धनुषा, फागुन २ । २५ वर्षीया रुवीकुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसदका रूपमा संघीय संसद्मा प्रवेश गरेकी छिन्। हर्क साम्पाङले धनुषामा चुनावी अभियान चलाउनुअघिसम्म रुवीकुमारी ठाकुर श्रम संस्कृति पार्टीमा आबद्ध थिइनन्। तर, साम्पाङसँगको पहिलो भेटपछि उनले माटोलाई भोट माग्दै मतदाताको घरदैलोसम्म पुगेर सक्रिय राजनीतिक यात्रा सुरु गरिन्। उनको सांसद यात्रालाई उनी आफैंले अप्रत्याशित भनेकी छिन्। उनी भन्छिन्, “म सामान्य मान्छे। तर सधैँ श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङको भिडियो हेर्थें र देशका लागि यस्तो मान्छे चाहिन्छ भन्ने लागेर समर्थक बन्न पुगें। सांसद बन्नु मेरा लागि ‘सरप्राइज’ नै हो।”
रुवीले मधेश प्रदेशमा व्याप्त दहेज प्रथा, बालविवाह र बेरोजगारीका समस्यालाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनी भन्छिन्, “दहेज प्रथा मात्र होइन, मधेशमा बालविवाहको समस्या पनि छ। बेरोजगारी समस्या पनि उत्तिकै छ। यिनै विषयलाई मुद्दा बनाएर संसद्मा सशक्त रूपमा प्रस्तुत हुन्छु।”
सांसदको जिम्मेवारीमा आउनुअघि रुवीले स्थानीय बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन पूरा गरेकी थिइन्। त्यसपछि करिब सात महिनादेखि धनुषाकै एक कन्सल्टेन्सीमा मासिक २० हजार रुपैयाँ तलबमा कार्यरत थिइन्। श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएपछि धरानस्थित पार्टी मुख्यालयमा पहिलो पटक आएका बेला उनले आफू थोरै नर्भस र धेरै उत्साहित भएको अनलाइनखबरसँगको कुराकानीमा बताएकी थिइन्। धनुषाको मझेलियाकी स्थायी बासिन्दा भए पनि उनी यसअघि कुनै पनि मधेशवादी दल, एमाले, कांग्रेस, नेकपा वा रास्वपामा आवद्ध भइनन्। श्रम संस्कृति पार्टीले विश्वास गरेपछि नै उनी खुला राजनीतिमा होमिएकी हुन्।
रुवीको पारिवारिक पृष्ठभूमि सामान्य छ। उनका बुबा सोगराथ ठाकुर हाल साउदी अरबमा वैदेशिक रोजगारीमा छन्, जो पहिले कपाल काट्ने पेसामा संलग्न थिए। उनकी आमा रेणु ठाकुर गृहिणी हुन्। परिवारमा रुवीसहित चार बहिनी र दुई भाइ छन्। एक कट्ठा जमिनमा बसोबास गर्दै जीविका चलाउन उनीहरूले अर्काको दुई बिघा जमिन बटैया (अधिया) मा कमाउँछन्। बुबाले मासिक १५/२० हजार रुपैयाँ घर खर्च पठाउने र रुवीले पनि २० हजार रुपैयाँ कमाउने गरेकी थिइन्। अब भने उनको ध्यान व्यक्तिगत समस्याभन्दा बढी जनताका समस्याहरू समाधानमा केन्द्रित हुनेछ।
आफ्नो शिक्षालाई निरन्तरता दिँदै रुवीले डिप्लोमा इन्जिनियरिङ पछि अब बीई (ब्याचलर इन्जिनियरिङ) गर्ने योजना बनाएकी छिन्। सांसदको जिम्मेवारी सम्हाल्दै उमेर छँदै समय मिलाएर बीई गर्ने सोच बनाएको उनले बताइन्। रुवी भन्छिन्, “राजनीतिक यात्रामा सांसद हुनु देश र जनताका लागि अवसर हो भने ब्याचलर इन्जिनियरिङ मेरो परिवार र जीविकाका लागि काम लाग्छ भनेर इन्जिनियरिङ अध्ययनलाई निरन्तरता दिन चाहेकी छु।” जेनजी उमेरमै सांसद बन्ने अवसर पाएकी रुवी अविवाहित हुन्। विवाहको प्रसंगमा उनले भनिन्, “पाँच वर्ष संसद्लाई दिन्छु। समय मिलाएर इन्जिनियरिङको थप अध्ययन गर्छु। त्यसपछि विवाहबारे सोचौंला।”
