आगामी बिहीबार हुने निर्वाचनको पूर्वसन्ध्यामा नेपालको सुरक्षा संयन्त्रले चुनावमा अवरोध पुर्याउन सक्ने सम्भावित व्यक्ति र समूहमाथि सूक्ष्म निगरानी बढाएको जनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार, शान्तिपूर्ण तथा भयरहित निर्वाचन सम्पन्न गराउनका लागि देशभर सुरक्षा सतर्कता बढाइएको छ।

तस्बिर स्रोत, RSS
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार, आइतवार साँझसम्म विभिन्न ‘चुनाव विरोधी गतिविधि’ मा संलग्न रहेको आरोपमा कुल १३३ जना पक्राउ परेका थिए, जसमध्ये ६३ जना रिहा भइसकेका छन् भने बाँकी ७० जना अझै हिरासतमा छन्। आइतवारमात्रै सुनसरी, मोरङ, कास्की, भक्तपुर र काठमाण्डू गरी पाँच जिल्लाबाट थप ९ जना पक्राउ परेका थिए।
पक्राउ पर्नेहरूमध्ये भक्तपुरबाट राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि छन्। उनलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ। प्रहरी प्रवक्ता काफ्लेका अनुसार, प्रसाईंले सार्वजनिक शान्ति र निर्वाचन विरुद्ध संविधान तथा कानुन विपरीतका अभिव्यक्ति दिएकाले उनलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। यसअघि पनि प्रसाईं निर्वाचन आचारसंहिता र विद्युतीय कारोबार सम्बन्धी कसुरमा पटक-पटक पक्राउ पर्दै आएका थिए।
प्रत्येक पटक अदालतबाट रिहा हुँदै आएका प्रसाईंले यसपटक मतदानको दिनलाई लक्षित गर्दै विरोध कार्यक्रम घोषणा गरेका थिए। उनको सचिवालयले भने सरकारी कदमले प्रसाईंको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रूपमा विचार राख्न पाउने अधिकारलाई कुण्ठित गरेको भन्दै विज्ञप्ति जारी गरेको छ। प्रहरीले मतदानको समय नजिकिँदै गर्दा निर्वाचन विरोधी सम्भावित समूह र व्यक्तिमाथि प्रभावकारी प्रहरी परिचालन, स्रोत साधनको व्यवस्थापन, सूचना संकलन र सामाजिक सञ्जालको निगरानी बढाइएको जनाएको छ।

तस्बिर स्रोत, Nepal Police
गृहमन्त्रालयका अधिकारीहरूले निर्वाचन सम्बन्धी एकीकृत सुरक्षा रणनीतिले परिकल्पना गरे अनुसार ‘शान्ति सुव्यवस्था’ को अवस्था सन्तोषजनक रहेको बताएका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेले सुरक्षा निकायले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आफूलाई केन्द्रित गरेको जानकारी दिए। उनले जिल्लाहरूमा प्रत्यक्ष अनुगमन र रिपोर्टिङ अनुसार सुरक्षा तैनाथी, बन्दोबस्ती र परिचालन केन्द्रीय नीति अनुसार नै भइरहेको उल्लेख गरे।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले झन्डै ७७,००० प्रहरी र एक लाख ३४,००० निर्वाचन प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरी बलले आफ्नो ३५,००० जनशक्ति र १५,००० निर्वाचन प्रहरी खटाएको छ। त्यसबाहेक नेपाली सेनाले पनि ७९ हजार ७०० जनशक्ति निर्वाचन सुरक्षामा परिचालन गरेको छ।

तस्बिर स्रोत, MOHA
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न पृतना तथा ब्यारेकहरूमा पुगेर चुनावी सुरक्षाबारे सैनिक अधिकारीहरूलाई निर्देशन दिएका थिए। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, निर्वाचनमा नेपाली सेनाले मतदानको समयमा तेस्रो घेरामा बसेर सुरक्षा प्रदान गर्छ। मतदान समापनपश्चात् मतपेटिकाहरूलाई निर्वाचन प्रोटोकल अनुसार मतदान केन्द्रसम्म ल्याउने र मतगणना चलिरहँदासम्म मतगणना केन्द्रको बाहिरी घेरामा सुरक्षा दिने काम सेनाले गर्छ।

तस्बिर स्रोत, RSS
अधिकारीहरूले अहिलेको निर्वाचन सुरक्षा सम्बन्धी प्रोटोकल विक्रम सम्वत् २०४८ साल यताकै जस्तो रहेको र त्यसले नै नेपाली सेनाको भूमिका तय गरेको उल्लेख गरेका छन्। यस पटक पनि मतपत्र छपाई हुने स्थानमा नेपाली सेना खटिएको थियो। सेनाले यसबीचमा सशस्त्र प्रहरी बलले सुरक्षा दिइरहेका ११५ वटा स्थानको सुरक्षाको जिम्मा लिई सशस्त्र प्रहरी बललाई निर्वाचनमा तैनाथ हुन सहजीकरण गरिदिएको छ।
गृहमन्त्रालयले बिहीबारको निर्वाचनलाई लक्षित गर्दै फाल्गुन २० गतेदेखि तीन दिन सार्वजनिक बिदा दिएको छ। निर्वाचनमा मत खसाल्न घर जाने यात्रुहरूलाई लक्षित गरी मुख्य राजमार्गहरूमा पनि सुरक्षा चेकपोस्टहरू स्थापना गरिएको प्रहरी अधिकारीहरूले बताएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायहरू समन्वयमा सक्रिय रहेका छन्।
