तस्बिर स्रोत, BBC/Getty Images
उत्तरी ध्रुवबारे हामी सबैले सुनेका छौँ। जमेको समुद्र, ध्रुवीय भालु र उत्तरी प्रकाश यसका विशेषता हुन्। तर, यसको परिभाषा सरल नभई धेरै प्रकारहरू छन्। बेलायती जलवायु वैज्ञानिक तथा अन्वेषक फेलिसिटी एस्टनका अनुसार, ‘पृथ्वीमा कैयौँ उत्तरी ध्रुव छन्।’ बीबीसीको पडकास्टमा उनले ‘मुख्यतः चुम्बकीय र भौगोलिक उत्तरी ध्रुवहरू सर्वमान्य रूपमा परिभाषित छन्’ भनेकी छिन्।
भौगोलिक उत्तरी ध्रुव
आममानिसले बुझ्ने उत्तरी ध्रुव भनेको भौगोलिक उत्तरी ध्रुव हो। पृथ्वीको काल्पनिक परिक्रमण अक्षले उत्तरी सतहमा छुने बिन्दु नै भौगोलिक उत्तरी ध्रुव हो। यो आर्कटिक महासागरको पानी र बरफमाथि पर्छ। पृथ्वीको ठीक ९० डिग्री अक्षांशमा पर्ने यो बिन्दुमा सबै देशान्तर रेखाहरू एकै ठाउँमा जोडिन्छन्। यो ध्रुव चुम्बकीय उत्तरी ध्रुवजस्तो परिवर्तनशील हुँदैन, बरु स्थिर रहन्छ।

चुम्बकीय उत्तरी ध्रुव
पृथ्वीको भित्री भागमा हुने विद्युतीय प्रवाहबाट उत्पन्न हुने चुम्बकीय क्षेत्रले सौर्य वायु र विकिरणबाट हामीलाई बचाउँछ। चुम्बकीय उत्तरी ध्रुव त्यो बिन्दु हो जहाँ चुम्बकीय क्षेत्रले ठाडो रूपमा तलतिर सङ्केत गर्छ, जसलाई कम्पासले देखाउँछ। पृथ्वीको बाहिरी सतहमा रहेको तरल धातुको निरन्तर गतिशीलताले चुम्बकीय क्षेत्रलाई चलायमान बनाउँछ, जसले गर्दा चुम्बकीय उत्तरी ध्रुवको स्थान समयसँगै बदलिरहन्छ। विगतमा उत्तरी क्यानडा वरपर रहेकोमा हाल यसको गति तीव्र भई साइबेरियाको तट नजिक पुगेको छ। सन् २०१९ सम्म यो प्रतिवर्ष ५० देखि ६० किलोमिटर सरिरहेको युरोपेली अन्तरिक्ष निकायले जनाएको छ। कहिलेकाहीँ उत्तरी र दक्षिणी चुम्बकीय ध्रुवको स्थान साटिन पनि सक्छ, जसलाई भूचुम्बकीय ध्रुव उल्टिने प्रक्रिया भनिन्छ, जुन पछिल्लो ७,८०,००० वर्षअघि भएको थियो।

अन्य उत्तरी ध्रुवहरू
उपर्युक्त दुई प्रमुख ध्रुवबाहेक अन्य केही उत्तरी ध्रुवहरू पनि छन् जसका फरक-फरक व्याख्याहरू छन्। भूचुम्बकीय उत्तरी ध्रुव पृथ्वीको चुम्बकीय क्षेत्रको काल्पनिक र सरलीकृत नमुनाका आधारमा गणना गरिएको एक सैद्धान्तिक बिन्दु हो, जुन धेरै कम्प्युटर मोडेलहरूमा प्रयोग हुन्छ। यसबाहेक, चिसो उत्तरी ध्रुव भनेको पृथ्वीमा मानव बसोबास भएको सबैभन्दा चिसो ठाउँलाई जनाउँछ, जसका रूपमा उत्तरपूर्वी साइबेरियाको ओइम्याकन परिचित छ। दुर्गम उत्तरी ध्रुव आर्कटिक सागरको त्यो बिन्दु हो जुन पृथ्वीको जमिनबाट सबैभन्दा टाढा पर्छ। खगोलीय उत्तरी ध्रुव उत्तरी आकाशको एक काल्पनिक बिन्दु हो जहाँ पृथ्वीको परिक्रमण अक्ष सीधा अन्तरिक्षतर्फ सोझिएको हुन्छ, जुन ध्रुवतारा (पोलारिस) को नजिक पर्छ।

तस्बिर स्रोत, Dean Conger/Corbis via Getty Images
उत्तरपूर्वी साइबेरियाको ओइम्याकनलाई उत्तरी ध्रुवको सबैभन्दा चिसो बस्तीका रूपमा चिनिन्छ
उत्तरी ध्रुव पत्ता लगाउने तरिका
उत्तरी ध्रुवका कैयौँ किसिमका परिभाषा भए पनि, सैद्धान्तिक रूपमा ती कहाँ छन् भन्ने ठम्याउन गाह्रो छैन। तर यसको वास्तविक स्थान पत्ता लगाउन भने व्यवहारमा निकै चुनौतीहरू छन्। अन्वेषक फेलिसिटी एस्टन आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘म भौगोलिक उत्तरी ध्रुवमा स्की गर्न जाँदा हेलिकप्टरले मलाई ८० किलोमिटर टाढा छोडिदियो, त्यसपछि मैले आफैँ बाटो पत्ता लगाउनुपर्यो। चारै दिशा ठ्याक्कै उस्तै देखिन्छ।’ यस्तो अवस्थामा कम्पास प्रयोग गरे पनि समस्या हुन्छ, किनभने यसले भौगोलिक नभई चुम्बकीय उत्तरी ध्रुवतर्फ सङ्केत गर्छ। ‘डिक्लिनेसन’ नामक कोण प्रयोग गरी भौगोलिक उत्तर पत्ता लगाउन सकिए पनि, यो स्थान अनुसार परिवर्तन हुने र बरफ निरन्तर चल्ने भएकाले जटिल बन्छ। जीपीएस प्रणाली चिसोमा ब्याट्री छिटो सकिने समस्याले भरपर्दो हुँदैन भने, सेक्स्ट्यान्टजस्ता पुराना उपकरणहरू बाक्लो बादलले आकाश ढाकिएको बेला काम लाग्दैनन्। एस्टनका अनुसार, ‘उत्तरी ध्रुवतर्फको बाटो पत्ता लगाउने अनेक विधि छन्, तर ती सबैका आ-आफ्नै कमजोरी छन्। त्यसैले अन्ततः ती सबै विधिलाई मिसाएर प्रयोग गर्नुपर्ने हुन्छ, जुन अलिअलि अनुमानको खेल पनि हो।’

तस्बिर स्रोत, Neil Benison via Getty Images
यो तस्बिरको मध्यभागमा देखिने ध्रुवतारा खगोलीय उत्तरी ध्रुवबाट निकै नजिक छ

तस्बिर स्रोत, Hulton Archive via Getty Images
भौगोलिक उत्तरी ध्रुवमा सबैभन्दा पहिले को पुग्यो भन्ने दाबीमा कतिपयको विमती छ
