मोरङका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफ्नो स्थायी बसोबासको सुनिश्चितता र तत्काल लालपूर्जा उपलब्ध गराउन माग गर्दै विराटनगरमा वृहत् प्रदर्शन गरेका छन्। संयुक्त संघर्ष समिति मोरङको अगुवाइमा सोमबार विराटनगरको सन्सारी माई मन्दिर परिसरमा भेला भई भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी माथि नेपाल सरकारको ज्यादती विरुद्धमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै सशक्त नाराबाजीसहित विरोध जनाएका छन्।
विरोध प्रदर्शन सन्सारी माई मन्दिर परिसरबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गर्दै विरोधसभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागी सयौँ सुकुम्बासीहरूले आफूहरू बसोबास गरिरहेकै स्थानमा तत्काल लालपूर्जा उपलब्ध गराइनुपर्ने र भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधानमा उदासीनता देखाएको र उल्टै भूमिहीनहरूलाई उठिबास लगाउने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। यसअघि निर्वाचनका बेला गरिएका प्रतिबद्धताविपरीत सरकारले जनताको अधिकार कुण्ठित गर्न खोजेको आरोप उनीहरूको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय संघर्ष समितिका प्रतिनिधि इन्द्रबहादुर तामाङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले जनताको अधिकारलाई कुण्ठित गरेको आरोप लगाए। उनले भने, “निर्वाचनमा भोट लिने बेलामा बालेन्द्र शाहले गरिब र भूमिहीनहरूको विषयमा आवाज उठाउने प्रतिवद्धता जनाएका थिए। तर, प्रधानमन्त्री भएपछि उनले जनताको उठिबास लगाउने काम गरेका छन्।” तामाङले सरकारको यस्तो कार्यशैलीले सुकुम्बासीहरूमाथि थप अन्याय भएको र उनीहरूलाई सडकमा आउन बाध्य पारेको बताए। उनले यदि प्रधानमन्त्री शाहले तत्काल राजीनामा नदिए र सुकुम्बासीका माग सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए।
प्रदर्शनपछि सुकुम्बासीका प्रतिनिधिमण्डलले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा आफूहरूका माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ। ज्ञापनपत्रमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालाई राष्ट्रिय समस्याका रूपमा स्वीकार गर्दै यसको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति र कार्यक्रम ल्याउन माग गरिएको छ। संयुक्त संघर्ष समिति मोरङका अनुसार, विराटनगर क्षेत्रभित्र मात्र ५ हजार ६ सय ३० जना भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू रहेका छन्, जसले वर्षौंदेखि स्थायी बसोबासको अधिकार माग गरिरहेका छन्।
नेपालमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या लामो समयदेखि जटिल रूपमा रहँदै आएको छ। विभिन्न सरकारले यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसका कारण पटकपटक यस्ता प्रदर्शनहरू हुँदै आएका छन्। मोरङको यस प्रदर्शनले पुनः एकपटक सुकुम्बासी समस्याको गम्भीरता र उनीहरूको धैर्यताको सीमा देखाएको छ। सरकारले यस महत्त्वपूर्ण मागलाई कसरी सम्बोधन गर्छ भन्नेमा आम चासो बढेको छ।
प्रकाशित: ४ जेष्ठ २०८३ २०:१७ सोमबार
