राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारका विभिन्न निकायमार्फत आवश्यक पहल गर्ने बताएका छन्। सोमबार तातोपानी नाका खुलाउने विषयमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पराजुलीले नाका सञ्चालनका लागि चीनसँग एक साझा राष्ट्रिय अवधारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
सांसद पराजुलीका अनुसार, २०४७ सालको राजनीतिक परिवर्तनपश्चात् तातोपानी नाकाले विगतका सरकारबाट पर्याप्त प्राथमिकता नपाउँदा यसको महत्त्व क्रमशः ओझेलमा परेको हो। उनले भने, ‘२०४७ सालको राजनीतिक परिवर्तनपछि तातोपानीको आवाज ओझेलमा पर्दै आयो। विगतका सरकारले कुनै न कुनै कारणले आफ्ना कुराहरू छोड्दै जाँदा हामी ओझेलमा पर्यौँ भन्ने हाम्रो विश्लेषण हो।’
पराजुलीले चीनले खासा क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गरिरहेकोले चीनले तातोपानीलाई प्राथमिकता नदिएको भन्ने बुझाइमा पुनर्विचार आवश्यक रहेको बताए। नेपालले पनि आफ्नोतर्फका संरचनाहरू व्यवस्थित गर्न नसकेको अवस्थामा चीनलाई मात्रै दोष दिनु उचित नहुने उनको भनाइ थियो। उनले स्पष्ट पारे, ‘चिनियाँ सरकारले खासामा त्यत्रा संरचनाहरू बनाउँदै गरेको हामीले देखेका छौँ। हामीले चीनलाई विश्वास दिलाउन सक्यौँ, साझा अवधारणा बनाउन सक्यौँ र नाकालाई पछि पार्नुपर्ने कुनै कारण छैन भनेर बुझाउन सक्यौँ भने यो नाका पूर्ववत् रूपमा सञ्चालन हुन्छ भन्ने मेरो विश्वास छ।’
तातोपानी नाका सञ्चालनमा आउँदा ढुवानी खर्च घट्ने र उपभोक्ताले सस्तो मूल्यमा सामान प्राप्त गर्न सक्ने आर्थिक लाभबारे उनले प्रकाश पारे। अन्य नाकाबाट सामान ल्याउँदा लामो दूरी र बढी खर्च लाग्ने भएकाले तातोपानी नाकाको सञ्चालन आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको उनको तर्क थियो। पराजुलीले उदाहरण दिँदै भने, ‘यहाँबाट ११४ किलोमिटरको नाका छ, जहाँबाट सामान ल्याउन सकिन्छ। तर ५०० किलोमिटर टाढाबाट सामान ल्याउनुपर्ने अवस्था छ। एक कन्टेनर सामान ल्याउन ६ लाख रुपैयाँ तिर्ने कि ५० हजार रुपैयाँ तिर्ने? राज्यले मूल्य नियन्त्रण गर्न र सर्वसाधारणलाई सुलभ मूल्यमा सामान उपलब्ध गराउन पनि यो बाटो सञ्चालन हुनुपर्छ।’
उनले तातोपानी नाकाले अहिलेसम्म झन्डै चार खर्ब रुपैयाँ बराबरको योगदान गरेको उल्लेख गर्दै यस्तो महत्त्वपूर्ण नाकाको पूर्वाधार विकासमा पर्याप्त लगानी हुनुपर्नेमा जोड दिए। ‘यो नाकाले हामीलाई अहिलेसम्म झन्डै चार खर्बजति दिएको छ। त्यसलाई चार खर्ब दिने नाकालाई कम्तीमा पाँचदेखि सात अर्ब रुपैयाँ त दिनुहोस् न भनेर मैले पटक–पटक भनेको छु,’ उनले भने।
पराजुलीले नाका सञ्चालनका लागि सडक, पुल, पहिरो नियन्त्रण, भन्सार र सुरक्षा निकायका संरचना व्यवस्थित बनाउनुपर्ने बताए। नाका खोल्ने विषयमा मात्रै छलफल गरेर नहुने भन्दै पहिले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको जोड थियो। उनले थपे, ‘नाका सञ्चालनको कुरा गर्नुभन्दा पहिले बाटो, पुल र आवश्यक पूर्वाधार निर्माणमा हाम्रो प्राथमिकता जानुपर्छ।’
उनले समयमै काम नगर्ने निर्माण व्यवसायीलाई हटाउनुपर्ने र काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। बाह्रबिसेदेखि धुलिखेलसम्मको सडक खण्डको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने योजना रहेको पनि उनले जानकारी दिए। अन्तमा, सांसद पराजुलीले तातोपानी नाका खुलाउने विषयमा सञ्चारमाध्यमले राष्ट्रिय स्तरमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए।
