काठमाडौं, १७ भदौ । गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढी तथा पहिरोका कारण उत्पन्न मानवीय संकटलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई व्यापक मानवीय सहायता उपलब्ध गराइरहेका छन् । प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले तत्परताका साथ सहयोग प्रदान गरिरहेका छन् । भारत, संयुक्त राज्य अमेरिका, चीन, जापान, बेलायत, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार लगायतका मुलुकहरूले आफ्ना विशेष विमानहरू मार्फत राहत सामग्री तथा प्राविधिक सहयोग पठाइरहेका छन्।
संयुक्त राज्य अमेरिकाले हालै नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सहायता उपलब्ध गराएको छ । यस क्रममा अमेरिकाका दुईवटा सैन्य मालवाहक विमानले ५,००० वटा विशेष विपद् पीडित उद्धार तथा व्यवस्थापन सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा माटो एवं ढुंगा हटाउने लोडरहरू नेपाल ल्याएका थिए । यो सहयोग बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
छिमेकी राष्ट्र भारतले पनि नेपाललाई मानवीय सहायता सामग्रीको पाँचौपटकसम्मको खेप पठाइसकेको छ । यो निरन्तर सहयोगले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको आपूर्तिमा टेवा पुगेको छ ।

चीनले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरेको छ । यसका अतिरिक्त, चीनबाट आएको उद्धार टोलीले प्रभावित क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको छ । चीनले ५० टन राहत सामग्री पनि उपलब्ध गराएको छ, जसमा पाल, कम्बल, सुत्ने झोला, हार्ड ट्याक तथा प्राथमिक उपचार किटहरू समावेश छन् । चीनको जनमुक्ति सेनाको वायुसेनाका मालवाहक विमानले यी सामग्री नेपाल ल्याएका थिए । चीनले राहत सामग्रीसँगै सुरुङ उद्धार विशेषज्ञ तथा आवश्यक उद्धार उपकरणसमेत पठाएको छ । नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ ।

जापानले पनि नेपाललाई पाल, कम्बलदेखि पानी राख्ने कन्टेनरसम्मका सामग्री उपलब्ध गराएको छ । बेलायतले मानवीय सहायता अभियानमा साथ दिँदै इन्डो–प्यासिफिक मामिलासम्बन्धी मन्त्री बारोनेस विन्टरटनलाई काठमाडौं पठाएको थियो, जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता स्टेजिङ क्षेत्रको निरीक्षण गरेकी थिइन् । युके एडको सहयोगमा सञ्चालनमा ल्याइएको उक्त केन्द्र राहत सामग्री भण्डारण तथा प्रभावित क्षेत्रमा वितरण गर्ने केन्द्रका रूपमा प्रयोग भइरहेको छ । अष्ट्रेलियाले पनि बाढीबाट प्रभावित नेपाली समुदाय तथा प्रभावित अष्ट्रेलियाली नागरिक र उनीहरूका परिवारलाई सहयोग पठाएको छ ।

मध्यपूर्वी राष्ट्रहरूमध्ये युएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ । कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ । पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुने क्रममा रहेको छ । श्रीलंकाले १० लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको छ । स्विट्जरल्यान्डबाट पनि संयुक्त राष्ट्र संघमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क प्राप्त भएको छ ।
बहुपक्षीय विकास साझेदारहरूबाट पनि ठूलो सहयोगको प्रतिबद्धता आएको छ । एसियाली विकास बैंक (एडीबी) बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा र एडीबीबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ । बेलायत, जापानलगायत अन्य मित्रराष्ट्रहरूबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्र संघका निकायहरूबाट पनि निरन्तर सहयोग प्राप्त भइरहेको छ । यो विश्वव्यापी साथ र सहयोगले नेपालको विपद् व्यवस्थापन र पुनर्निर्माण कार्यमा ठूलो बल पुग्ने विश्वास गरिएको छ ।











