अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुल २६ ट्रिलियन डलरभन्दा बढी बजार पुँजीकरण भएका विश्वका प्रमुख प्रविधि कम्पनीका उच्च अधिकारीहरूसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई ‘आत्मनियमन’ गर्ने महत्त्वपूर्ण सम्झौता गरेका छन्। एआईको तीव्र विकाससँगै यसबाट उत्पन्न हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्न थप सुरक्षा व्यवस्था र नियमनको आवश्यकतामाथि विश्वव्यापी बहस चलिरहेका बेला यो सहमति भएको हो।
ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित एक बैठकपछि यो सम्झौताको घोषणा गरेका हुन्। उक्त बैठकमा ओपनएआईका ग्रेग ब्रोकम्यान, एन्थ्रोपिकका डारियो अमोदेई, मेटाका मार्क जुकरबर्ग, गुगलका सुन्दर पिचाई, एनभिडियाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस र स्पेसएक्सका एलन मस्कलगायत प्रमुख प्रविधि कम्पनीका कार्यकारी प्रमुखहरू सहभागी थिए। यसका साथै पालान्टिर, माइक्रोसफ्ट, एएमडी, ब्रोडकम, एक्स, टेस्ला, अल्फाबेट, माइक्रोन, सर्भिसनाउ र पालो अल्टोलगायतका कम्पनीका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
सम्झौताअनुसार सहभागी कम्पनीहरूले आफ्ना एआई प्रणालीमा ‘बलियो आन्तरिक नियन्त्रण’ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यी नियन्त्रणहरू प्रभावकारी छन् वा छैनन् भनी सुनिश्चित गर्न स्वतन्त्र बाह्य लेखापरीक्षकसँग काम गर्ने र त्यसको समीक्षाका लागि कम्पनीका सञ्चालक समितिमा छुट्टै समिति गठन गरिनेछ। कम्पनीहरूले आफ्ना एआई उपकरणहरूले ‘अनावश्यक तरिकाले प्राविधिक प्रणालीमा प्रवेश वा ह्याक नगरुन्’ भन्ने सुनिश्चित गर्न विशेष काम गर्ने बताएका छन्। यसका साथै, भविष्यमा यस्ता व्यवस्थालाई कानुन र नियममा समेट्न सकिने सम्झौतामा उल्लेख छ।
ह्वाइट हाउसले एआई कम्पनीहरूले आफ्ना प्रणालीको सुरक्षाका लागि पर्याप्त काम नगरेको भन्दै आलोचना भइरहेका बेला यो सम्झौता गरिएको हो। विशेषगरी ओपनएआई र एन्थ्रोपिकका एआई प्रणाली अन्य कम्पनीका प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरेको घटनाहरू बाहिरिएपछि एआई सुरक्षासम्बन्धी चिन्ता अझ बढेको थियो। एक हालैको सर्वेक्षणमा करिब ७३ प्रतिशत मानिसहरूले एआई कम्पनीहरूले समाजमा गम्भीर क्षति हुन नदिन पर्याप्त काम नगरेकोमा चिन्ता व्यक्त गरेका थिए, जबकि ५५ प्रतिशतले एआईको विकास केही सुस्त बनाउनु राम्रो हुने बताएका थिए।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस सम्झौतालाई ‘लगभग संविधानजस्तै’ भएको संज्ञा दिए। उनले भने, ‘म ठूलो आत्मनिरीक्षण देखिरहेको छु। उनीहरूले आत्मनिरीक्षण गर्नुपर्छ भन्ने बुझेका छन्।’ उनले एआईको सुरक्षाको निगरानीका लागि १० सदस्यीय बोर्ड गठन गर्ने विषयमा पनि सोचिरहेको र एआई नीतिको नेतृत्व गर्न चाँडै नयाँ अधिकारी नियुक्त गर्ने जानकारी दिएका छन्। ट्रम्पले एआई मोडेल सञ्चालन गर्न आवश्यक डेटा सेन्टर विस्तारको समर्थनसमेत दोहोर्याए। यद्यपि, विद्युत्को माग, ऊर्जा लागत र स्थानीय प्रभावका कारण अमेरिकाका विभिन्न समुदायमा डेटा सेन्टर निर्माणको विरोध हुँदै आएको छ।
यसैबिच, मंगलबार ट्रम्पले सरकारी निकायलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन्। उनले अमेरिका एआई विकासमा चीनभन्दा अगाडि रहेको र यो प्रतिस्पर्धामा अमेरिका नेतृत्वमा रहने दाबी पनि गरे। तर, एआई विज्ञ जेफ्री हिन्टनले भने ट्रम्पको एआईसम्बन्धी बुझाइमा प्रश्न उठाएका छन्। ट्रम्पको घोषणा हुनुअघि उनले भनेका थिए, ‘मलाई लाग्छ डोनाल्ड ट्रम्पले वास्तवमा एआई बुझ्दैनन् र उनी एआईका विषयमा गलत सल्लाह दिइरहेका छन्।’ हिन्टनले एआई सुरक्षाको निगरानी खाद्य तथा औषधि प्रशासन (एफडीए) जस्तै सरकारी निकायमार्फत हुनुपर्नेमा जोड दिएका छन्। उनले एआईबाट उत्पन्न हुन सक्ने जोखिमलाई घरमा बाघको बच्चा पाल्नुसँग तुलना गर्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

