काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तर्राष्ट्रिय सम्मानलाई केन्द्रमा राख्दै स्वतन्त्र, सन्तुलित तथा राष्ट्रिय हितमुखी परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले विशेषतः भारत र चीनजस्ता छिमेकी राष्ट्रहरूसँग सन्तुलित, स्थिर र व्यावहारिक सम्बन्ध कायम राख्दै सीमा विवादलगायतका विषयलाई तथ्य, प्रमाण र संस्थागत संवादमार्फत समाधान गर्ने नीति अघि सारेको छ।
सभापति रवि लामिछानेले परराष्ट्र नीतिसम्बन्धी अवधारणापत्र सार्वजनिक गर्दै नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित, स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, सीमाको सुरक्षा तथा नागरिकको हकहितलाई परराष्ट्र नीतिको आधार बनाइने प्रष्ट पारेका छन्। पार्टीले संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलनको भावना, अन्तर्राष्ट्रिय कानुन तथा विश्वशान्तिका मान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
रास्वपाले बदलिँदो विश्व व्यवस्थाअनुसार परराष्ट्र नीतिलाई केवल कूटनीतिक सम्बन्ध व्यवस्थापनमा मात्र सीमित नराखी राष्ट्रिय विकास, आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय साझेदारीको महत्वपूर्ण माध्यमका रूपमा उपयोग गर्ने उल्लेख गरेको छ। यस नीतिलाई पार्टीले ‘विकास कूटनीति’को संज्ञा दिएको छ र यसलाई आफ्नो परराष्ट्र नीतिको केन्द्रमा राख्ने स्पष्ट पारेको छ।
पार्टीका अनुसार नेपाल भारत र चीनजस्ता दुई उदाउँदा आर्थिक तथा रणनीतिक शक्तिबीच अवस्थित हुनुलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा उपयोग गर्नुपर्छ। रास्वपाले नेपाललाई दक्षिण एशिया र हिमालय क्षेत्रलाई जोड्ने आर्थिक, सांस्कृतिक, व्यापारिक तथा मानवीय सम्पर्कको ‘जीवन्त पुल’का रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण अघि सारेको छ।
छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान, समानता, विश्वास र साझा हितमा आधारित हुने रास्वपाको नीति छ। भारत र चीनसँग व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, शिक्षा, प्रविधि तथा क्षेत्रीय कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्राथमिकतामा राखिएको छ। सीमा व्यवस्थापन, सीमा विवाद तथा ऐतिहासिक सन्धि-सम्झौताका विषयलाई भावनात्मक बहसभन्दा तथ्य, प्रमाण, अन्तर्राष्ट्रिय अभ्यास र संस्थागत संवादमार्फत समाधान खोजिने पार्टीले जनाएको छ।
रास्वपाले कुनै पनि शक्ति केन्द्रप्रति अनावश्यक झुकाव वा निर्भरता नराखी विविध साझेदारी, रणनीतिक सन्तुलन र स्वायत्त निर्णय क्षमतामार्फत नेपालको अन्तर्राष्ट्रिय भूमिका सुदृढ गर्ने नीति लिएको छ। जलवायु परिवर्तन, ऊर्जा सुरक्षा, आपूर्ति शृङ्खला, प्रविधि शासन, साइबर सुरक्षा र आप्रवासनजस्ता समकालीन अन्तर्राष्ट्रिय मुद्दामा नेपाललाई प्रभावकारी आवाजका रूपमा स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख छ।
विश्वभर रहेका नेपालीलाई नेपालको ‘सफ्ट पावर’को महत्वपूर्ण स्रोतका रूपमा व्याख्या गर्दै रास्वपाले डायस्पोरालाई केवल रेमिट्यान्सको स्रोत नभई ज्ञान, सीप, नवप्रवर्तन, लगानी र अन्तर्राष्ट्रिय अनुभवको वाहकका रूपमा उपयोग गरिने जनाएको छ। विदेशस्थित नेपालीहरूको बौद्धिक, आर्थिक र सामाजिक पुँजीलाई राष्ट्रिय विकाससँग जोड्न विशेष कूटनीतिक तथा नीतिगत संयन्त्र निर्माण गरिने पनि पार्टीको नीति छ।
रास्वपाले २१औँ शताब्दीको परराष्ट्र नीति सीमाको रक्षा मात्र नभई अवसरको खोजी, साझेदारी निर्माण र विश्वमञ्चमा राष्ट्रको प्रभाव विस्तार गर्ने माध्यम भएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमान र आर्थिक यथार्थवादको संयोजनमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने बताएको छ। पार्टीले हालै भएका भारत र चीन केन्द्रित कूटनीतिक गतिविधिले आफ्नो सोच र प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भइसकेको पनि दाबी गरेको छ।
