हिमालयको सर्वोच्चताले सुशोभित नेपालले जलवायु परिवर्तनको महाविपत्ति एक्लै काँधमा बोकेको छ, जसको भयावह पीडा भोटेकोशी त्रासदीका रूपमा विश्वले भोग्नुपर्यो। शान्त हिमालहरूले अत्यधिक भार बोक्नुपर्दा अशान्त बनेका छन्, जसले नदीजन्य सभ्यता र समुद्री क्षेत्रमा समेत गम्भीर प्रभाव पार्न सक्छ। यो प्रकोप केवल नेपालको नभई विश्वमानवताले मनन गर्नुपर्ने पाठ हो। आधुनिक अव्यवस्थित सहरीकरण, उपभोक्तामुखी अर्थतन्त्र र नैतिक संयम गुमाएको विकास प्रणालीले पृथ्वीको शोषण गर्दै आएको छ। हिमालयको यो सन्देश जलवायु परिवर्तन विरुद्धको चेतावनी मात्र नभई, विश्वले अवलम्बन गरिरहेका विकास सूचकाङ्कहरूप्रति सुधारको गहिरो सङ्केत हो।
यस विपरीत, नेपालको वैदिक सनातनी सभ्यताले प्रकृतिलाई संरक्षणभन्दा त्यसको पूजन गर्ने उच्च दृष्टि राख्दछ। शास्त्रहरूमा नदी, पर्वत, वृक्ष, पशु-पंक्षी, अग्नि-वायु तथा ग्रह-नक्षत्रहरूको पूजा एवं प्रार्थना पद्धतिहरू भेटिन्छन्। सिमसार क्षेत्र र खेतीयोग्य भूमिको पूजा गर्ने सिमेभूमे, जडीबुटी संरक्षण, दशैँ फूलपातीको रथारोहण, नाग पूजा र धान पूजा जस्ता परम्पराले प्रकृतिको मातृत्व भावलाई सम्मान गरेको छ। ‘माता भूमिः पुत्रोऽहं पृथिव्याः’ जस्ता आर्ष चेतनाले मानवलाई प्रकृतिको सामान्य अंगको रूपमा स्वीकार्न सिकाउँछ। प्रकृतिसँगको सहअस्तित्व बिना मानव सभ्यताको चिरस्थायी अस्तित्व सम्भव छैन।
भोटेकोशी विपत्तिमा हजारौँले अकालमा ज्यान गुमाउँदा शास्त्रीय अन्त्येष्टि कार्य दुर्लभ बनेको छ। वैदिक सभ्यतामा शरीर नाशवान् भए पनि आत्मा अमर मानिन्छ, र मृतकको कल्याण तथा मानसिक शान्तिका लागि प्रार्थना, अनुष्ठान र श्रद्धाञ्जलि अर्पण गरिन्छ। प्रकृतिलाई जडजस्तो देखिए पनि यसले मातृत्वको चेतनभाव धारण गर्छ भन्ने पूर्वज ऋषिमहर्षिहरूको विश्वास छ। उहाँहरूले प्रकृतिलाई शान्त एवं कल्याणकारी बन्न प्रार्थना गरेका अनेकौँ मन्त्रहरू आज पनि हाम्रा मार्गदर्शक हुन्। सङ्कटमा मनको श्रद्धा र आस्था नै जीवन अड्याउने ठूलो भरोसा बन्ने गरेको प्रत्यक्ष उदाहरण बाढीभित्र पुरिएर पनि मन्त्र जप्दै बाँच्न सफल भएका मानिसहरूले देखाएका छन्।
यसै पृष्ठभूमिमा, भाद्र २२ गतेको राष्ट्रिय शोकदिवसमा त्रिशूली नदीतट, पशुपतिनाथ, देवघाटधामलगायत देशका विभिन्न प्रसिद्ध धामहरूमा श्रद्धाञ्जलि एवं आध्यात्मिक अनुष्ठानहरू सम्पन्न हुँदैछन्। विश्वभर फैलिएको प्रवासी नेपाली समुदायले भारत, वर्मा, थाइल्याण्ड, वेलायत, अमेरिकाजस्ता देशहरूमा पनि गीतापाठ, भगवन्नामसङ्कीर्तन र सामूहिक प्रार्थनाका अनुष्ठानहरू गर्दैछन्। यो सामूहिक आध्यात्मिक प्रयासले नेपाल र नेपालीको विश्वासलाई पुनर्जीवित गर्दै, युद्धको प्रतिस्पर्धामा रुमलिएको विश्वसमुदायलाई आध्यात्मिक मार्गदर्शन प्रदान गर्न सक्ने विश्वास गरिएको छ। हामी ‘उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत’ अर्थात् उठ, जाग, र श्रेष्ठ ज्ञान प्राप्त गर भन्ने उद्घोषका साथ पुनः उठ्नेछौँ।
