काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र तिनका नेताहरूले देशमा केही पनि काम नगरेको भन्ने जनमानसमा फैलिएको भाष्यलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । हालै सम्पन्न दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उनले विगत ३५ वर्षको अवधिमा कुनै पनि सकारात्मक परिवर्तन नभएको भन्ने आरोपलाई खण्डन गर्न आह्वान गरे ।
सह–संयोजक नेपालले मनोगत ढङ्गले आरोप लगाएर मात्रै कुनै निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारे । उनले भने, ‘एउटा भाष्य के छ भने यी पुराना पार्टीहरूले केही पनि गरेनन् । यी पुराना नेताहरूले केही पनि गरेनन् । देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो कति गलत हो ? यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन । तथ्यगत रूपमा त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ ।’ उनले यदि तथ्य र प्रमाणले पुराना दल वा नेताले केही नगरेको पुष्टि गर्छ भने आफूहरू त्यसलाई स्वीकार गर्न तयार रहेको तर, यदि तथ्यले उक्त भाष्यलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्ने बताए । यसबाट राजनैतिक बहसलाई सतही आरोप–प्रत्यारोपबाट माथि उठाएर वस्तुगत यथार्थमा आधारित बनाउनुपर्ने उनको जोड थियो ।
नेपालले २०४७ सालको बहुदलीय व्यवस्थाको पुनःस्थापनायता वामपन्थी तथा कम्युनिष्ट पार्टीका नेतृत्वले विभिन्न समयमा सरकारमा रहँदा गरेका कामहरूको विस्तृत विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संघ, प्रदेश तथा स्थानीय तहमा पार्टीका नेता–कार्यकर्ताले सम्हालेका जिम्मेवारी र तिनबाट हासिल भएका उपलब्धिहरूको ठोस जानकारी आम जनतासामु प्रस्तुत गरिने बताए । उनले भने, ‘२०४७ साल यता वामपन्थीहरूले, कम्युनिष्टहरूले सरकारमा गएर के–के जिम्मेवारीहरू पूरा गरे ? हाम्रो पार्टीसँग जोडिएका नेता–कार्यकर्ताहरूले के–के जिम्मेवारीहरू पूरा गरे ? यी कामहरू फलानो कामहरू कसले गर्यो भन्ने प्रश्न उठाइसकेपछि त्यसको जवाफ सिधै देख्न सकियोस् । हामी अमूर्त कुरा गरिरहेका छैनौं । हामी ढाँट कुरा पनि गरिरहेका छैनौँ ।’
वर्तमान राजनैतिक परिदृश्यमा गरिएका कामहरूलाई पनि ढाकछोप गर्ने, त्यसको चर्चा गर्न नचाहने र जोखिमपूर्ण कार्यहरूको थालनीलाई समेत ओझेलमा पार्ने प्रवृत्ति व्याप्त रहेकोमा नेपालले चिन्ता व्यक्त गरे । उनले देशको दुर्गतिलाई सम्बोधन गर्न गरिएका प्रयासहरू र त्यसबाट प्राप्त भएका सफलताहरूको जस कसैलाई पनि दिन नचाहने, तर अपजस मात्रै अरूको थाप्लोमा पार्ने प्रवृत्तिले राजनैतिक इमान्दारितामा ह्रास आएको आरोप लगाए । यो प्रवृत्तिले नयाँ पुस्तामा निराशा पैदा गर्न सक्ने र देशको समग्र विकास प्रक्रियामा अवरोध पुर्याउन सक्ने उनको भनाइ थियो ।
माधवकुमार नेपालको यो चुनौती र विवरण सार्वजनिक गर्ने प्रतिबद्धताले पुराना राजनैतिक दलहरूमाथि लगाइएका आरोपहरूको जवाफ दिन तथा पार्टीले गरेका कामहरूको लेखाजोखा प्रस्तुत गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ । यस अभियानले जनतामा सही सूचना पुर्याई गलत भाष्यको खण्डन गर्ने र देश विकासमा कम्युनिष्ट आन्दोलनको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको छ । यो पहलले राजनैतिक विमर्शलाई तथ्यपरक बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
