जनजी शहीद परिवारद्वारा सांसद क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति आपत्ति, सिंहदरबारमा प्रदर्शन
काठमाडौं । जनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जनजी नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जनजी शहीद प्रथम स्मृति दिवसको कार्यक्रमलाई लिएर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । यही भदौ २९ गते, सोमबार सिंहदरबारको दक्षिण गेट बाहिर प्रदर्शन र पत्रकार सम्मेलन गर्दै उनीहरूले सांसद धितालको भनाइले शहीद परिवार र घाइतेहरूको भावनामाथि चोट पुर्याएको आरोप लगाए । राष्ट्रका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्मानमा आयोजित कार्यक्रमलाई हल्काफुल्का ढंगले प्रस्तुत गरिनु अस्वीकार्य रहेको उनीहरूको भनाइ छ ।
शहीद परिवार तथा घाइतेहरूको प्रतिनिधित्व गर्दै प्रदर्शनमा उत्रिएका समूहले धितालको अभिव्यक्तिलाई शहीदहरूको त्याग र बलिदानको अपमानका रूपमा चित्रण गरेका छन् । जनजी शहीद प्रथम स्मृति दिवस जस्तो पवित्र र राष्ट्रिय महत्व बोकेको कार्यक्रमलाई मनोरञ्जन वा कन्सर्टसँग जोडेर हेर्नु गैरजिम्मेवार र आपत्तिजनक कार्य हो । देशका लागि जीवन आहुति दिने शहीदहरूको स्मरणमा गरिने कार्यक्रमको गरिमा उच्च राख्नुपर्नेमा राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिबाटै यस्तो संवेदनहीन टिप्पणी आउनुले पीडित परिवारहरूमा पीडा थपेको उनीहरूको भनाइ छ ।
जेनजी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले पत्रकार सम्मेलनमा बोल्दै शहीद परिवारहरूले राज्य र राजनीतिक दलहरूबाट पर्याप्त सहयोग नपाएको अवस्थामा उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको प्रष्ट पारे । उनले भने, “शहीद परिवारलाई आजसम्म राज्य वा कुनै पनि राजनीतिक दलबाट सहयोग उपलब्ध गराइएको छैन, तर त्यसको बदलामा उल्टै अपमान गर्ने अधिकार कसैलाई पनि छैन । हामीले आफ्ना प्रियजन गुमाएर असह्य पीडा भोगिरहेका छौँ, हाम्रो पीडामाथि राजनीतिक खेलवाड स्वीकार्य छैन।” गौतमले राष्ट्रका लागि गरिएको शहीदहरूको योगदानलाई अवमूल्यन गर्ने कुनै पनि प्रयास सह्य नहुने चेतावनीसमेत दिए ।
प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सांसद धितालको अभिव्यक्तिको गम्भीरतापूर्वक समीक्षा गरी संस्थागत धारणा तत्काल सार्वजनिक गर्न जोडदार माग गरेका छन् । शहीद परिवार र घाइते समुदायको भावनामाथि चोट पुर्याउने यस्ता गैरजिम्मेवार अभिव्यक्तिविरुद्ध पार्टीले कठोर कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् । साथै, शहीद तथा घाइतेहरूको योगदानलाई दलीय राजनीतिक स्वार्थभन्दा माथि राखी राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने उनीहरूको मुख्य माग हो । देश र जनताका लागि जीवन आहुति दिने वीर शहीदहरू तथा घाइते योद्धाहरूको सम्मानमा कुनै पनि सम्झौता स्वीकार्य नहुनेमा उनीहरूले जोड दिए ।
सिंहदरबार जस्तो देशको प्रशासनिक केन्द्रमा प्रदर्शन गरी जनजी शहीद परिवारले आफ्नो आक्रोश, असन्तुष्टि र न्यायको माग मुखरित गरेका हुन् । उनीहरूले सरकार, संसद र सम्बन्धित राजनीतिक दलहरूलाई शहीदहरूको गरिमा र परिवारको आत्मसम्मानको रक्षाका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् । भविष्यमा यस्ता गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिहरू राजनीतिक वृत्तबाट नदोहोरियून् भन्नेतर्फ सचेत रहन ध्यानाकर्षण गराएका छन् । यो घटनाले शहीद परिवार र घाइते समुदायको संवेदनशीलता बुझ्न र उनीहरूको सम्मान तथा अधिकार कायम राख्न राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउनुपर्ने सन्देश दिएको छ ।
