तेहरान, जेठ १४ गते । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता नजिकिँदै गर्दा इरानको राष्ट्रिय फुटबल टोलीले भिसा र प्रशिक्षण शिविरसम्बन्धी महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इरानी टोलीका लागि बहुप्रवेशी (मल्टिपल इन्ट्री) भिसा उपलब्ध गराउने अपेक्षा इरानको फुटबल महासङ्घ (आईएफएफ) ले गरेको छ। यो व्यवस्थाले खेलाडीहरूलाई प्रतियोगिता अवधिभर संयुक्त राज्य अमेरिका र मेक्सिकोबीच सहज आवागमन गर्न अनुमति दिनेछ।
आईएफएफका अध्यक्ष मेहदी ताजका अनुसार फिफाबाट बहुप्रवेशी भिसाको अपेक्षा गरिएको छ, जसले खेलाडीहरूलाई अमेरिका प्रवेश गर्न र आवश्यक परेमा मेक्सिको फर्किन सुविधा पुग्नेछ। विश्वकप २०२६ को आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा गर्नेछन्, जसका कारण टोलीहरूलाई यी देशहरूबीच यात्राका लागि विशेष भिसा व्यवस्थापनको आवश्यकता पर्ने भएको छ।
इरानको राष्ट्रिय टोली, जसलाई ‘टिम मेली’ नामले पनि चिनिन्छ, सुरुमा प्रतियोगिताको तयारीका लागि एरिजोनाको टक्सनमा प्रशिक्षण शिविर सञ्चालन गर्ने योजनामा थियो। तर, अमेरिकी भिसासँग सम्बन्धित सम्भावित जटिलताहरूबाट बच्न र खेलाडीहरूलाई इरान एयरको उडानमार्फत सिधै मेक्सिको यात्रा गर्न अनुमति दिन प्रशिक्षण शिविर मेक्सिकोको तिजुआनामा सारिएको छ। अध्यक्ष ताजले यो कदम अमेरिकी भिसा प्रक्रियासँग सम्बन्धित कठिनाइहरूलाई कम गर्न चालिएको बताउनुभयो। यो परिवर्तनले टोलीको तयारीमा सहजता ल्याउने विश्वास गरिएको छ।
विश्वकपमा इरान समूह ‘जी’ मा रहेको छ र उसले आफ्नो समूह चरणका तीनवटै खेल संयुक्त राज्य अमेरिकामा खेल्नेछ। टोलीले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्यूजिल्यान्डसँग खेल्नेछ। यसैगरी, समूह चरणमा बेल्जियमसँग सोही सहर लस एन्जलसमा र इजिप्टसँग सियाटलमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यी खेलहरूका लागि अमेरिकामा बारम्बार प्रवेशको आवश्यकता पर्ने भएकाले बहुप्रवेशी भिसाको महत्त्व अझ बढेको छ।
यसैबीच, इरानी फुटबल टोलीका लागि महत्त्वपूर्ण खेलाडी मानिने स्ट्राइकर सरदार अजमुनको अवस्था अहिले अनिश्चित रहेको छ। अध्यक्ष ताजले अजमुनको अवस्थाबारे आफूलाई जानकारी नभएको र टोलीका व्यवस्थापकले तयार पारेको प्रारम्भिक टोलीको सूचीबाट उहाँलाई हटाइएको बताउनुभएको छ। बायर्न लेभरकुसेन र एएस रोमा जस्ता युरोपियन क्लबहरूबाट खेलिसकेका अजमुनले विगतमा सरकार विरोधी प्रदर्शनहरूको समर्थन गरेको कारण विवादमा आउनुभएको थियो। यस कारण उहाँले इरानी मिडियाबाट पनि आलोचनाको सामना गर्नु परेको थियो।
अजमुनको सम्भावित अनुपस्थितिले टोलीको प्रदर्शनमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यद्यपि, हालै इरानका एक उपराष्ट्रपतिले अजमुनलाई राष्ट्रिय टोलीमा पुनस्र्थापित गर्न आह्वान गर्नुभएको छ। यसले अजमुनको भविष्यलाई लिएर थप अनिश्चितता सिर्जना गरेको छ। यी सबै चुनौतीका बाबजुद टोली विश्वकपको लागि तयारीमा जुटेको अध्यक्ष ताजले जानकारी दिनुभयो। इरानको टोलीले विश्वकपमा सफल प्रदर्शनका लागि भिसा र खेलाडी छनोटका समस्याहरूलाई समाधान गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ।
