१७ असार, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिवेशमा कम्युनिष्ट पार्टीहरूबीचको पूर्ण एकताभन्दा विचार मिल्न सक्ने सम्पूर्ण शक्तिहरूसँग कार्यगत एकता गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले अहिलेको जटिल अवस्थामा देशलाई सही दिशामा डोऱ्याउनका लागि समान नीति, विचार र उद्देश्य बोकेर अगाडि बढ्न चाहने हरेक व्यक्ति तथा समूहलाई कार्यगत एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताए । उनले देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्तालाई सुदृढ गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्नका लागि बृहत् सहकार्य अपरिहार्य भएको औँल्याए । कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक आधारमा उभिएर राष्ट्रहितलाई सर्वोपरी ठान्ने शक्तिहरूसँगको समन्वयले मात्रै विद्यमान चुनौतीहरूको सामना गर्न सकिने उनको भनाइ थियो ।
आफूहरू सरकारमा रहँदा नेकपा (एमाले)ले देशको विकास र जनहितका क्षेत्रमा ऐतिहासिक तथा असाधारण काम गरेको अध्यक्ष ओलीले स्मरण गरे । उनले पूर्वाधार विकास, सामाजिक सुरक्षा, सुशासनको प्रत्याभूति र राष्ट्रिय स्वाभिमानको प्रवर्द्धनमा पार्टी नेतृत्वको सरकारले अतुलनीय योगदान पुऱ्याएको दाबी गरे । देशको राजनीतिक र सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका सदैव अग्रगामी र निर्णायक रहेको बताउँदै उनले विगतका उपलब्धिहरूलाई टेकेर भविष्यमा अझ ठूला सफलताहरू हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
अध्यक्ष ओलीले पार्टीलाई पुनः सशक्त र गतिशील बनाउन आन्तरिक एकता अपरिहार्य रहेकोमा जोड दिए । उनले भने, ‘हामी फेरि पनि उठ्न सक्छौँ, देशलाई सही बाटोमा अगाडि बढाउन सक्छौँ । त्यसका लागि पार्टी एकताबद्ध भएर, अनुशासित भई अगाडि बढ्नुपर्छ ।’ पार्टीभित्रको वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र कार्यकर्ताहरूको मनोबल उच्च राख्न सकेमा मात्रै आगामी दिनमा निर्णायक शक्ति बनेर राष्ट्रको नेतृत्व गर्न सकिने उनको भनाइ थियो । उनले पार्टीको आगामी कार्यदिशा, रणनीतिक योजना र जनपरिचालनका कार्यक्रमहरू प्रभावकारी बनाउनका लागि निर्वाचन समीक्षा र पुनर्गठन कार्यदलको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
उक्त सुझाव सङ्कलन कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल र नेता लालबाबु पण्डितलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सम्पर्क विशेष सङ्गठन कमिटीका प्रतिनिधिहरूले आफ्नो सुझाव तथा धारणा राखेका थिए ।
