पोखरा-दुबई सीधा उडान: भाडादरमा व्यवसायी र फ्लाई दुबईबीच फरक मत
पोखराबाट दुबईका लागि सीधा अन्तर्राष्ट्रिय उडान आगामी सेप्टेम्बर २३ (असोज ७ गते) बाट सुरु हुँदैछ। यस अवसरमा उडान सञ्चालक फ्लाई दुबईले काठमाडौंभन्दा सस्तो भाडादर घोषणा गरे पनि पोखराका पर्यटन व्यवसायीहरूले भने यसलाई अझ घटाउनुपर्ने माग गरेका छन्। उडानको दिगोपना र भाडादरलाई लिएर व्यवसायी र एयरलाइन्सबीच फरक मत देखिएको छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक (जिएम) नवराज शाहीले पोखराबाट १५० गन्तव्यसम्मको उडान भाडा काठमाडौंभन्दा कम्तीमा पाँच हजार रुपैयाँ सस्तो हुने बताए। उनले यस रुटलाई दिगो बनाउनका लागि धेरै टिकट बिक्री गरी सहयोग गर्न व्यवसायीलाई आग्रह गरे। शाहीले यो निर्धारित उडान (सेड्यूल फ्लाइट) भएकाले यात्रु संख्या कम भए पनि दुबईबाट आउने यात्रुका कारण उडान प्रभावित नहुने र एकजना मात्र यात्रु भए पनि उडान नरोकिने स्पष्ट पारे।
तर, पोखराका पर्यटन व्यवसायीहरूले फ्लाई दुबईले तोकेको भाडादर अझै महँगो भएको भन्दै पुनःविचार गर्न माग गरेका छन्। होटल संघका प्रथम उपाध्यक्ष राजेश पहारीले सरकारले हवाई इन्धन, विमान उडान/अवतरण तथा अन्य शुल्कमा महत्वपूर्ण छुट दिए पनि भाडा महँगो हुनु तर्कसंगत नभएको बताए। उनले सहुलियतका बाबजुद उच्च भाडादरका कारण यात्रुलाई टिकट लिन कठिनाइ भइरहेको गुनासो गरे, जसमा अन्य व्यवसायीले पनि सहमति जनाए।
यस उडानलाई पोखरा र समग्र देशकै समृद्धिका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले यो रुट दिगो भएमा पोखरा मात्र नभई राष्ट्रले नै फाइदा लिनसक्ने बताउँदै यसका लागि बोर्ड तथा सरकारसँग समन्वय गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले यो उडानलाई विश्वमा पुग्ने द्वारका रूपमा हेरिनुपर्नेमा जोड दिँदै पोखरालाई पर्यटनको राजधानीका रूपमा प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने बताए।
नाट्टा गण्डकी प्रदेशकी अध्यक्ष सङ्गीता पौडेलले पोखरेलीको वर्षौँदेखिको सपना पूरा हुने चरणमा पुगेको बताउँदै यसलाई सफल बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको औंल्याइन्। नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठीले पनि यो उडानप्रति ठूलो आशा र अपेक्षा रहेको भन्दै यसलाई सफल बनाउन पोखरेलीको पूर्ण साथ रहने प्रतिबद्धता जनाए।
फ्लाई दुबईका दक्षिण पूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले उडानको दिगोपनाका लागि पोखरेलीको सहयोग अपरिहार्य रहेकोमा जोड दिए। यो सुरुवात मात्र भएको र दिगो भएमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स पनि पोखरातर्फ आकर्षित हुने उनको विश्वास थियो।
फ्लाई दुबईले पहिलो महिनाका लागि दैनिक एउटा उडान गर्ने तालिका बनाएर अनुमति लिइसकेको छ। कम्पनीले सन् २०२७ सम्मका लागि टिकट बुकिङ खुला गरेको महाप्रबन्धक शाहीले जानकारी दिए।
