ललितपुर, असोज ११ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (नास) ले सरकारी कर्मचारीहरूको दक्षता, सीप र ज्ञान अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । प्रतिष्ठानको ४४ औँ वार्षिकोत्सव तथा कर्मचारी पुनःमिलन कार्यक्रममा बोल्दै डा. भट्टले नासको स्थापना ४४ वर्षअघि दूरदर्शी सोचका साथ भएको र यो एक महत्त्वपूर्ण प्राज्ञिक थलो रहेको औँल्याउनुभयो ।
उहाँले अनुसन्धान, विकास र नवप्रवर्तनमा हुने लगानीलाई आर्थिक वृद्धि र समृद्धिको प्रमुख आधारका रूपमा प्रस्तुत गर्नुभयो । विश्वका सफल अर्थतन्त्रहरूमा अनुसन्धान तथा नवप्रवर्तनमा गरिएको लगानीको केन्द्रीय भूमिका रहेको उल्लेख गर्दै उहाँले प्रशिक्षण संस्थाले कस्तो ज्ञान र सोच भएका प्रशासक तयार गर्छ भन्ने विषय सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने तर्क गर्नुभयो ।
अनुसन्धान र नवप्रवर्तनले नै विश्व अगाडि बढिरहेको यथार्थलाई स्वीकार्दै उपाध्यक्ष भट्टले प्रशासकलाई दिइने शिक्षा र दृष्टिकोणले नागरिकप्रतिको व्यवहार तथा सरकारी नीतिमा प्रभाव पार्नेमा जोड दिनुभयो । उहाँले इतिहासका उदाहरण दिँदै नागरिकप्रतिको संवेदनशीलतालाई तालिमको महत्वपूर्ण पक्षका रूपमा औँल्याउनुभयो । उच्च आर्थिक वृद्धि र समृद्धिका लागि प्रभावकारी सरकारी सेवा प्रवाह अपरिहार्य भएकाले प्रशिक्षण संस्थाले योग्य, अनुशासित, आचरणयुक्त र नागरिकप्रति संवेदनशील जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले सार्वजनिक सेवामा चुस्तता ल्याउन विश्वविद्यालयसँग नासलाई जोडेर कार्यक्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठान र विश्वविद्यालयले हासिल गरेका अनुभव तथा सिकाइ एकआपसमा आदानप्रदान गरी अध्ययन अनुसन्धानमा जोड दिँदै रचनात्मक सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले नासको व्यवस्थापन र सफलतामा प्राध्यापक तथा कर्मचारीको सकारात्मक भूमिकाको सराहना गर्दै आइएसओ प्रमाण–पत्र प्राप्त गरेकोमा बधाई दिनुभयो । उहाँले नास नेतृत्व विकास र व्यवस्थापनमा उत्कृष्टताको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । दक्ष जनशक्ति उत्पादनमा नासलाई सक्षम बनाउन मन्त्रालयले सक्दो सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । भुजेलले प्रतिष्ठानलाई अन्य तालिम केन्द्रहरूसँग समन्वय गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै सरकार, विश्वविद्यालय र प्रतिष्ठानबीच सहकार्यका लागि मन्त्रालय सधैँ तयार रहेको बताउनुभयो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक वसन्तराज सिग्देलले मानवीय ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहमा नवीनता ल्याउन प्रतिष्ठानले समन्वय र सहकार्यका आधारमा कार्य गर्दै आएको जनाउनुभयो । उहाँले यी कार्यहरूलाई अझै परिष्कृत गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्षिकोत्सव समारोहमा पूर्वकार्यकारी निर्देशक डा. राजन खनालसहित विभिन्न कर्मचारीहरूलाई सम्मान गरिनुका साथै अध्ययन अनुसन्धानमा आधारित पुस्तक विमोचन गरियो ।
