तस्बिर स्रोत, EPA/Shutterstock
तस्बिरको क्याप्शन, तेहरानको आजादी स्क्वाएरमा प्रदर्शनमा राखिएको क्षेप्यास्त्र
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गरिने भनिएको आक्रमण “तीव्र सम्झौता” को शर्तमा रद्द गरेको घोषणा गरेका छन्। उनले यस्तो सम्झौतामा होर्मुज जलमार्ग तत्काल खोल्ने र इरानको परमाणु खतरा अन्त्य गर्ने विषय रहने बताएका छन्। यो निर्णय इजरायलको समन्वयमा भएको ट्रम्पको भनाइ छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानसँग “द्रुत गतिमा सम्झौता हुन सक्ने” भएपछि आक्रमण रोकिएको स्पष्ट पारेका हुन्। उनले अमेरिका “इस्लामिक गणतन्त्र इरानका विरुद्ध दोस्रो विश्वयुद्ध यता नदेखिएको स्तरको सैन्य आतङ्क, बल र शक्तिका साथ उत्रन तम्तयार रहेको” उल्लेख गरेका थिए। तर, इरान र मध्यपूर्वका अन्य देशहरूले सम्झौताका निम्ति आक्रमण स्थगन गर्न अनुरोध गरेकाले ती आक्रमण अहिले रद्द गरिएको उनले बताए। ट्रम्पले सम्झौताका “परिधिहरूमा सहमति भएको” सङ्केत गर्दै वार्तामा प्रगति भइरहेको जनाएका छन्।
इरानको चेतावनी
अमेरिकी सञ्चारमाध्यमहरूले वाशिङ्टनले तेहरानविरुद्ध सप्ताहान्तमा ताजा तथा थप भीषण आक्रमणका योजना बनाइरहेको विवरण सार्वजनिक गरिरहेका बेला ट्रम्पको यो भनाइ आएको हो। यसअघि इरानले अमेरिकाले तनाव चर्काइरहेको आरोप लगाएको थियो। इरानले वाशिङ्टनलाई सहयोग गर्ने उक्त क्षेत्रका कुनै पनि देश “युद्धको आगोको लप्कामा पर्ने” कडा चेतावनी दिएको थियो, जसले मध्यपूर्वमा थप अस्थिरताको जोखिम बढाएको थियो।
कस्तो थियो आक्रमण योजना?
आक्रमण रद्द गर्ने ट्रम्पको घोषणाबारे इरानले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकी सरकारले यसअघि मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सजगता अपनाउन तथा “तनाव चर्किए” सो क्षेत्र छाड्न तयार रहन निर्देशन दिएको थियो। शनिवार जारी गरिएको सुरक्षा सावधानीमा उडान रद्द हुने, हवाई क्षेत्र निषेध गरिने तथा यात्रामा अवरोधका निम्ति तयार रहन भनिएको थियो।
तस्बिर स्रोत, Reuters
कैयन् सूत्रहरूले बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएसलाई अमेरिका र इजरायलले इरानको ऊर्जा संरचनाहरूविरुद्ध हालसम्मकै कठोर बमबारी अभियान चलाउने योजना बनाइरहेको जानकारी दिएका थिए। ती योजनाहरू ट्रम्पको क्याबिनेट बैठकमा पनि उठेको थियो, जहाँ ट्रम्पले पत्रकारहरूसामू “हामी तिन (इरानी) लाई कठोरतापूर्वक आक्रमण गर्ने छौँ। कुनै विन्दुमा पुगेपछि तिनले ‘अब पुग्यो’ भन्ने छन्” भनी उल्लेख गरेको सुनिएको थियो। एक्सिअसका अनुसार साउदी राजकुमार मोहम्मद बिन सलमानले शनिवार ट्रम्पसँग फोन संवादमा सम्भावित आक्रमणबारे “चिन्ता प्रकट” गरेका थिए।
आक्रमण-प्रत्याक्रमण
वाशिङ्टन र तेहरानबीच एप्रिलमा भएको युद्धविराम सम्झौता जुनमा भङ्ग भएपछि दुई देशबीच तीव्र आक्रमण-प्रत्याक्रमण भइरहेको छ। यो साताको सुरुमा अमेरिकाले इरानका विरुद्ध थालिएका बमबारीका “सघन लहर” पूर्ण भएको बताएको थियो, जसमा इरानी बन्दरगाहहरू विरुद्ध सामुद्रिक नाकाबन्दी र इरानी क्षेत्रहरूमा बमबारी समावेश थियो। अमेरिकाले आफ्ना सैन्य अखडाहरूमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने इरानी प्रयासहरूको पनि निन्दा गरेको थियो। यसको जवाफमा, इरानले मध्यपूर्वभरि रहेका अमेरिकी केन्द्रहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्नुका साथै होर्मुज जलमार्गमा पानीजहाजहरूलाई निसाना बनाइरहेको छ। अमेरिका र इजरायलले इरानविरुद्ध फेब्रुअरी २८ मा आक्रमण थालेयता विश्व बजारमा तेलको भाउमा ठूलो उतारचढाव आइरहेको छ, जसले यस क्षेत्रीय तनावको विश्वव्यापी आर्थिक प्रभावलाई उजागर गरेको छ।
