काठमाडौं : देशका विभिन्न भागमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि कुमारी बैंक लिमिटेडले ३ करोड रुपैयाँभन्दा बढीको आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ जम्मा गर्नुका साथै करिब ३९ लाख रुपैयाँ बराबरको विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको हो।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको ३ करोड रुपैयाँ बाढी प्रभावित क्षेत्रमा तत्काल राहत वितरण, उद्धार कार्य सञ्चालन र दीर्घकालीन पुनस्र्थापना परियोजनाहरूमा उपयोग गरिनेछ। यो सहयोगले हजारौं विस्थापित परिवारहरूलाई खाद्यान्न, स्वच्छ पिउने पानी, अस्थायी आश्रयस्थल, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। विपद्का कारण उत्पन्न मानवीय संकटलाई सम्बोधन गर्न यो आर्थिक सहयोग महत्वपूर्ण हुनेछ।
वित्तीय सहयोगका अतिरिक्त, कुमारी बैंकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई अझ प्रभावकारी बनाउन अत्याधुनिक उपकरणहरू पनि उपलब्ध गराएको छ। करिब ३९ लाख रुपैयाँ मूल्य बराबरका पाँचवटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन (Surveillance Drone), तीनवटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र एक सयवटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित शिविरमा हस्तान्तरणका लागि पठाइएको छ। यी उपकरणहरूले दुर्गम र पहुँचहीन क्षेत्रमा फसेका व्यक्तिहरूको पहिचान गर्न, क्षतिको आकलन गर्न, तथा विद्युत् आपूर्तिको अभावमा सञ्चार र उद्धार कार्यलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्नेछन्।
हालैको प्राकृतिक प्रकोपबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको छ। कुमारी बैंकले नेपाल सरकार र स्थानीय प्रशासनसँगको घनिष्ट समन्वयमा यी प्रभावित जिल्लाहरूका परिवारहरूलाई तत्काल राहत, खाद्यान्न, पिउने पानी, अस्थायी आश्रय तथा अन्य मानवीय सहायता उपलब्ध गराउन उक्त सहयोग प्रदान गरेको हो। विपद्को गम्भीरता र व्यापकतालाई मध्यनजर गर्दै, बैंकले आफ्नो सहयोगलाई विस्तृत र बहुआयामिक बनाएको जनाएको छ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) सधैँ निर्वाह गर्दै आएको छ। बैंकले यो सहयोगले प्रभावित समुदायको दुःख कम गर्न र उनीहरूको जीवन सामान्यीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास व्यक्त गरेको छ। बैंकका अनुसार, यस्तो मानवीय संकटको घडीमा एक जिम्मेवार वित्तीय संस्थाको रूपमा समाजप्रतिको दायित्व पूरा गर्नु अनिवार्य तथा नैतिक कर्तव्य हो।
विपद्को यस कठिन घडीमा कुमारी बैंकले प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ। बैंकले सम्पूर्ण सम्बन्धित निकायहरू, विशेष गरी नेपाल सरकार र नेपाली सेनालाई राहत, उद्धार तथा पुनस्र्थापना कार्यलाई थप प्रभावकारी र द्रुत गतिमा अगाडि बढाउन हार्दिक आग्रह गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएका व्यक्तिहरूको सुरक्षित खोज तथा उद्धारका लागि पनि बैंकले कामना गरेको छ।
भदौ ११, २०८३
