काठमाडौँ, भदौ ३ गते । नेपाल प्रहरीले अवैध अनलाइन सट्टाबाजी (बेटिङ) र क्रिप्टोकरेन्सी कारोबार विरुद्धको विशेष अभियानलाई तीव्रता दिएको छ । प्रविधिको दुरुपयोग गरी बढ्दै गएका यस्ता आर्थिक अपराध नियन्त्रणमा ल्याउन प्रहरीले सक्रियता बढाएसँगै ठूलो सङ्ख्यामा व्यक्तिहरू पक्राउ परेका छन् । यसै क्रममा गत चैत १९ गते काठमाडौँको ठमेलबाट सत्र करोड ७९ लाखभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग पक्राउ परे । त्यसअघि चैत ११ गते तीस लाख ४९ हजार ७३६ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम पनि पक्राउ परेका थिए । क्रिप्टोकरेन्सी कारोबारमै संलग्न काठमाडौँ नागार्जुन नगरपालिका-८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल गत चैत २ गते पक्राउ परेका थिए ।
प्रविधिको सहज पहुँचसँगै अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी जस्ता अपराधका घटनाहरू बढ्दै गइरहेका छन् । यी गैरकानुनी गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ । अनुसन्धानका क्रममा विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूका बेला विभिन्न अनलाइन बेटिङ प्लेटफर्महरू अत्यधिक सक्रिय हुने गरेको पाइएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना व्यक्ति पक्राउ परेका छन्, जसमध्ये २६ जना विदेशी नागरिक र २२ जना स्वदेशी नागरिक रहेका छन् । यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा ९३ विदेशी नागरिकसहित कुल १४८ जना अनलाइन बेटिङमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा १३ जना विदेशी नागरिकसहित ६२ जना यस कसुरमा पक्राउ परेका थिए ।
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिहरूको सङ्ख्या पनि उल्लेखनीय छ । आर्थिक वर्ष २०८२/०८३ मा ७ जना विदेशी नागरिक र ३५ जना स्वदेशी नागरिक गरी कुल ४२ जना पक्राउ परेका छन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ४५ विदेशी नागरिकसहित कुल ११७ जनालाई प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा भने ५ जना विदेशी नागरिकसहित १० जना यस कसुरमा पक्राउ परेका थिए ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार अनलाइन बेटिङ नेटवर्क र क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्न प्रहरीले सूचना सङ्कलन र डिजिटल निगरानीलाई विशेष प्राथमिकतामा राखेको छ । उहाँले भन्नुभयो, “सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिको बारेमा गोप्य सूचना सङ्कलन, अनलाइन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ) मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवं बैंकिङ तथा डिजिटल वालेटमार्फत हुने कारोबारको निगरानीमा प्रहरी थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ ।”
अनलाइन बेटिङ प्रायः साइबर अपराध, ठगी र हुण्डी जस्ता अन्य गैरकानुनी कार्यहरूसँग जोडिएको हुन्छ । यस्ता कसुरमा मानिसहरूलाई आकर्षित गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गरिन्छ, जसले ठगी र हुण्डी कारोबारलाई समेत बढावा दिने गरेको भेटिएको छ ।
कानुनी व्यवस्थाअनुसार, मुलुकी अपराध संहिता, २०७४ मा सट्टाबाजीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । त्यस्तै, क्रिप्टोकरेन्सीमा संलग्नलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुर अन्तर्गत बिगो र सोबाट बढेको वा बढाएको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।
