तस्बिर स्रोत, Reuters
गत बुधवार रसुवा आसपासमा सामान्य वर्षा भइरहेको बेला रसुवागढी नाकाबाट करिब २० किलोमिटर पूर्वोत्तरबाट आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। नेपाली अधिकारीहरूका अनुसार ‘हिमचट्टानको पहिरो’ले खोला थुनिँदा सो बाढी आएको प्रारम्भिक आकलन गरिएको छ। मौसम पूर्वानुमान विभागका अनुसार, केही मिनेटको अन्तरालमै बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक असर पारेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वप्रमुख अनिल पोखरेलले यस घटनाले मिनेटमिनेट र सेकेन्डसेकेन्डको महत्त्व दर्साएको उल्लेख गर्दै देश भित्र तथा अन्तरदेशीय रूपमा भरपर्दो चेतावनी प्रणालीको अभाव रहेको बताएका छन्। बिहान ८:५० बजे रसुवागढी नाकाभन्दा कैयौँ किलोमिटर तल स्याफ्रुबेसी जल मापन केन्द्रले विवरण दिन छाडेको थियो भने ९:२० मा वेत्रावती मापन केन्द्रले पनि विवरण दिन बन्द गरेको देखिन्छ। बाढी पूर्वानुमान महाशाखाले बिहान ०९:१५ बजेदेखि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन पूर्वसूचना जारी गरेको र त्यस क्रममा नेपाल टेलिकम तथा एनसेलमार्फत् करिब ६ लाख ७९ हजार २ सय ९५ एसएमएस पठाइएको थियो।
बाढी दोहोरिन सक्ने चेतावनी
तस्बिर स्रोत, EPA
नेपालका मौसमसम्बन्धी निकायहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त भूउपग्रहका तस्बिर तथा तथ्याङ्कहरूको प्रारम्भिक विश्लेषण गर्दा सीमा क्षेत्रनजिक हिमपहिरो गई त्यसबाट अति उच्च आकस्मिक बहाव आएको देखिएको छ। त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन केन्द्रअन्तर्गत विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीका अनुसार, हिमचट्टान खसेर बनेको बाँधमा फेरि पनि ‘पानी जम्मा भइरहेको’ देखिएको छ। भूगर्भशास्त्री अधिकारीले उक्त बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकोले अत्यधिक सजगता अपनाउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार दिउँसो जारी गरेको सूचनाअनुसार रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई करिब ०.११ वर्ग किलोमिटर क्षेत्रफलको ताल बनेको छ। भदौ ११ गते बिहान ११:४४ बजे प्राप्त भूउपग्रहबाट खिचिएको तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले उक्त तालको प्राकृतिक बाँध फुटी पुनः ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेको जनाइएको छ। त्यसैले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। सन् २०१४ को जुरे पहिरोमा यस्तै परिस्थिति देखा परेपछि नेपाली सेनाले बम विस्फोट गराएर ताल खुलाउनुपरेको अधिकारीले स्मरण गरे।
बुधवारको बाढीमा फुर्के (मलेखु) जल मापन केन्द्रमा बिहान ११:२० बजे जलसतह सतर्कता तह ७ मिटर र ११:४० बजे खतरा तह ८ मिटर पार गर्दै उच्चतम १०.४८ मिटर पुगेर मापन केन्द्र नै बगाएको थियो। मुग्लिन नजिकैको कालीखोला जलमापन केन्द्रमा पनि दिनको २:१४ बजे खतरा तह १२.१ मिटर पार गर्दै उच्चतम १२.३ मिटर जलसतह मापन भएको थियो। देवघाटमा मापन भएको बहाव विश्लेषण गर्दा २:१० देखि ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब २ करोड घन मिटर रहेको प्रारम्भिक आकलन मौसम अधिकारीहरूले गरेका छन्।
समयमै सूचना प्रणालीको प्रभावकारिता
तस्बिर स्रोत, Reuters
बुधवार महाशाखाले एसएमएसबाट भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रका नागरिकलाई चरणबद्ध रूपमा सुरक्षित स्थानमा जान अनुरोध गरे पनि, त्यसका लागि अपर्याप्त समय रहेको गुनासो सुनिएको छ। भूगर्भशास्त्री अधिकारीले यसलाई ‘अभूतपूर्व घटनाक्रम’ भन्दै चीनले समेत थाहा नपाएको र यो यति छिटो भएकोले रोक्न सक्ने अवस्था नभएको बताए। उनले प्राप्त भएको समयसीमाभित्र चेतावनी जारी गर्नु नै प्रशंसनीय भएको धारणा व्यक्त गरे।
यस बाढीपछि स्वचालित चेतावनी प्रणालीमा लगानी बढाउनुपर्ने आवश्यकता महसुस भएको विज्ञहरू बताउँछन्। अधिकारीका अनुसार, रिमोट सेन्सिङमार्फत् जोखिमको हटस्पट पहिचान गर्दै निगरानी बढाउनुपर्छ र हिमताल पग्लिने वा पहिरो जान सक्ने ठाउँको पहिचानका लागि पूरा भूगोलको मूल्याङ्कन गरेर जोखिमयुक्त स्थानमा ग्राउन्ड स्टेशन बनाउन आवश्यक छ। विपद् प्राधिकरणका पूर्वप्रमुख पोखरेलले एसएमएसमा मात्र भर नपरेर साइरन, सबैखाले सञ्चारमाध्यमबाट एकैपटक एकैखाले सूचना प्रवाह गर्ने व्यापक दायरा समेट्ने चेतावनी प्रणाली आवश्यक पर्नेमा जोड दिएका छन्। उनले अन्तरदेशीय सूचना प्रणालीको अभावलाई पनि औँल्याउँदै गत वर्षको बाढीले पनि त्यसका लागि सजग गराएको स्मरण गराए।
