काठमाडौं : सामाजिक सञ्जालमार्फत घृणास्पद तथा अपमानजनक सामग्री प्रसारण गरी सामाजिक सद्भावमा खलल पुर्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यससँगै प्रहरीले सामाजिक सञ्जालमा गलत सूचना, अफवाह र भ्रामक सामग्री फैलाउने व्यक्ति तथा संस्थाविरुद्ध निगरानी बढाएको छ।
पक्राउ पर्नेमध्ये एक जना बैतडी सुर्नया गाउँपालिका–७ का २४ वर्षीय वीरेन्द्र मडै हुन्। उनलाई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुबाट आइतबार साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। मडैले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने खालका भिडियो सामग्री बनाएर सामाजिक सञ्जाल फेसबुकको ‘रिल’ मा प्रसारण गरेका थिए।
अर्का पक्राउ पर्ने व्यक्ति खोटाङको बाक्सिला घर भई हाल काठमाडौंको शंखमूल बस्ने ३५ वर्षीय विशाल गुरुङ हुन्। उनले काठमाडौंका सार्वजनिक स्थानहरूमा मधेसवासी समुदाय लक्षित अपमानजनक अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याएको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले उनलाई भदौ २० गते नियन्त्रणमा लिएको थियो। प्रहरीले गुरुङमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र भ्रामक समाचार प्रकाशन गर्ने व्यक्ति तथा संस्थाविरुद्ध प्रहरीले निगरानी बढाएको छ। विपद्मा परेका व्यक्तिहरूलाई होच्याई थप पीडा दिने आशयका सामग्री लेख्ने र कमेन्ट गर्नेजस्ता गतिविधि बढेकाले नियन्त्रणका लागि निगरानी तीव्र पारिएको उनले बताए।
प्रवक्ता काफ्लेले भने, ‘बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको यस दुःखद् घडीमा अराजक मानसिकता बोकेका व्यक्ति तथा समूहप्रति प्रहरीले निगरानी बढाएको छ।’ उनले भ्रामक सामग्री प्रसारण गर्ने तथा संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूका विचारमाथि अनावश्यक टिप्पणी गरी थप पीडा दिन खोज्नेहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको जानकारी दिए। ‘हृदयविदारक र बीभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा त्रास फैलाउने एवं सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि नियन्त्रण गर्न प्रहरी निरन्तर क्रियाशील छ,’ उनले थपे।
प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार भोटेकोशी बाढीपछि सामाजिक सञ्जाल फेसबुकमा १६८, टिकटकमा ४ र इन्स्टाग्राममा १ गरी कुल १७३ वटा गलत सूचना तथा अफवाह फैलाउने सामग्री प्रसारण भएको पाइएको छ। साइबर सक्रियताका माध्यमबाट फेसबुकका ७९ र टिकटकका ४ गरी जम्मा ८३ वटा त्यस्ता भ्रामक सामग्री हटाइसकिएको छ।
सामाजिक सञ्जालमा यस्ता घटनाको अनुगमन गरी भ्रामक सामग्री तत्काल हटाउन र गतिविधि रोक्न साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ। समितिले सामाजिक सहिष्णुतामा आघात पुर्याउने कार्यमा संलग्नहरूको पहिचान तथा अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँगको समन्वयमा कानुनी कारबाही अगाडि बढाउनेछ।
समितिका संयोजक प्रहरी नायब उपरीक्षक आचार्य भन्छन्, ‘सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र भ्रामक समाचार प्रसारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति थप क्रियाशील छ।’ उनले सामाजिक सञ्जालमा अञ्जानवश पोस्ट वा सेयर गरिएका सामग्रीको गम्भीरता हेरेर सचेत गराउँदै हटाउन लगाइएको पनि जानकारी दिए। प्रवक्ता काफ्लेले विपद्का नाममा हुनसक्ने अपराध, गलत सूचना तथा राहत संकलनका नाममा हुने ठगी नियन्त्रण गर्नसमेत प्रहरी सक्रिय रहेको बताए।
