “हामीले हाम्रा काबिल भन्सार प्रशासनका सहकर्मीहरू गुमाएका छौँ। तपाईंहरूको पीडा अवर्णनीय भए पनि तपाईंहरू एक्लो हुनुहुन्न; सरकार तपाईंहरूको साथमा छ।”
अर्थमन्त्रीले परिवारका सदस्यहरूलाई आफ्ना समस्या र आवश्यकताहरू मन्त्रालय तथा सम्बन्धित विभागमा खुलस्त राख्न आग्रह गरे। मन्त्रालय र विभागले कानूनी आधारमा ती आवश्यकताहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने सुनिश्चितता दिए। भेटका क्रममा परिवारले प्रस्तुत गरेको प्राथमिक तहको मागपत्र बुझ्दै मन्त्री वाग्लेले त्यसलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
दिवंगत र बेपत्ता कर्मचारीका परिवारका सदस्यहरूको शिक्षा, भरणपोषण र रोजगारी मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे। उनले परिवारले व्यहोरेको अपूरणीय क्षतिपूर्ति कुनै कुराले गर्न नसके पनि उनीहरूको भविष्य सरल बनाउन उच्च प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कानूनी प्रक्रियाबाट तत्काल सम्बोधन हुने मागहरूलाई यथाशीघ्र अघि बढाउने र कानून संशोधन आवश्यक पर्ने विषयहरूमा अन्य मन्त्रालयहरूसँग समन्वय गरी पहल गर्ने मन्त्री वाग्लेले बताए। घटना दर्ता, बालबालिकालाई छात्रवृत्ति जस्ता विषयमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनले स्पष्ट पारे। बेपत्ताहरूको खोजी कार्य जारी रहेको र पीडित परिवारलाई सहजीकरण गर्न मन्त्रालय प्रशासनलाई विशेष कार्यदल गठन गर्न निर्देशन दिएको पनि उनले जानकारी गराए।
अर्थ मन्त्रालयमा १५ जना रसुवा भन्सार कार्यालयका कर्मचारीका परिवारका सदस्यहरूले अर्थमन्त्रीसमक्ष बाढीले परिवारको मूख्य आधार गुमाउनु परेको र बेपत्ता भएपछिको गहन शोक तथा पीडादायी भोगाइहरू भावुक हुँदै व्यक्त गरे।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवा भन्सार कार्यालयका १५ जना कर्मचारीलाई बगाएको थियो। बाढीमा बेपत्ता भई शव फेला परेका भन्सार अधिकृत नकुल शर्मासहित राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का रहेका छन्। बाँकी १४ जनाको खोजी कार्य जारी छ।
