१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आसन्न निर्वाचनमा मतदाताहरूलाई कुनै पनि प्रकारको अतिवादलाई अस्वीकार गरी संयमित र समन्वयकारी राजनीतिको पक्षमा उभिन आह्वान गरेका छन् । उनले यस निर्वाचनलाई नेपालको भावी दिशा निर्धारण गर्ने महत्त्वपूर्ण जनमत संग्रहको रूपमा चित्रण गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले मुलुक अहिले गम्भीर मोडमा उभिएको बताए । उनका अनुसार यो निर्वाचनले नेपाललाई स्थिरता, शान्ति, र लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनको बाटोमा डोऱ्याउनेछ वा अस्थिरता तथा थप संकटको दलदलमा फसाउनेछ भन्ने निर्णायक फैसला गर्नेछ । उनले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरी देशको भविष्यका लागि दीर्घकालीन हितमा आधारित निर्णय लिन आग्रह गरे ।
पौडेलले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै नेपालमा अतिवादलाई कहिल्यै संस्थागत हुन नदिएको र सधैं लोकतन्त्रको पैरवी गर्दै नागरिकका हक अधिकारका लागि अथक संघर्ष गर्दै आएको ऐतिहासिक भूमिकाको स्मरण गराए । उनले कांग्रेसले निरंकुशता, अधिनायकवाद र अतिवादी सोचविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएको बताउँदै, वर्तमान निर्वाचनमा पनि सोही अडान कायम रहने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री पौडेलले कांग्रेसले सधैं समाजका सबै वर्ग, समुदाय र विचारलाई समेटेर अघि बढ्ने समावेशी राजनीतिको वकालत गर्दै आएको र यसैबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘यो निर्वाचनले नेपाललाई अब स्थिरताको बाटोतिर लाने कि, दिगो शान्ति स्थापना गर्ने कि, वि.सं. २०७२ मा जारी भएको लोकतान्त्रिक संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटोतिर जाने कि, अथवा फेरि पनि अस्थिरता र अझ बढी संकटतिर धकेलिने भन्ने कुराको स्पष्ट संकेत दिनेछ । यो निर्वाचनमा अतिवादी सोचलाई अनुमोदन गर्ने हो कि सबैलाई समन्वय गरेर अतिवादको बाटो होइन, सहमति र समन्वयकारी बाटोबाट देशलाई अगाडि बढाउने पक्षको अनुमोदन हुने हो भन्ने कुराको निर्णय यही निर्वाचनले गर्नेछ ।’ पौडेलले मतदाताहरूले भविष्यको नेपाल कस्तो बनाउने भन्ने प्रश्नको जवाफ मतदानमार्फत दिनुपर्नेमा जोड दिए ।
महामन्त्री पौडेलले पछिल्लो समय युवा पुस्ताले देशव्यापी रूपमा गरेको ‘जेन-जी’ आन्दोलनले मुलुकको राजनीतिक र सामाजिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन ल्याएको स्वीकार गरे । उनले नेपाली कांग्रेसले उक्त आन्दोलनका सकारात्मक पक्षहरूलाई आत्मसात गरेको र युवाहरूको आवाजलाई गम्भीरतापूर्वक लिएको बताए । ‘यो निर्वाचन विशिष्ट परिस्थितिमा सम्पन्न हुन लागेको छ,’ उनले थपे, ‘वि.सं. भदौ २३ गतेको जेन-जी आन्दोलनपछि मुलुकमा धेरै कुराहरू परिवर्तन भए । हामी आफैंले स्वीकार गरेका छौं कि नेपालको इतिहासमा परिवर्तनकारी आन्दोलनको नेतृत्व सधैंभरि नेपाली कांग्रेसले गर्यो, तर भदौ २३ गते नेपाली कांग्रेसप्रति पनि जेन-जी आन्दोलनले खबरदारी गरेको कुरा हामीले विनम्रतापूर्वक स्वीकार गरेका छौं ।’ उनले युवा पुस्ताको सक्रियताले राजनीतिमा नयाँ ऊर्जा थपेको र कांग्रेसले उनीहरूका जायज मागलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए । पौडेलले युवाहरूको चेतना र खबरदारीले राजनीतिक दलहरूलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उल्लेख गर्दै, कांग्रेसले आगामी दिनमा युवाहरूको भावना र आकांक्षालाई समेटेर अगाडि बढ्ने रणनीति बनाएको स्पष्ट पारे ।
उनले अन्तमा, मतदाताहरूलाई आफ्नो मतको शक्ति बुझ्न र नेपालको उज्ज्वल भविष्यका लागि सन्तुलित, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई विजय गराउन आह्वान गर्दै, आफ्नो उम्मेदवारी काठमाडौं क्षेत्र नम्बर ५ को विकास र समृद्धिको लागि भएको समेत जानकारी गराए ।
