तस्बिर स्रोत, Reuters
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणले नेपालको नयाँ सरकारको विदेश नीति र भारतप्रतिको दृष्टिकोणबारे नयाँ दिल्लीमा स्पष्टता खोजिने भारतीय विश्लेषकहरूले बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले अङ्गीकार गरेका कतिपय नीतिबारे भारतले उनीसँग चासो राख्न सक्ने अनुमान गरिएको छ।
शाह नेतृत्वको सरकार गठन भएयता नयाँ दिल्लीबाट निम्तो पाउने सत्ताधारी दलका पहिलो उच्चस्तरीय नेता लामिछाने हुन्। गत वर्षको भदौमा भएको जेन जी आन्दोलनपछि भएको चुनावमार्फत् रास्वपाले प्रतिनिधिसभामा महत्त्वपूर्ण उपस्थिति जनाएको छ। प्रधानमन्त्री शाहले कूटनीतिक भेटवार्ताहरूलाई सीमित तुल्याएको र विदेश सम्बन्धबारे खासै धारणाहरू सार्वजनिक नगरेकाले नयाँ दिल्लीले सत्ताधारी दलका नेताबाट नयाँ सरकारको नीतिबारे थप स्पष्टता खोजेको भारतीय विश्लेषकहरूको भनाइ छ।
भारतको सत्ताधारी दल बीजेपीको निम्तोमा हुन लागेको यो भ्रमण तीन दिनको हुनेछ। लामिछानेले दिल्ली पुगेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशङ्करसहितका उच्च अधिकारीहरूसँग छलफल गर्ने जनाइएको छ। मन्त्रीपरिषद्को बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सभापति लामिछाने ‘आफ्नै ढङ्गले’ भारत जान लागेको र त्यसको प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नरहेको बताएका छन्। भ्रमण दलमा लामिछानेसँगै सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा रहनेछन्। रास्वपाका नेताहरूका अनुसार, यो भ्रमण भारतसँगको विशिष्टीकृत सम्बन्धमा नयाँ राजनीतिक दलको सरकार बनेपछि सम्बन्धमा एउटा स्पष्टता ल्याउने प्रयास हो।
तस्बिर स्रोत, EPA/Shutterstock
नयाँ दिल्लीस्थित नेपाल मामिला विज्ञ प्राध्यापक एसडी मुनिले प्रधानमन्त्री शाहका कारण नेपाल-भारत सम्बन्धमा संवादको खाडल देखा परिरहेको र भारतको सत्तारूढ पक्षले नेपालको नयाँ सरकारको व्यवहार बुझ्न खोजिरहेको बताए। उनले रवि लामिछानेले यो खाडल पूर्तिको प्रयास गर्न र बालेनको व्यवहार भारतप्रति अनादर गर्नु नरहेको कुरा भारतीय नेतृत्वसमक्ष राख्न सक्ने अनुमान गरे। नेपालसम्बन्धी विदेश नीति तय गर्न भारतीय विदेश मन्त्रालयको प्रमुख भूमिका रहे पनि पछिल्ला वर्षहरूमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको पनि महत्त्वपूर्ण भूमिका रहेको जानकारहरू बताउँछन्।
तस्बिर स्रोत, EPA_AutoIngest
भारतीय सेनाका अवकाशप्राप्त जर्नेल अशोक मेहताले रवि लामिछानेले दिल्लीमा न्यानो स्वागत पाउने र भारतको सत्ताधारी दल तथा उच्चपदस्थ अधिकारीहरू उनीसँग सबै विषयमा छलफल गर्न तयार रहेको बताए। उनले लामिछानेले भारतसँगको ‘विशेष सम्बन्ध’ ले निरन्तरता पाउने धारणा दिल्लीमा राख्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे। प्रधानमन्त्री शाहले अवलम्बन गरेका कूटनीतिक प्रोटोकलको विषय पनि लामिछानेले गर्ने भेटवार्तामा उठ्न सक्ने आकलन मेहताको छ। “भारत सरकार प्रोटोकल र नजिरमा कुनै पनि परिवर्तन भएको हेर्न चाहँदैन,” उनले थपे, “नेपालले चीन वा अमेरिकासँग आफ्नो प्रोटोकल राख्न सक्छ, तर भारतको ऐतिहासिक सम्बन्ध र मान्यताले निरन्तरता पाउनुपर्छ।” मेहताले दिल्लीले भविष्यमा सरकार र पार्टी कसरी अघि बढ्छ भनेर पनि जान्न चाहेको बताए।
तस्बिर स्रोत, PMO Nepal/Facebook
नेपाल-भारत सम्बन्धका जानकार तथा देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरेले भारत-नेपाल सम्बन्धमा केही अस्पष्टता र अनिश्चितता देखिएकाले अहिलेको भ्रमण महत्त्वपूर्ण हुने बताए। उनले बालेन शाहले विदेश नीतिबारे खासै नबोलेको र नेपालभित्रै पनि सरकारको काममा पार्टीको भूमिका स्पष्ट नभएकाले यो भ्रमण परिचयात्मक आदानप्रदानको अवसर हुने उल्लेख गरे। घिमिरेका अनुसार, रास्वपाका सभापतिले भारतीय पक्षसँग संवादमा जाँदा सावधानीपूर्वक आफ्ना कुरा राख्नुपर्नेछ, किनकि उनले सरकारका तर्फबाट कुनै प्रतिबद्धता जनाउन सक्ने अवस्था छैन। यद्यपि, ऊर्जा र व्यापारलगायतका मुद्दाबारे आफ्ना सरोकारहरू राख्न सक्नेछन्।
तस्बिर स्रोत, EPA/Shutterstock
भारतले विगतमा पार्टी प्रमुखहरूलाई निम्तो दिने अभ्यास गरेको छ। गत चैतमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शाहले दुई पटक सामूहिक रूपमा कूटनीतिज्ञहरूसँग भेटवार्ता गरे पनि व्यक्तिगत रूपमा उच्चस्तरीय भेटघाटमा सीमितता अपनाएका छन्। वैशाख अन्त्यमा तय भएको भारतीय विदेशसचिव विक्रम मिस्रीको भ्रमण प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गरेको दाबीसँगै स्थगित भएको थियो। यस्ता घटनाक्रमले नेपाल-भारत संवादमा देखिएको रिक्ततालाई लामिछानेको भ्रमणले कति हदसम्म पूर्तिको प्रयास गर्छ, त्यो हेर्न बाँकी छ। यसले नेपालमा एकभन्दा बढी शक्तिकेन्द्रहरू छन् र सम्बन्ध कायम गर्ने एकभन्दा बढी बिन्दु छन् भन्ने सन्देश भने दिन सक्ने घिमिरेको विश्लेषण छ।
