तस्बिरको क्याप्शन: यूएई सरकारले आफ्ना नागरिक, आफ्नो देशमा बसोबास गर्ने अन्य व्यक्ति र आगन्तुकहरूको सुरक्षालाई उच्च प्राथमिकता राखिएको बताएको छ
तस्बिर स्रोत: Reuters
संयुक्त अरब एमिरेट्स (यूएई) मा इरानले प्रहार गरेका ड्रोन आक्रमणका कारण एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। मध्यपूर्वमा जारी तनावका बीच भएको यो घटनाले यस क्षेत्रमा कार्यरत लाखौं आप्रवासी कामदारहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
यूएईको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, इरानी ड्रोन आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना नागरिकले ज्यान गुमाएका हुन्। कुल ५४१ वटा ड्रोनमध्ये ५०६ वटालाई आकाशमै निष्क्रिय पारिएको थियो भने ३५ वटा जमिनमा खसेका थिए। यस घटनामा विभिन्न देशका ५८ जना व्यक्तिहरू सामान्य घाइते भएको पनि मन्त्रालयले जनाएको छ। यूएईमा नेपालीसहित दक्षिण एसियाली मुलुकका ठूलो संख्यामा कामदारहरू वैदेशिक रोजगारीका लागि पुगेका छन्।
मृत्यु भएका नेपाली नागरिकको परिचय हालसम्म खुल्न सकेको छैन। उनी वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रहेको अनुमान छ।
यूएईका अनुसार, इरानले आक्रमण थालेयता सोमबार साँझसम्म यूएईलाई निशाना बनाएर १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, दुईवटा क्रुज क्षेप्यास्त्र र थुप्रै इरानी ड्रोन प्रहार गरिसकेको छ। यूएईको वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले तीमध्ये केहीलाई निष्क्रिय पारेको जनाइएको छ।
यो हमला अमेरिका र इजरायलले इरानमाथि शनिबार गरेको आक्रमणको जवाफमा इरानले इजरायलसहित मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविर र अमेरिकाका साझेदार राष्ट्रहरूमाथि गरेको प्रतिशोध स्वरूप आएको हो। तेहरानमा भएको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित केही वरिष्ठ अधिकारीहरूको मृत्यु भएपछि इरानले बदला लिने घोषणा गरेको थियो।
यूएईको रक्षा मन्त्रालयले देशमाथि आउन सक्ने जुनसुकै खतराको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको बताउँदै आफ्ना नागरिक, त्यहाँ बसोबास गर्ने अन्य व्यक्ति र आगन्तुकहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको र यसमा कुनै सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरेको छ।
मध्यपूर्वमा रहेका नेपालीलाई सरकारको सुझाव
नेपालमा पनि मध्यपूर्वको विकसित घटनाक्रम र त्यहाँ कार्यरत नेपाली नागरिकहरूको अवस्थाबारे आइतबार मन्त्रिपरिषद्को बैठकमा छलफल भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले बताएका छन्। उनले “नेपाली नागरिकलाई परेको असर र त्यसको समाधानबारे विस्तृत छलफल भएको” पत्रकारहरूलाई जानकारी दिए।
यसअघि, परराष्ट्र मन्त्रालयले मध्यपूर्वको बदलिँदो परिस्थितिबारे शनिबार नै उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूका लागि ‘एडभाइजरी’ जारी गरेको थियो। मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन तथा अन्य देशमा रहेका नेपालीहरूलाई पनि स्थानीय निकायले जारी गरेका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ।
आवश्यकता परेमा वा कुनै असहज परिस्थिति आइपरेमा तल उल्लिखित सम्पर्क माध्यमहरूबाट सहयोगका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ:
काठमाडौँस्थित परराष्ट्र मन्त्रालय
फोनः +९७७-९८६२६७८४३७
इमेलः waa@mofa.gov.np
तेल अभिभस्थित नेपाली दूतावास
फोनः +९७२-५४५५८२०७७
इमेलः telaviv@nepalembassyil.com
दोहास्थित नेपाली दूतावास
फोनः +९७४-६६२१४४१९
इमेलः eondoha@mofa.gov.np
