भरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी, उत्पादन लागतमा भएको अनपेक्षित वृद्धि र किसानहरूमा परेको चरम आर्थिक भारलाई दृष्टिगत गर्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन सरकारसँग सशक्त माग गरेको छ। संघले हाल किसानले प्रतिलिटर ६५ रुपियाँमा बिक्री गर्दै आएको कच्चा दुधको मूल्य तत्काल वृद्धि गरी ७५ रुपियाँ पुर्याउनुपर्नेमा जोड दिएको छ। यदि यस मागलाई सरकारले बेवास्ता गरेमा देशभरका दुग्ध किसानहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत संघले दिएको छ।
आज सोमबार चितवनमा आयोजित एक पत्रकार सम्मेलनमा संघका अध्यक्ष किशोर वगालेले दुग्ध किसानहरू लामो समयदेखि चरम मारमा परेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, विद्यमान अवस्थामा विश्वव्यापी रूपमा बढेको मुद्रास्फीति, देशमा सेवा शुल्कमा भएको वृद्धि, स्वास्थ्य, शिक्षा, खाद्यान्न तथा पशु आहारको मनपरी मूल्यवृद्धिका साथै नेपाल सरकारले आफ्ना कर्मचारीको तलब वृद्धि र कर प्रणालीमा गरेको व्यापक वृद्धिका कारण किसानहरू अत्यन्त मर्कामा परेका छन्। उत्पादन लागत निरन्तर बढ्दै गए पनि उत्पादनको उचित मूल्य नपाउँदा किसानहरूको जीवनयापन कष्टकर बन्दै गएको उहाँको भनाइ छ।
अध्यक्ष वगालेले स्पष्ट पार्दै भन्नुभयो, “बजारमा इन्धनदेखि लिएर कृषि उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्रीको मूल्य आकाशिएको छ। त्यसमाथि हामी किसानले आफ्ना गाईभैँसीलाई खुवाउने दाना, पराल र अन्य आहारको मूल्यपनि व्यापक बढेको अवस्था छ। किसानको यो गम्भीर मर्कालाई सरकारले बुझिदिनुपर्छ र तत्काल सम्बोधनका लागि पहल गर्नुपर्छ।” उहाँले सरकारले किसानका गुनासालाई सधैँ बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो।
चितवन जिल्ला देशभरमै सबैभन्दा बढी दुध उत्पादन गर्ने जिल्लाका रूपमा परिचित छ। यस जिल्लाबाट दैनिक करिब ३ लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित कुल दूधको ५५ प्रतिशत हिस्सा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुरलगायतका प्रमुख शहरहरूमा आपूर्ति हुने गरेको छ। यसरी देशको ठूलो जनसंख्यालाई दुध आपूर्ति गर्ने यस जिल्लाका किसानहरू नै सबैभन्दा बढी मारमा परेको अध्यक्ष वगालेको तर्क छ। उहाँले चितवनका किसानको समस्या राष्ट्रिय समस्या भएकोले सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष वगालेले देशमा पटक–पटक राजनीतिक परिवर्तन आएर सरकार र व्यक्तिहरू फेरिए पनि किसानको पीडा र उनीहरूका उत्पादनको उचित मूल्य भने कहिल्यै नबदलिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। संघले यसअघि पनि कृषि मन्त्रालयलगायतका सरोकारवाला निकायहरूमा पटक–पटक ज्ञापनपत्र बुझाएको थियो। तर, सरकारको तर्फबाट किसानका समस्याप्रति कुनै चासो नदेखिएको र माग सम्बोधनका लागि कुनै ठोस कदम नचालिएको उहाँले बताउनुभयो। अब पनि मागहरू सम्बोधन नगरिएमा संघले देशभरका दुग्ध किसानहरूलाई परिचालन गरी कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
