काठमाडौं उपत्यकाका चारजना अध्ययनकर्ताको टोलीले भक्तपुर र ललितपुरको सिमानामा अवस्थित ऐतिहासिक काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो एक शिलालेख पत्ता लगाएको दाबी गरेको छ। अभिलेखमा विक्रम संवत् १७७८ उल्लेख भएको हुँदा यसको ऐतिहासिक महत्व झन् बढेको टोलीले जनाएको छ। यो खोजले उक्त मन्दिर र वरपरको क्षेत्रको मध्यकालीन इतिहासमा नयाँ आयाम थप्ने सम्भावना देखिएको छ।
सूर्यविनायक नगरपालिका (भक्तपुर) र महालक्ष्मी नगरपालिका (ललितपुर) को सीमाक्षेत्रमा पर्ने रिसाल डाँडास्थित ढिकस्पाखामा रहेको काशी विश्वेश्वरनाथ मन्दिरको परिसरमा स्थापित यस शिलालेखको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे स्थलगत अध्ययन जारी रहेको छ। अध्ययन टोलीमा ललितपुर लुभुका शिक्षक प्रकाश थापा, भक्तपुर सिरूटारका लेखक ईश्वर बुढाथोकी, भक्तपुर ताथलीका सञ्चारकर्मी हरिसुन्दर छुकां र भक्तपुर कटुञ्जेका समाजशास्त्री सुरेश बखुन्छें संलग्न छन्।
समाजशास्त्री एवं अध्ययन टोलीका सदस्य सुरेश बखुन्छेंले यो अभिलेख सामान्य अध्ययनको विषय मात्र नभई विस्तृत अनुसन्धानको माग गर्ने बताएका छन्। उनले भने, “अधिकांश मल्लकालीन अभिलेखहरू नेपाल संवत्, स्थानीय लिपि र नेपाल भाषामा पाइने गरेकोमा यस अभिलेखमा विक्रम संवत् र देवनागरी लिपि देखिनु आफैंमा एउटा महत्वपूर्ण पक्ष हो। यसलाई हल्का रूपमा लिएर तत्काल निष्कर्षमा पुग्नु उपयुक्त हुँदैन। यसको प्रामाणिक तथ्य, तत्कालीन इतिहास र सामाजिक-सांस्कृतिक परिवेशसँग दाँजेर बृहत् अध्ययन तथा छलफल आवश्यक छ।” यो भिन्नताले तत्कालीन अभिलेखीय परम्परा र संवत्को प्रयोगबारे नयाँ प्रश्नहरू उठाएको छ।
अध्ययन टोलीका अनुसार, पुस्तकमा उल्लेख भएर पनि हालसम्म फेला पार्न नसकिएको अर्को पुरानो शिलापत्र, हाल प्राप्त अभिलेख र मन्दिर परिसरका प्रस्तर मूर्तिबीचको ऐतिहासिक सम्बन्ध पहिल्याउन सके मन्दिरको इतिहासबारे थप तथ्यहरू पत्ता लाग्न सक्ने सम्भावना छ। ढुङ्गामा कुँदिएका अक्षरहरूको सूक्ष्म अध्ययन, लिखित विवरणहरूसँगको तुलनात्मक विश्लेषण, प्रस्तर सालिग तथा अन्य मूर्तिको लक्षण अध्ययन र स्थानीय मौखिक इतिहासको खोजीले यस क्षेत्रको मल्लकालीन धार्मिक, सांस्कृतिक र सामाजिक जीवनका महत्वपूर्ण पाटोहरू उजागर गर्न सक्ने विश्वास गरिएको छ।
अभिलेखमा विक्रम संवत् उल्लेख हुनुले नेपालमा चन्द्रशमशेरको समयपछि मात्र सरकारी कामकाजमा विक्रम संवत् प्रचलनमा आएको भन्ने स्थापित मान्यतालाई चुनौती दिन सक्ने अध्ययनकर्ताहरूको भनाइ छ। यद्यपि, भक्तपुर दरबार परिसरभित्रै रहेको तलेजु मन्दिरको उत्तरपूर्वमा अवस्थित कलात्मक ढुङ्गेधारामा नेपाल संवत्, शक संवत् र विक्रम संवत् गरी तीनवटै संवत् उल्लेख भएको उदाहरण पनि भेटिन्छ। यसले संवत्को प्रयोग र प्रचलनबारे थप अनुसन्धानको आवश्यकता औंल्याउँछ। त्यस्तै, मल्लकालीन अभिलेखहरू प्रायः स्थानीय लिपि र नेपाल भाषामा हुने गरेकोमा प्रस्तुत अभिलेख देवनागरी लिपिमा हुनुले भाषा, लिपि र तत्कालीन सामाजिक-सांस्कृतिक परिवेशबीचको सम्बन्धबारे गहिरो अध्ययनको माग गरेको छ।
अध्ययन टोलीका सदस्यहरूले यस अभिलेखलाई केवल एउटा पुरानो लेखोटका रूपमा मात्र नहेरी समयसँगै ओझेलमा परेको इतिहासको खोजी गर्ने महत्वपूर्ण आधारका रूपमा लिएका छन्। पुस्तकमा उल्लेख भएर पनि हराएको भनिएको शिलापत्रको वास्तविकता, हाल प्राप्त अभिलेखको ऐतिहासिक पृष्ठभूमि र मन्दिर परिसरमा रहेका प्रस्तर मूर्तिको पहिचानले आगामी दिनमा यस क्षेत्रको इतिहासमा नयाँ अध्याय खोल्न सक्ने प्रचुर सम्भावना रहेको छ। हाल अध्ययन कार्य जारी रहेको र थप महत्वपूर्ण तथ्यहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ।
