तस्बिर स्रोत: Embassy of India in Israel
क्याप्शन: ‘अदम्य साहस’ देखाएको भन्दै भारत सरकारले पाइलट स्मित मच्छारको प्रशंसा गरेको छ।
बुधवार इजरेलतर्फ उडान भरिरहेको फ्लाइदुबईको एक विमानमा भएको धारिलो हतियार प्रहारको घटनामा घाइते भएका विमानचालक क्याप्टेन स्मित मच्छार भारतीय नागरिक रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। तेल अभिभतर्फ उडान भरिरहेको विमानमा अर्का विमानचालकले क्याप्टेन मच्छारमाथि हमला गरेपछि उक्त विमान साउदी अरबमा मोडिन बाध्य भएको थियो। रियादस्थित भारतीय राजदूतावासले क्याप्टेन मच्छारको अवस्था स्थिर रहेको जनाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले क्याप्टेन मच्छारलाई ‘वास्तविक नायक’ का रूपमा चित्रण गर्दै उनले ‘१७४ जनाको ज्यान जोगाएको’ र ‘मध्य आकाशमा एउटा भयङ्कर विपद्’ रोकेको बताएका छन्। आक्रमणपछि उपचारका लागि उनलाई उत्तर पश्चिम साउदी अरेबियाको ताबुक सहरमा अवस्थित अस्पतालमा लगिएको थियो।
क्याप्टेन स्मित मच्छार भारतको मुम्बई सहरमा हुर्किएका थिए। सन् २००८ मा उनले न्यूजील्यान्डको डनेडिनमा अवस्थित मेनल्यान्ड एअरको एभिएशन कलेजमा भर्ना भई पाइलटको तालिम लिएका थिए। तीन वर्षपछि उनी भारतीय एअरलाइन स्पाइसजेटमा व्यवसायीक पाइलटका रूपमा आबद्ध भए। सन् २०२२ मा अनुभवी पाइलटको हैसियतमा उनी फ्लाइदुबईमा सामेल भएका हुन्।
मेनल्यान्ड एअरका प्रमुख कार्यकारी फिलिप केनले क्याप्टेन मच्छारलाई सङ्कटका बेला पनि शान्त रहने व्यक्तिका रूपमा सम्झिएका छन्। उनले भने, “हामीले उनलाई आकस्मिक अवतरणका बारेमा तालिम दिएको थियौँ, यो अत्यन्तै दुर्लभ अवस्था होइन। उनले राम्रो गरे र एकदमै इमान्दारीपूर्वक काम गरे।” क्याप्टेन मच्छारसँग ९ हजार ७५० भन्दा बढी घण्टा उडानको अनुभव छ, जसमध्ये ६,४०० घण्टाभन्दा बढी उनले उडानको नेतृत्व गरेका छन्। स्पाइसजेटले एक विज्ञप्तिमा मच्छारलाई ‘असङ्ख्य जीवन जोगाएका’ एक ‘नायक’ भनेको छ।
अघिल्लो वर्ष एक पडकास्टमा क्याप्टेन मच्छारले उड्डयन आफ्नो बाल्यकालको सपना नभएको र १९ वर्षको उमेरमा व्यवस्थापनको पढाइ गर्दै परिवारको व्यवसाय सम्हाल्ने योजनामा रहेका बेला एउटा उड्डयन सेमिनारमा सहभागी भएपछि मात्र यस क्षेत्रमा रुचि बढेको बताएका थिए। उनले पाइलटको पोसाक पहिरिएपछि शत प्रतिशत काममा केन्द्रित रहने र अनुशासित रहने गरेको उल्लेख गरेका थिए। व्यक्तिगत जीवनको सन्तुलनले लामो समयसम्म उडान भर्न सघाउने उनको धारणा थियो। उनले विगतमा उडानका क्रममा एक यात्रुलाई समयअगावै प्रसव पीडा भएपछि चालक दलका सदस्यहरू मिलेर सुरक्षित रूपमा सन्तान जन्माउन सघाएको अनुभव पनि सुनाएका थिए। फ्लाइदुबईका घाइते पाइलटका रूपमा उनको परिचय सार्वजनिक भएपछि भारतीय सामाजिक सञ्जालमा उनको व्यापक प्रशंसा भइरहेको छ, जहाँ उनलाई ‘नायक’ भनिएको छ।
तस्बिर स्रोत: Getty Images
क्याप्शन: क्याप्टेन मच्छार सन् २०२२ मा फ्लाइ दुबईमा आवद्ध भएका थिए।
फ्लाइ दुबईको विमान एफजेड १०७३ युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट जीएमटी ३:०५ मा इजरेलको बेन गुरिअन विमानस्थलका लागि प्रस्थान गरेको थियो। उक्त विमानमा कम्तीमा १५० जना यात्रुहरू थिए, जसमध्ये नेतन्याहूले ‘लगभग सबै’ इजरेली भएको बताएका छन्। उडानहरूको ट्रयाकिङ् गर्ने वेबसाइट ‘फ्लाइटरेडार २४’ को तथ्याङ्क अनुसार, विमान उडान थालेको अढाई घण्टापछि साउदी अरेबियामा तीव्र गतिमा तल झरेको थियो, जहाँ दुई मिनेटभन्दा कम अवधिमा १७,००० फिटभन्दा धेरै तल खस्यो।
विमानले आपत्कालीन कोड पठाएपछि अपहरणको सङ्केत पनि दिएको थियो। जोर्डनको हवाई क्षेत्रमा छोटो समय प्रवेश गरी साउदी हवाई क्षेत्रमा फर्किएपछि मानवीय सहायतामा अवतरण थालेको थियो। प्रारम्भिक विवरणहरूमा इजरेली अधिकारीहरूले दुई जना पाइलटबीच ‘झगडा भएको’ उल्लेख गरेका थिए। तर, नेतन्याहूले एक जना पाइलटले अर्कालाई धारिलो हतियार प्रहार गरेको र त्यो ‘विमानलाई दुर्घटना गराउने प्रयास जस्तो देखिएको’ बताएका छन्। उनका अनुसार, इजरेली यात्रुले ‘विमान अनियन्त्रित भएको र स्वाट्टै तल झरेको’ बताएका थिए र एक यात्रु र चालक दलका अर्का सदस्य ककपीटभित्र प्रवेश गरी धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबूमा लिन सफल भएका थिए। उत्तर पश्चिम साउदी अरेबियाको ताबुक विमानस्थलमा उक्त विमानले ६:५८ मा अवतरण गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गम्भीर घाइते हुँदा पनि मच्छारले ‘अदम्य साहस देखाएको र अरूको जीवन रक्षाका लागि दृढ अठोट व्यक्त गरेको’ भन्दै प्रशंसा गरेका छन्। उनले मच्छारको साहसका कारण सयौँ व्यक्तिको ज्यान जोगिएको र एउटा ठूलो विपद् टरेको उल्लेख गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। भारतीय विदेशमन्त्री एस जयशङ्करले पनि पाइलटको ‘अभूतपूर्व साहस’ को प्रशंसा गर्दै ‘ठूलो खतरा सामुन्ने हुँदा पनि उनले उल्लेखनीय सुझबुझ देखाएको’ जनाए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि पाइलटलाई नराम्रोसँग चोट लाग्दा पनि आक्रमणको समयमा सुझबुझ देखाएको भन्दै उनको सराहना गरे। ट्रम्पले भने, “ककपिटको ढोका खोलिदिएर अचम्म पार्ने गरी उनी नायक बने। आफू पछाडि ढल्दै गए पनि उनले ढोका खोल्न सके।”
